कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीसीआर परीक्षण नहुँदा भारतबाट फर्किएकामा चिन्ता

तृप्ति शाही

बैतडी — बैतडीको दशरथचन्द नगरपालिका ७ सुर्कालका वसन्त बडु केही समयअघि भारतको हरियाणाबाट घर फर्के । घरपरिवारमा खर्चको जोहोका लागि रोजगारी गर्न गएका उनी कोरोनाको कारणले कैलालीको गौरीफन्टा नाकाबाट आफ्नै गाउँ आए ।

पीसीआर परीक्षण नहुँदा भारतबाट फर्किएकामा चिन्ता

गाउँ आइसकेपछि उनी वडामै रहेको कैलपाल विद्यालयको क्‍वारेन्टाइनमा बसे । १४ दिन पूरा भएपछि उनको आरडीटी परीक्षण भयो । उनीसहित सँगै बसेका ६ जनाको आरडीटी पोजिटिभ आयो । उनीहरुको आरडीटी पोजिटिभ आएको शनिबार ३ दिन भइसक्यो तर पीसीआर परीक्षणको टुंगो लागेको छैन ।

स्वाब राख्ने फ्रीज भरिएपछि सुदूरपश्चिम प्रदेशमा अहिले स्वाब संकलनको काम रोकिएको छ । यसैको मारमा आफू पनि परेको उनले बताए । ‘प्रदेश सबै बन्द छ भन्दैछन् । ५/६ दिनपछि मात्र हुने भनेका छन् । गाह्रो भइरहेको छ । यहाँ बस्न । चिसो भइरहेको हुन्छ । पानीको पनि एकदम समस्या छ,’उनले भने, ‘शरीरमा केही लक्षण अहिलेसम्म देखिएको छैन । घर जाउला सोचेको यस्तो भयो ।’

उनीसँगै बसेका मदनराज बडु पनि भारतकै हरियाणाबाट आएका थिए । उनको पनि आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । तर पीसीआर अझै नभएको गुनासो उनले गरे । यसले गर्दा चिन्ता र तनावले सताएको दु:खेसो उनले पोखे । उनले भने, ‘हाम्रो माग भनेको जल्दी पीसीआर गरिदिन पऱ्यो भन्ने हो । भएपछि हामी पनि ढुक्क हुने थियौं । हामीसित रहेकाहरु पनि ढुक्क हुने थिए ।’ आफूहरुको रिपोर्टले अरु पनि त्रासमा रहेका उनले सुनाए । पोजिटिभ आएकोले हेला गर्ने गरेका गुनासो उनको थियो । डराइडराइ दिनरात काट्नु परिरहेको उनले सुनाए । क्वारेन्टाइनमा धेरै जना र अव्यवस्थित बसोबासले अन्य रोगको संक्रमण होला भन्ने डर रहेको सुनाए ।

वसन्त र मदनमात्र होइनन् । आरडीटी पोजिटिभ आएर पनि स्वाब संकलन नभएका क्वारेन्टाइनमा बसेकाहरु तनावमा छन् । धेरै दु:ख गर्दै आफ्नो गाउँमा पुगेपछि घर जाने आशामा रहेका उनीहरु आरडीटी पोजिटिभ आउँदा क्वारेन्टाइनमै बसिरहेका छन् । पीसीआर नहुँदा चिन्तामा रहेको उनीहरुको भनाइ छ ।

भारतलगायत विभीन्न स्थानबाट जिल्लामा क्वारेन्टाइनहरुमा बसेका ४ हजार बढीमध्ये शनिबार अपरान्हसम्म २ सय १४ जनाको आरडीटी पोजिटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । शनिबारको रिपोर्ट आइनसकेकोले अझै संख्या बढ्ने उनको भनाइ थियो । सबैभन्दा बढी भने शिवनाथ गाउँपालिकाका १ सय ३ जना रहेका उनले बताए । उनका अनुसार बैतडीमा पनि स्वाब संकलनको कार्य रोकिएको छ । यसले गर्दा क्वारेन्टाइनमा बसेकाहरु अफ्ठेरो मानिरहेका छन् । २ सय बढीको आरडीटी पोजिटीभ आए पनि १ सय ६० जनाको मात्र स्वाब संकलन भएर परीक्षणका लागि धनगढी पठाइएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?