कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोटीका १५ संक्रमित गाउँमा निस्फिक्री घुमघाम

संक्रमितहरूले क्वारेन्टाइनमा रिपोर्ट नेगेटिभ आएको भनिएको दाबी गरिरहँदा वडाध्यक्षले उनीहरू जबर्जस्ती गाउँ गएको आरोप लगाएका छन् । स्थानीयले वडाभरिका बासिन्दाको स्वाब परीक्षण गर्न दबाब दिइरहेका छन् ।
मोहन शाही

डोटी — शिखर नगरपालिका–३ मा क्वारेन्टाइनबाट फर्केको दुई दिनपछि १५ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीयले सबै वडाबासीको स्वास्थ्य परीक्षण गर्न दबाब दिएका छन् । क्वारेन्टाइनबाट फर्केकाहरू आइसोलेसनमा नबसी गाउँमा घुलमिल भएकाले जोखिम बढेको उनीहरूको भनाइ छ ।

डोटीका १५ संक्रमित गाउँमा निस्फिक्री घुमघाम

अमर माविको क्वारेन्टाइनमा रहेका २९ मध्ये जेठ ३२ गते १५ जनामा संक्रमण देखापरेको हो । यससँगै वडाका तल्लो आली, मल्लो आली, अतुराली, जोरागाउँका करिब २ सय ५१ घरधुरी त्रासमा छन् । स्थानीयले गाउँका सबैको परीक्षण गर्नुपर्ने माग राख्दै मंगलबार रातिसम्म प्रदर्शन जारी राखेपछि दिपायलबाट सशस्त्र प्रहरीको टोली अतुराली पुगेको थियो ।

नगरपालिकाका स्वास्थ्य संयोजक हरीश शाहले जिल्लाबाट २० वटा मात्रै किट आएकाले सबैको परीक्षण गर्न सम्भव नभएको बताए । संक्रमितको परिवारमा सबैभन्दा घुलमिल भएकामध्ये एक जनाका दरले स्वाब संकलन गर्ने र तिनमा संक्रमण देखिए वडाभरिका व्यक्तिको परीक्षण गर्ने जिल्लास्तरीय सहमति रहे पनि स्थानीयको दबाबका कारण स्वाब लिन नसकिएको उनको भनाइ छ ।

संक्रमितहरूलाई घरमै राख्ने कि नगरपालिकाको आइसोलेसनमा लैजाने भन्ने विषयमा स्थानीयसँग सहमति जुट्न नसकेको नगरप्रमुख सीताराम जोशीले बताए ।

संक्रमितहरू भने स्वाब संकलन गरिएको ६ दिनपछि नै आफूहरूको रिपोर्ट नेगेटिभ आएको भनिएकाले ढुक्क भएर गाउँ घुमफिर गरेको बताउँछन् । ‘म त गाउँमा साथीभाइसँग भलिबल खेल्न गएका बेला रिपोर्ट पोजिटिभ रहेको खबर सुनेपछि मात्र डराएँ’, १८ वर्षीय एक संक्रमितले भने, ‘भलिबल खेल्ने र हेर्ने गरी करिब ४०/५० जना थियौं ।’ प्रहरीले नै घर जान भनेपछि जेठ ३० गते क्वारेन्टाइन छाडेको उनीहरूको भनाइ छ ।

उक्त क्वारेन्टाइनमा दुईवटा समूह बसेको थियो । १० जनाको एउटा टोली जेठ १४ र २३ जनाको अर्को टोली जेठ १२ गते क्वारेन्टाइन पुगेको थियो । तीमध्ये ४ जना जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएकामा दुई जनालाई संक्रमण पुष्टि भएको थियो । उनीहरू एक जना जेठ २८ गते र अर्का मंगलबार डिस्चार्ज भएका छन् ।

वडाध्यक्ष प्रेम जोरा भने संक्रमितहरूलाई रिपोर्ट आएको भनी कसैले खबर नगरेको बरु क्वारेन्टाइनमै बस्न अनुरोध गर्दा जबरजस्ती घर गएको आरोप लगाउँछन् । ‘मलाई घर जान पाउनुपर्छ भनेर दुई दिनअघि आक्रमण नै गर्न खोजेका थिए, सबैलाई सम्झाई–बुझाई त्यो दिन राखें’, उनले भने, ‘तर म नभएको बेला जेठ ३० गते घर हिँडिहाले ।’

प्रकाशित : असार ३, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?