महेन्द्रनगरमा प्रेसरकुकर बम भेटियो- सुदूरपश्चिम - कान्तिपुर समाचार

महेन्द्रनगरमा प्रेसरकुकर बम भेटियो

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा बुधबार राति प्रेसरकुकर बम भेटिएको छ । भीमदत्त नगरपालिका–४ को सब्जीमन्डी रोडमा भेटिएको उक्त बम बिहीबार बिहान नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी अमरबहादुर थापाका अनुसार बमछेउमा थारुवान स्वायत्त प्रदेश जिल्ला परिषद् कञ्चनपुरको पर्चा भेटिएको छ । पर्चामा महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रूपमा निर्माण भइरहेका संरचनाको विरोध गरिएको छ । ‘बम बिहानै सेनाको टोलीले निष्क्रिय पारेको छ,’ डीएसपी थापाले भने, ‘उक्त विषयमा अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : श्रावण २९, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

हुम्लाको समृद्धिका सारथि

हिल्सा–सिमकोट सडक मात्र होइन, हुम्लाका अनेकौं सामाजिक तथा आर्थिक मुद्दालाई सशक्त रुपमा उठान गर्ने प्रमुख पात्र हुन् जयबहादुर रोकाया । उनले यहाँको विकासका लागि वकालत मात्र गरेनन्, खाद्यान्न संकट, भोकमरी, औषधि अभाव, भ्रष्टाचार, बेथितिजस्ता मुद्दामा निरन्तर खबरदारी गरिरहे ।
कलेन्द्र सेजुवाल

सुर्खेत — ‘के छ खबर दाइ ?’ उताबाट प्रायः जवाफ आउँथ्यो, ‘तनाव छ, तर केही न केही (समाचार) पठाउँछु है ।’ जयबहादुर रोकाया पछिल्लो समय पारिवारिक तनावमा थिए । तैपनि उनले तनावसँग पौठेजोरी खेल्दै समाचार–कर्म जारी राखेका थिए ।

भन्ने गर्थे, ‘मैले तपाईंहरूलाई धेरै दुःख दिएँ है । सक्दासम्म गर्छु, नसकेको दिन खुसीसाथ बिदा हुन्छु, हजुरहरू (कान्तिपुर) बाट धेरै माया र सहयोग पाएको छु ।’

सुरुवाती चरणमै हुम्ला जिल्ला संवाददाताका रूपमा कान्तिपुरसँग जोडिएका रोकायाले अन्ततः २०७६ जेठ ३ गते कान्तिपुरको कर्णाली प्रदेश ब्युरोको ग्रुप म्यासेन्जरमा लेखे, ‘आजबाट बिदा, नमस्कार १ सहकर्मीहरूको उत्तरोत्तर प्रगतिको कामना छ ।’

उनले कान्तिपुरबाट बिदा भएको सूचना सार्वजनिक रूपमा दिन चाहेनन् । उनको स्वभावजन्य कारणले पनि यसमा काम गरेको हुनुपर्छ । सामान्य जीवनशैली अपनाउने, तडकभडक नगर्ने, हरेक व्यवहारलाई सहज र सरल रूपमा लिने स्वभावकै कारण उनले सक्रिय पत्रकारिताबाट बिदा लिँदाको घटनालाई पनि सामान्य शैलीमा सहकर्मीलाई मात्र सुनाए । बरु उनले टेलिफोन कुराकानीमा भनेका थिए, ‘केही समय आराम गर्छु, भोलि मिलेछ र सकिएछ भने कतै लेख्ने मेसो मिलाउनु पर्ला ।’

२०१२ माघ १२ गते जन्मिएका रोकायाले अढाई दशकसम्म कान्तिपुरमा व्यावसायिक पत्रकारिता गरे । त्यसअघि काठमाडौंबाट प्रकाशित हुने सुरुचि साप्ताहिकमा करिब ५ वर्ष काम गरेका थिए । उमेरको आधाभन्दा बढी समय सक्रिय पत्रकारिता गरेकैले हुनुपर्छ, उनी जीवनको उत्तरार्द्धमा आइलागेको तनावसँग संघर्ष गर्दै अक्षरको खेती गर्न अभ्यस्त देखिन्थे । उनकै प्रेरणाले पत्रकारितामा आएका भाइ नाता पर्ने कर्णबहादुर रोकाया भन्छन्, ‘पत्रकारितामा उहाँको जस्तो लगाव, मिहिनेत र इमान्दारी भएको व्यक्ति पाउन निकै मुस्किल छ ।’

यही विशेषताले रोकायाले हुम्लाजस्तो विकट जिल्लामा बसेर पनि पत्रकारिता गरिरहे । हुम्लालाई चिनाए । त्यहाँका दुःख र पीडाका कथालाई संसारलाई सुनाए । उनीसँग लामो संगत गरेका कान्तिपुर टेलिभिजनका स्थानीय पत्रकार जकबहादुर शाहीका अनुसार २०६५ सालसम्म त हुम्लामा पत्रकार भनेकै जयबहादुर (दाइ) भनेर चिन्ने गरिन्थ्यो । ‘जिल्लामै एफएम स्थापना भएर पत्रकारहरू जन्मिन थालेपछि भने अरू पनि पत्रकार रैछन् भन्ने भयो,’ उनी भन्छन्, ‘तैपनि जयबहादुर दाइको नामको अगाडि हामी त केही पनि होइनौं ।’

रोकाया पत्रकारितामार्फत आफूमात्र चिनिएनन्, उनले हुम्लाको सफाचट अनुहार संसारलाई चिनाए । जिल्लाको विकासमा एक पिल्लरका रूपमा काँध थाप्ने काम पनि गरे । २०५४ सालमा हुम्ला जिल्ला विकास समितिको सभापति भएपछि जीवनबहादुर शाहीले पहिलो निर्णय हिल्सा–सिमकोट सडक निर्माणसम्बन्धी गरे । गृह मन्त्रालयले सरकारको स्वीकृतिबिना स्थानीय निकायले ‘सडक’ बनाउन पाइँदैन भन्दै कारबाही थाल्यो । तीन पटकसम्म त उनले गृह मन्त्रालयमा तारिख खेप्नुपर्‍यो । त्यसपछि शाहीले ‘सडक’ नभनी हिल्सा–सिमकोट ‘मोटरबाटो’ भनेर काम थाले । जिल्लाकै कतिपय अगुवाले ‘जीवन शाही बहुलायो, हिल्साबाट सडक खन्न थाल्यो’ भन्दै आलोचना पनि गरे । जिल्लामा पत्रकारको पहिचान बनाएका रोकाया भने शाहीको सडक–सपनामा भरपर्दो सारथि बने । कान्तिपुरमा उनले सुरुदेखि अन्त्यसम्म हिल्सा–सिमकोट सडकलाई लेख्न छाडेनन् । उतिबेला राज्यको नजरमा आँखी भएको उक्त सडक अहिले नेपाल–चीन सम्बन्धको एउटा कसी बनेको छ ।

‘जयबहादुर दाइले सशक्त रूपमा कान्तिपुरमा यो मुद्दालाई समाचार नबनाइदिएको भए हाम्रो सपना उतिबेलै तुहिन्थ्यो होला,’ हाल कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता रहेका शाही भन्छन्, ‘उतिबेला कान्तिपुरले रूख मासिन्छ भन्दैमा विकास रोक्न हुँदैन, बरु नयाँ रूख रोप्नुपर्छ भनेर सम्पादकीय नै लेखेको थियो ।’ विशेषगरी उत्तरतिरबाट सडक खन्न नदिने रणनीतिअनुसार सरकारले अवरोध गर्न खोजे पनि चर्को दबाबपछि सरकार पछि हटेको उनले बताए ।

हिल्सा–सिमकोट सडक मात्र होइन, रोकाया हुम्लाका अनेकौं सामाजिक तथा आर्थिक मुद्दालाई सशक्त रूपमा उठान गर्ने प्रमुख पात्र हुन् । उनले हुम्लालाई समाचारको भण्डारका रूपमा पहिचान गर्ने र चिनाउने काम गरेका उनका थुप्रै समाचारबाट पुष्टि हुन्छ । जिल्लाको उत्तरी भेगमा रहेको बहुपति प्रथालाई रोकायाले नै खोज समाचार र फिचरमार्फत संसारलाई चिनाएका हुन् । २०५३ सालतिर हुम्लामा भाइरल इन्फ्लुन्जाले करिब साढे ३ सय जनाको ज्यान गयो । अहिलेजस्तो सूचना प्रविधिको विकास नभएको समयमा रोकायाले उक्त महामारीलाई निरन्तर फलोअप गरेर सरकारको ध्यान खिचेका थिए ।

कैलाश मानसरोवर यात्रा हुम्लाको आर्थिक विकासको मेरुदण्ड हुन सक्छ भनेर रोकायाले नै बारम्बार समाचार प्रवाह गरिरहे । खाद्यान्न संकट, भोकमरी, औषधि अभाव, भ्रष्टाचार, बेथितिजस्ता मुद्दामा उनले निरन्तर खबरदारी गरिरहे । सरोकारवालालाई झकझक्याइरहे । ‘उहाँले जहिले पनि मिडियामा समाचार आएन भने सरकारले सुन्दैन, हुम्लाको पीडा हामीले नै सुनाउनुपर्छ भनेर हामीलाई भन्ने गर्नुहुन्थ्यो,’ कर्णबहादुर सम्झन्छन्, ‘उहाँको पत्रकारिताको एउटै मिसन हुम्ली जनताले सुख पाउन् भन्ने हुन्थ्यो ।’

नयाँ पुस्तासँग गुनासो

भेटघाटमा होस् वा टेलिफोन कुराकानीमा, उनी एउटा कुरा दोहोर्‍याइरहन्थे, ‘अचेलका पत्रकार अल्छी भए ।’ फिल्डमा नजाने, अध्ययन नगर्ने र खोजबिन नगरेरै समाचार लेख्ने प्रवृत्तिप्रति उनी गुनासो गर्थे । यस्तो गुनासो गर्ने आँट पनि उनमा आफूले गरिरहेको कामबाट प्राप्त हुन्थ्यो । रोकाया अरूले लेखेका समाचार कपी गर्ने वा अरू पत्रकारसँग सूचना माग्ने त टाढाको कुरा, आफैंले पहिले लेखेका समाचारको वाक्यांशसमेत साभार गर्थेनन् । ‘मलाई फिल्डमा नगए (स्रोतसँग प्रत्यक्ष नभेटे) त समाचार लेखेजस्तो पनि लाग्दैन,’ उमेरले ६० को नेटो काटिसक्दासमेत उनी भन्थे, ‘फिल्ड (गाउँ) मै गएर टन्नै समाचार ल्याऊँजस्तो लाग्छ तर सकिएको छैन ।’

यही कारण हुनुपर्छ, उनका समाचारमा नयाँपन झल्किन्थ्यो । पढ्दा फरक स्वाद लाग्थ्यो । सूचना र तथ्यहरू परिपक्व हुन्थे । कहिलेकाहीँ चाहिने जति सूचना अपर्याप्त हुनु फरक कुरा, आएका सूचनामा ‘फ्याक्ट चेक’ को झन्झट हुन्थेन । उनले पठाएका समाचार उनको र पत्रकारिता अनुभवजस्तै उमेरजस्तै परिपक्व हुन्थे ।

सानैदेखि सिर्जनशील

प्रजातन्त्र पुनःस्थापनापछि व्यावसायिक पत्रकारितामा लागे पनि उनी किशोर अवस्थामै विभिन्न पुस्तक र पत्रिकामा लेख, रचना लेख्ने गर्थे । २०२४ देखि २०२८ सालसम्म प्रकाशित ‘बेन्नु’ नामक साहित्यिक पत्रिकामा जेबी प्यासीको नाममा उनका कविता, लेख प्रकाशित छन् ।

कर्णबहादुरका अनुसार २०४४–२०४५ सालतिर जिल्लाबाट प्रकाशित भएका ‘हिमाली मुस्कान’, ‘हिमज्योति’ र ‘रलिङ सन्देश’ नामक पत्रिकामा उनी सम्पादकीय टिममा रहेर काम गरेका थिए । ‘उहाँ बाल्यकालदेखि नै निकै सिर्जनशील स्वभावको हुनुहुन्थ्यो, यसले गर्दा पनि पत्रकारितातर्फ आकर्षित भएको हुनुपर्छ,’ उनले भने, ‘व्यावसायिक पत्रकारका रूपमा भने कान्तिपुरले चिनाउने काम गर्‍यो ।’ उनी लेख्ने मात्र होइन, अध्ययनमा पनि उत्तिकै रुचि राख्थे । उनले आफ्नै घरमा बनाएको पुस्तकालयमा करिब ६ सय वटा पुस्तक छन् । ‘फरक छ हुम्ला’ भन्ने डकुमेन्ट्री भिडियो पनि बनाएका छन् ।

रोकायाले आफ्नो जीवनकालमा पत्रकारिताका साथै राजनीतिक, सामाजिक तथा व्यापारिक क्षेत्रमा पनि काम गरेका थिए । उनी हुम्ला उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष, तत्कालीन कांग्रेस (प्रजातान्त्रिक) को जिल्ला सचिव, स्नोल्यान्ड एकीकृत विकास केन्द्रका संस्थापक सचिवसमेत भए । तर, पत्रकारिताको चहकिलो चेहरासामु अन्य परिचय सधैं ओझेलमा परे ।

हुन न उनी नेपाल पत्रकार महासंघ हुम्ला शाखाका संस्थापक अध्यक्ष र महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । यी पदको मर्यादा र ऐतिहासिक महत्त्व आफ्नै ठाउँमा छन् । तर, व्यावसायिक पत्रकारका रूपमा उनको कद अझ अग्लो छ ।

६५ वर्षको उमेरमा साउन १७ गते सिमकोटस्थित आफ्नै निवासमा निधन भएका रोकायाका दुई श्रीमती, ४ छोरा र १ छोरी छन् । पत्रकार महासंघ हुम्ला शाखाले उनले हुम्लाको पत्रकारिता र समग्र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७७ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×