कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङ : सयौंको सहभागितामा विरिजात मेला, संक्रमण फैलिएकै क्षेत्रमा कांग्रेस भेला

वसन्तप्रताप सिंह

बझाङ — कोरोना संक्रमणको जोखिम बढिरहेका बेला बझाङमा भने सयौंको संख्यामा मानिसहरु जम्मा भएर मेलाहरु मनाउन थालेका छन् । यसैबीच नेपाली कांग्रेसले संक्रमण फैलिएका क्षेत्रहरुमा पनि भेला तथा आमसभाहरु आयोजना गर्न थालेको छ ।

बझाङ : सयौंको सहभागितामा विरिजात मेला, संक्रमण फैलिएकै क्षेत्रमा कांग्रेस भेला

कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले २५ जनाभन्दा बढी भेला हुने सभा, सम्मेलन, गोष्ठी, भोजभतेर, धार्मिक कार्यक्रममा रोक लगाएको भए पनि बझाङमा भने यसको वास्ता गरिएको छैन ।

क्वारेन्टाइनबाट घर फकाईएका ७६ जनामा एकै पटक संक्रमण देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशाशन कार्यालय बझाङले थलारा र केदारस्युँ गाउँपालिकाका तीन वटा वडालाई सिल गरेको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि संक्रमणको जोखिम उच्च रहेको छ । तर यहाँका स्थानीयले भने जोखिमको बेवास्ता गर्दै जिल्लाको प्रसिद्ध विरिजात मेला मनाइरहेका छन । पाँच दिनसम्म चल्ने यो मेलामा जिल्लाका विभिन्न ठाउँबाट आएका दुई हजारभन्दा बढीको सहभागिता रहेको स्थानीयले बताएका छन ।

यसैबीच नेपाली कांग्रेसले पनि मानिसहरु भेला गरेर विभिन्न ठाउँमा आमसभाहरु गर्न थालेको छ । संक्रमण फैलिएर जोखिममा बढेको भन्दै एउटा वडा नै सिल गरेको थलारा गाउँपालिकाका विभिन्न गाउँमा आइतबारदेखि नै आमसभा गर्दै आएको छ । महिला संघ, तरुण दललगायत कांग्रेसका भ्रातृ संगठनहरुको भेलामा ठूलो संख्यामा मानिसहरु सहभागी हुने गरेको भए पनि सामाजिक दूरी कायम गर्नेलगायत सुरक्षाका कुनै उपाय भने अपनाइएको छैन ।

कांग्रेसले आयोजना गरेको आमसभामा सहभागीहरु

‘जोखिम बढेको बेला गाउँमा कार्यक्रम गर्न त नहुने हो । अधिवेशनको माहोल भएकाले साथीहरुले भ्रातृ संगठनको भेला गरिरहेका छन्,’ नेपाली कांग्रेसका जिल्ला सभापति हर्कजङ्गबहादुर सिंहले भने ‘मंगलबारसम्म यस विषयमा छलफल गरेर एउटा निर्णयमा पुग्ने छौं,’ यद्यपि नेपाली कांग्रेसले साउन २२ गतेसम्म जिल्लाका विभिन्न पालिकामा हुने आमसभामा भव्य रुपमा सफल पार्न भन्दै उपस्थितिका लागि स्थानीय रेडियोमार्फत सूचनाहरु प्रसारण गरिरहेको छ ।

यस्तै विभिन्न ठाउँमा संक्रमितसमेत सहभागी गराएर खेलकुद प्रतियोगिता समेत आयोजना गरिएका छन । दुर्गाथली गाउँपालिकाका क्वारेन्टाइनबाट घर गइसकेपछि संक्रमण पुष्टि भएकाहरुलाई समेत सहभागी गराई क्रिकेट प्रतियोगिता आयोजना गरिएको लेकगाउँका गणेश बुढाले बताए ।

जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले कोरोना समुदाय स्तरमा फैलिसकेको बेलामा भीडभाड हुने खालका गतिविधि हुनु मुर्खता भएको बताए । ‘समुदायमा संक्रमण फैलिसकेको छ । रिपोर्ट आउन मात्रै बाँकी हो,’ उनले भने ‘यो कुरा हामीले विभिन्न माध्यमबाट भनिरहेका छौं । यस्तो बेलामा भीडभाड हुने काम गर्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो,’ उनले क्वारेन्टाइनबाट घर गइसकेपछि संक्रमण पुष्टि भएका ७६ जना ९/१० दिनसम्म समुदायमा घुलमिल भएको र उनीहरुको यात्रा विवरण हेर्दा जिल्लाका अधिकांश ठाउँमा पुगेको देखिएको बताए ।

यता जिल्ला कोभिड संकट व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने २५ जनाभन्दा बढी मानिसहरु भेला हुन नदिनका लागि प्रत्येक पालिकालाई पत्रचार गरिएको बताए । ‘हामीले लिखित मात्रै होइन, मौखिक रुपमा पनि सबै पालिकालाई सचेत गराएका छौं । २५ जना भन्दा बढी भेला हुन दिएका छैनौं भनेर पालिका प्रमुखहरुले भन्नुहुन्छ । हामीले पत्याउनै पर्‍यो’ उनले भने ।

प्रकाशित : श्रावण २०, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?