कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहका सेती-महाकाली इन्चार्ज पुन पक्राउ

अर्जुन शाह

धनगढी — प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली इञ्‍चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकाश पुन बुधबार बिहान धनगढीबाट पक्राउ परेका छन् । धनगढी नजिकै फूलबारीबाट फर्किरहेका बेला उनलाई कनरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले लामो समयदेखि पक्राउ प्रयास गरिरहेको भए पनि सफल हुन सकेको थिएन । बुधबार पुनसहित अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ पूर्णिमा धामीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले बताए । धामी पुनकै श्रीमती हुन् ।


प्रकाशित : असार ३१, २०७७ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्

सतीप्रथा एक, घाउ अनेक

सती(कु)प्रथाले अनेक थरी रूप धारण गरेको छ र आज पनि पितृसत्तात्मक सोचले ग्रस्त नेपाली समाजमा यस्ता उकुच पल्टिबस्छन् ।
कुमारी लामा

प्रत्येक वर्ष अलिक फरक चहलपहल लिई उदाउँछ असार २५ को बिहानी । मोबाइल र ल्यापटपका किबोर्डहरू व्यस्त हुन्छन् केही बेर र छरिन्छन् सामाजिक सञ्जालका भित्ताभरि केही हरफ, सतीप्रथा उन्मूलनको जयजयकारमा । यसपालि पनि छरिए गुलिया शब्दहरू मनग्गे ।

समाज सुधार नै शासनसत्ता टिकाउने एउटा बलियो कडी भनी भेउ पाएका निरंकुश शासक चन्द्रशमशेरले आदेश दिएथे सतीप्रथा उन्मूलनको । बोलीको भरमा बिनाखर्च सल्टाउन सकिने कुरीतिको उन्मूलन जनतामाझ लोकप्रिय हुने अचूक उपाय भएथ्यो ।

त्यसैले चन्द्रशमशेरले ठोकिदिए आदेश १९७७ असार २५ गते र समाज सुधारक श्री ३ का रूपमा आजपर्यन्त खाइरहेछन् त्यसैको ब्याज । इतिहासका पानाहरूमा दर्ज भएको छ उनैको नाम, अजम्बरी अक्षरहरूमा । उनको वाहवाहीमाझ प्रत्येक असार २५ गते सती पोलिएका ती अनगिन्ती महिलाको अकाल मृत्यु खील पल्टिदिन्छ । पितृसत्तात्मक वैचारिकीद्वारा निर्मित महिलामारा संस्कारको उकुच पल्टिरहन्छ प्रत्येक वर्ष यसै गरी ।

सतीप्रथा एक

श्रीमान्‌को अन्तिम सासफेराइसँगै टुंगिजाने एक कमजोर अस्तित्व भनी लाहाछाप मार्दिरह्यो महिला अस्तित्वमाथि, निरंकुश पितृसत्ताले । मूलतः हिन्दु धर्म र संस्कृतिका अनेक साङ्लाको जकडाइमा परिरहे हिन्दु महिलाहरू र हावाले उडाइलाने पातसरह भइरह्यो उनीहरूको अस्तित्व । महिलामाथि थोपरिएको एउटा अत्याचारी संस्कारका रूपमा कलंकित सतीप्रथाले पोलिरह्यो महिलाहरूलाई, लोग्नेकै चितामा । धर्म र स्वर्गप्राप्तिका भ्रामक तानाबाना बुनेर महिलाहरूको मानसिकतामा हावी भइरह्यो उही संस्कृति, जसले सधैं धज्जी उडाइरह्यो उनीहरूकै ‘स्व’ को ।

सर्वसाधारण हिन्दु महिलाहरू त कति पोलिए–पोलिए, त्यसको के लेखाजोखा र ! तर सत्ता र शक्तिकेन्द्रमा रहेका महारानीहरू पनि धार्मिक–सांस्कृतिक मान्यताका चितामा श्रीमान्को नाम लिँदै पोलिइरहे । दूधे बालबालिकाका आमाहरूलाई भने तिनै नानीकै कारण सती पोलिनबाट छुट हुन सक्ने व्यवस्था थियो । राजा प्रतापसिंह शाहको निधन हुँदा छोरा रणबहादुर बालकै भएकाले महारानी राजेन्द्रलक्ष्मीले उनको संरक्षक भई राजकाजमा संलग्न हुन पाइन् । त्यसले उनलाई सती पोलिनुबाट जोगायो ।

राजमाता राजेन्द्रलक्ष्मी कर्मठ, आँटिली र कूटनीतिक क्षमतावान् महारानीका रूपमा प्रख्यात छिन् । छोरा सानो नभएको भए उनी त्यसै बखत लोग्नेको चितामा खरानी हुने थिइन् । तर उनकै बुहारी महारानी राजराजेश्वरीको समय र भाग्य भने भिन्न भइदियो । उद्दण्ड, क्रूर र बहुलट्ठी राजा रणबहादुरका अनेक वितण्डाको भोक्ता थिइन् जेठी महारानी राजराजेश्वरी । युवराज गीर्वाणयुद्धविक्रम शाहको संरक्षकको कुशल जिम्मेवारी वहन गरेकी रानी एकाएक षड्यन्त्रमा परी हेलम्बुतिर लखेटिएकी थिइन् । तर जसै राजा रणबहादुरको मृत्यु भयो, उनलाई झिकाइयो, सती पोलिनका निम्ति । जीवनभर लोग्नेका अनेक सास्ती झेलेकी महारानी राजराजेश्वरीले त्यही राजाको नाममा पोलिनुपर्‍यो । विडम्बना, उनले काठमाडौं पनि आइपुग्न नपाई साँखु शालीनदीमै चौध जना केटी सुसारेसहित पोलिनुपरेको बाबुराम आचार्यले लेखेका छन् । इतिहासमा एउटा कलंकका रूपमा दर्ज भएको यो घटनामा होनहार महारानी र उनका सुसारेहरूको अस्तित्व धर्मको आड लिएको छद्मभेषी पितृसत्ताले नामेट पारिदियो ।

भारतमा व्यापक प्रचलनमा रहेको सतीप्रथाले कम्पनी सरकारको पालासम्म एउटा खुला रमिताको रूप धारण गरेको थियो । युरोपेली गोरा साहबहरू सती घाटको दर्शक बनी ती सम्पूर्ण प्रक्रिया रोमाञ्चक खेलसरि नियाल्ने गर्थे । उनीहरूले सतीको अनुहारको भावभंगिमादेखि उपस्थित आफन्तजनले बोकेका लाठा–मुंग्रासम्मको टिपोट तयार गर्थे ।

ती सारा सती प्रक्रिया निरन्तर रूपमा अंग्रेजीभाषी पत्रिका, एसियाटिक जर्नल, क्यालकट्टा जर्नलहरूमा शोधसरह छापिने गर्थे । सतीको आँसु, त्रास, पीडा समाचारमा रूपान्तरित हुन्थे । लेखक लता मुनिले सतीसम्बन्धी शोध लेखमा सतीबारेको औपनिवेशिक दृष्टि नियालेकी छन् । आफ्नो इच्छाले सती जानेदेखि अनिच्छित सतीलाई लोग्नेको लाससँगै बाँधेर जबरजस्ती पोल्ने त्यस दमनकारी प्रथालाई उनले ‘अनुष्ठानजन्य हत्या’ (रिचुअल मर्डर) को संज्ञा दिएकी छन् । सांस्कारिक अनुष्ठानहरूद्वारा प्रेरित हत्या नै त हो सती पोलिने प्रक्रिया । भारतवर्षमा लामो समय हिन्दु महिलाहरूका लागि अति त्रासदपूर्ण रहेको यस संस्कारका कारण नजाने कति महिलाहरू असमयमै मारिए ।

राजकाजको बागडोर सम्हालेका राजराजेश्वरीजस्ता महारानीहरूले हिन्दु संस्कारको तथाकथित कसीमा नराम्ररी फसी अकालमै ज्यान गुमाए । त्यो प्रक्रिया निकै पछिसम्म चलिरह्यो । एकाएक चन्द्रशमशेरले आफूलाई जनप्रिय बनाउने ध्याउन्नमा १९७७ सालमा सतीप्रथा त उन्मूलन गरिदिए, तर लामो समयदेखि पितृसत्तात्मक नियमकाइदा र संस्कारको साँचोमा ढलेको मनस्थिति कहाँ सजिलै उन्मूलन हुन्छ र ?

घाउ अनेक

लोग्ने मरेपछि लाससँगै जीवित महिलालाई जलाउने काम कानुनी हिसाबमा त बन्द भयो, तर लोग्नेको मृत्युपछि त्यस्ता महिलालाई समाजले गर्ने व्यवहार अझै सुध्रिन सकेको छैन । उनीहरूको स्वतन्त्रतामाथि अंकुश लाउने काम त हुन्छ नै, उस्तै पर्दा धनसम्पत्ति बाँड्नुभन्दा बरु बुहारीलाई नै ठेगान लगाउन पछि पर्दैनन् कति परिवार । हालै हेटौंडामा भएको सुस्मिता थापा काण्ड यसैको एउटा उदाहरण हो । लोग्ने मरेको केही समयमै परिवारकै मिलेमतोमा छब्बीस वर्षीया सुस्मिताको हत्या भयो । हत्याको गाँठी कुरा लोग्नेको बिमा रकमसँग जोडिएको रहेछ । सुस्मिता त एक प्रतिनिधि पात्र मात्र हुन्, लोग्ने मरेपछि उसको भागको सम्पत्ति लिई जाने डरले पनि कतिपय महिलाले अकालमा ज्यान गुमाउनुपरिरहेकै छ ।

सती(कु)प्रथाले अनेक थरी रूप धारण गरेको छ र आज पनि पितृसत्तात्मक सोचले ग्रस्त नेपाली समाजमा यस्ता उकुच पल्टिबस्छन् । असार २५ मा सामाजिक सञ्जालीय हल्लीखल्लीभन्दा पर सुस्मिताहरू मारिइरहनु निश्चय नै एउटा खेदपूर्ण पश्चगामी पितृसत्तात्मक प्रवृत्ति हो ।

प्रकाशित : असार ३१, २०७७ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×