कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीज मनाउँदै रानाथारु महिला

भवानी भट्ट

कञ्चनपुर — परम्परागत पहिरनमा सजिएर कोही पिङ खेल्दैछन् । केही भान्सामा साँझका लागि पकवानहरु तयार गरिरहेका । कञ्चनपुरको बेदकोट नगरपालिका ५ सिसैयामा राना थारु समुदायका महिलाहरु बिहानैदेखि घर लिपपोत गर्ने र खाना पकाउनेदेखि साउनको डोला (पिङ) खेल्ने काममा व्यस्त देखिन्थे । उनीहरुको यो सबै व्यस्तता तीज मनाउनका लागि भएको हो । 

तीज मनाउँदै रानाथारु महिला

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेका रानाथारु समुदायले हरितालिका तीजभन्दा ठीक महिना दिन अगाडि साउन शुक्ल तृतीयाका दिन तीज मनाउने गर्छन् । तीजका दिन महिलाहरु पानीसमेत नखाई ब्रत बस्छन् । उनीहरु बिहानै घर लिपपोतपछि नुहाएर साँझका लागि विभिन्न किसिमका परिकारहरु बनाउने काममा जुट्छन् ।

साँझ साउनको डोला (पिङ) खेलेर नदी वा खोला किनारमा गई पूजा गरिन्छ । नदी किनारमा उरैला (कुशजस्तै एक प्रकारको घाँस) मा गाँठो पारिन्छ । विवाहित महिलाले ७ र अविवाहितले ५ वटा गाँठो पार्ने चलन छ । यसलाई रानाथारु भाषामा ‘झुड्की’ भनिन्छ । उक्त झुड्की चाँदीको औँठीले काटेर खोला वा नदीमै बगाइन्छ । ‘यो पर्वमा दाइभाइ र भतिजाको दीर्घायुका लागि ब्रत बसिन्छ,’ बेदकोट नगरपालिका ५ सिसैकी प्रेमवती रानाले भनिन्, ‘आजको दिन युवतीदेखि वृद्धाहरुसमेत माइती घर जान्छन् ।’

दिनभरि बनाइएका परिकारहरु साँझपख पूजापछि ब्रत बसेका छोरी बहिनीदेखि आफन्तहरु सबै एकै ठाउँ बसेर खान्छन् । यो दिन पुरी, गुलगुला, कतरा, पपरा, सिमहिलगायतका परम्परागत खानेकुराहरु पकाइन्छन् । ‘उहिले हप्ता/दस दिनसम्म तीज मनाइन्थ्यो, तीजकै दिन आउन नसक्ने चेलीबेटीहरु अरु दिन पनि आउथे’, प्रेमवतीले भनिन्, ‘अहिले त्यो चलन हटेर एक दिनमात्रै तीज मनाइन्छ ।’ उनका अनुसार छोरी बहिनीहरु आएको दिन सधैं रानाथारु परिकारहरु पाक्थे । तर केही वर्षयता साउन शुक्ल तृतीयाका दिनमात्रै तीज मनाउने चलन सुरु भएको हो ।

खोला वा नदीमा पूजा गर्नुअघि ब्रतालु महिलाहरु सबै अंगिया र घगरियासहितका थारु पहिरन र गहनामा सजिएर चौर वा नदी किनारमै बनाइएको पिङमा रमाउने गर्छन् । डोला खेल्दा दाइभाइ र भतिजाको दीर्घायुकै लागि गीत गाउने गरिन्छ । ‘यो पर्व भ्रातृत्व प्रेममा आधारित छ’ नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले भने, ‘राना थारु समुदायमा यो तीजले दिदी बहिनीको दाइभाइ र भतिजाहरुप्रतिको गहिरो सम्बन्ध र प्रेमलाई दर्शाउँछ ।’

उनका अनुसार ब्रतालु महिलाले नदी किनारमा विशेष घाँसमा एकै हातले गाँठो (झुड्की) पारेर चाँदीको औंठीले काट्ने गर्छन् । उक्त झुड्की नदी वा खोलामा बगाइन्छ । नदी जस्तै दाइभाइ र भतिजाको आयु लामो होस् भन्ने कामना गरेपछि घर फर्केर मात्रै खाना खाने चलन छ ।

नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै रानाथारु समुदायको बसोबास छ । अध्यक्ष रानाका अनुसार राना थारुको जनसंख्या साढे ३ लाखभन्दा बढी छ ।

प्रकाशित : श्रावण ८, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?