बयालपाटा अस्पतालले हटाएका कर्मचारीमध्ये स्थानीयको पुनर्बहाली हुने - सुदूरपश्चिम - कान्तिपुर समाचार

बयालपाटा अस्पतालले हटाएका कर्मचारीमध्ये स्थानीयको पुनर्बहाली हुने 

मेनुका ढुंगाना

अछाम — बयालपाटा अस्पतालले हटाइएका कर्मचारीमध्ये स्थानीयलाई पुनर्बहाली गर्ने भएको छ । आर्थिक अभावका कारण देखाउँदै अस्पतालले स्थानीयलाई मात्र पुनर्बहाली गर्न सहमति जनाएको हो । उक्त अस्पताल न्याय हेल्थ नेपालले सञ्‍चालन गरेको हो ।  

पटक पटकको बैठकपछि पुनर्बहाली गर्ने सहमति भएको कांग्रेस अछामका सभापति भरतकुमार स्वारले बताए । हटाइएका सबैलाई पुनर्बहाली गर्नुपर्ने आफूहरुको प्रयास भए पनि नसकिएको उनले बताए ।

जागिरबाट हटाइएको एक जना कर्मचारी आत्मदाह गरेको उल्लेख गर्दै फेरि पनि त्यस्तो अवस्था आउन नदिन निरन्तर आफूहरु लागि परेको नेकपाका नेता प्रकाश शाहले बताए । उनका अनुसार निकालिएका अरु कर्मचारी तनावमा थिए । अस्पतालसँगको लामो प्रयासपछि पुनर्बहाली भएको उनले बताए ।

प्रकाशित : श्रावण ११, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्

बाजुरामा बाढीले पक्की पुल बगायो

मेनुका ढुंगाना

अछाम — साँफे-मार्तडी सडक अन्तर्गत बुढिगंगा नगरपालिकाको ताप्रीसेरामा अवस्थित पक्की पुल बाढीले बगाएको छ । जिल्ला भित्रिने मुख्य सडक अवरुद्ध भएपछि बाजुरा जिल्लामा यातायात सेवा ठप्प भएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार आइतबार राति परेको अविरल वर्षासँगै घट्टेखोलामा बाढी आउँदा सो पुल बगाएर बुढिगंगा नदीमा मिसिएको हो ।

पहिरो गएको क्षेत्रमा खानेपानीको समस्या निम्तिएको गैरेले बताए । उनका अनुसार ताप्रीसेरा माथिका बजेडी र नडाङ गाउँ पहिरोको जोखिममा परेका छन् । 'यातायात ठप्प भएको छ । सुरक्षाकर्मी, रेडक्रसको टोली र जनप्रतिनिधि घटनास्थल पुगेका छन्,' उनले भने,'उच्च जोखिममा रहेका बजेडीका पाँच परिवारलाई आफन्तकोमा राखिएको छ ।'

'मार्तडीबाट सरोकारवालाको टोली हिँडेरै घटनास्थल पुगेको हो,' उनले भने,'अम्कोटदेखि मार्तडीसम्म १० भन्दा बढी ठाउँमा पहिरो गएको छ।' ताप्रीसेरासँगै जोडिएको अमकोट-द्वारीमा यसअघि नै पहिरो खसेको थियो ।

एक सातादेखि अवरुद्ध बाजुराको साफेँ-मार्तडी सडक खण्डको काम मंगलबारदेखि सुरु भएको छ । अविरल वर्षासँगै पहिरोले बुढीगंगा नगरपालिकाको अम्कोटमा सडक भाँसिदा सडक अवरुद्ध भएको थियो ।

प्रकाशित : श्रावण ६, २०७७ १४:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×