कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्णय उल्लंघन गर्दै सयौं यार्सा संकलक पाटनमा

बझाङ — कोभिड–१९ संकट व्यवस्थापन समितिको यार्सा संकलन गर्न प्रतिबन्ध लगाउने निर्णय उल्लंघन गर्दै सयौं यार्सा संकलक पाटनमा पुगेका छन् । डिभिजन वन कार्यालयले यार्सा टिप्न गएकाहरुलाई धमाधम पक्राउ गरेर मुद्दा चलाइरहेको बेला गाउँ नै रित्तिने गरी संकलकहरु त्यहाँ पुगेका हुन् । 

निर्णय उल्लंघन गर्दै सयौं यार्सा संकलक पाटनमा

लेकाली क्षेत्रमा भीडभाड हुँदा कोरोना संक्रमण फैलिन सक्ने भन्दै कोभिड–१९ संकट व्यवस्थापन समितिले गत चैतमा यार्सा संकलन गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यार्सा संकलकहरु जेठ अन्तिम सातादेखि लुकीछिपी पाटन छिर्न थालेका थिए ।

मंगलबारदेखि सुर्मा गाउँपालिकाअन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगालगायतका क्षेत्रमा सयौंको संख्यामा संकलकहरु पुगेको र मानिसहरु लेकतर्फ जानेक्रम जारी रहेको सुर्माका लखन बोहराले बताए । यस्तै साइपाल गाउँपालिकाको माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङवन, औंलागाडलगायतका यार्सा संकलन क्षेत्रमा पनि संकलकहरु पुगेका छन् ।

यार्सा संकलन गर्न नपाए आफूहरुलाई वर्षभरि गुजारा गर्न समस्या हुने भन्दै सुर्मा, साइपाल, मष्टा, छविस पाथिभेरा गाउँपालिका र बुंगल तथा जयपृथ्वी नगरपालिकाका स्थानीयहरुले लकडाउनको अवधिमा पनि संकलन गर्न पाउनु पर्ने आवाज उठाउँदै आएका थिए । तर लुकीछिपी संकलन गर्न गएकाहरुलाई पक्राउ गर्न थालेपछि आक्रोशित बनेका स्थानीयहरु प्रशासनलाई चुनौती दिँदै हुल बाँधेर संकलनका लागि निस्किएका हुन् ।

‘किरा टिप्न पाइएन भने उसै पनि भोकले मरिने निश्चित छ’, यार्सा संकलनका लागि सुर्मा गाउँपालिकाको ठाडे पाटन पुगेका गणेश बोहराले भने ‘टिप्न दिए टिपौंला, नभए जेलै जाउँला भनेर सल्लाह गरेरै सबै आएका हौ ।’ उनले कुनै पनि बहानामा आफूहरुको रोजीरोटी खोस्न नमिल्ने बताए ।

सयौंको संख्यामा संकलकहरु पाटन पुग्न थालेपछि सुर्मा गाउँपालिकाले संकलन खुला गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता पुस्कल बोहराले बताए । उनले डिभिजन वन कार्यालयले लुकीछिपी पाटन गएका केही व्यक्तिलाई नदेखेजस्तो गर्ने र केहीलाई त्यहाँ गएको निहुँमा घरबाटै पक्राउ गर्न थालेपछि सबैका लागि संकलन खुला गर्ने निर्णय गरेको बताए । गाउँपालिकाले बिहीबारमात्रै संकलन खुला गर्ने निर्णय गरेको भए पनि त्यसअघि नै पाटन क्षेत्रमा दुई हजार हाराहारीमा मानिसहरु पुगिसकेको उनले बताए ।

यस्तै सबैभन्दा बढी यार्सा संकलन हुने साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने गाउँपालिकाले लेक नजान स्थानीयलाई अनुरोध गरिरहेको भए पनि मानिसहरु अटेर गरेर जान थालेको बताए । ‘हामीले अनुरोध गर्ने हो । यत्रो मान्छेलाई रोक्न सक्ने अवस्था हुँदैन’ उनले भने ।

अनुमतिबिना यार्सा संकलन गरेको अभियोगमा मानिसहरु पक्राउ गरेर मुद्दा लगाइरहेको डिभिजन वन कार्यालयले पनि ठूलो संख्यामा मानिसहरु लेकतर्फ लागेको विषय आफूहरुको जानकारीमा आएको बताएको छ ।

डिभिजन वन प्रमुख कर्णबहादुर खातीले ठूलो संख्यामा मानिसहरु संकलन क्षेत्रमा गएको बारेमा प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयलाई लिखित जानकारी गराउनुको साथै के गर्ने ? भन्नेबारे राय माग गरिएको बताए । ‘गृह मन्त्रालयको लकडाउन खुकुलो बनाउने पत्र पनि जडीबुटी संकलनका विषयमा मौन छ’, खातीले भने, ‘त्यसैले हामीले प्रदेशको राय मागेका छौं । जवाफ आएपछि त्यहीअनुसार कारबाही अगाडि बढ्छ’

सरकारको निर्णय उल्लंघन गर्नेहरुलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । ‘हामीले फर्किनु होस् भनेर अनुरोध गरिरहेका छौं । भनेको नमाने कानुनअनुसार कारबाही हुन्छ’, उनले भने । आफूले यस विषयमा कस्तो कदम चाल्ने भनेर प्रदेश सरकारको वन सचिवसँग सल्लाह गरिरहेको भन्दै उनले अबैध काम गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने बताए ।


प्रकाशित : असार ५, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?