बैतडीको क्वारेन्टाइनमा २२ वर्षीया युवतीको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीको क्वारेन्टाइनमा २२ वर्षीया युवतीको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । निरीक्षक चन्दले ती युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक जानकारी आफूले पाएको बताए ।

जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ । उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उनले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

बेलायती अध्ययन भन्छ– ग्रामीण प्रसूतिसेवामा स्वास्थ्य प्रवर्द्धकहरूको भूमिका अहम्

नविन पोखरेल

लन्डन — नेपालको ग्रामीण भेगमा सुरक्षित प्रसूतिसेवाका लागि स्थानीय स्वास्थ्य प्रवर्द्धकहरूको भूमिका प्रभावकारी हुन सक्ने एक बेलायती अध्ययनले औंल्याएको छ ।

बोर्नमाउथ विश्वविद्यालयले गरेको अध्ययनले प्रवर्द्धकहरूले बर्थिङ सेन्टरमा बच्चा जन्मँदा हुने फाइदाबारे जागरूकता बढाउन र प्रसूतिसेवाका लागि अस्पताल वा स्वास्थ्य केन्द्र पुर्याउन अहम् भूमिका खेल्न सक्ने देखाएको हो ।

सरकारले विभिन्न किसिमका सुविधा दिए पनि नेपालमा अझै करिब ४१ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीविनै घरमै बच्चा जन्माउने गर्छन् । यसले गर्दा आमा र बच्चा दुवैलाई जोखिम हुने गर्छ । अध्ययनका क्रममा नवलपरासीका साबिक चार गाविस ठूलो खैरतवा, नरसही, भुजवा र पक्लिहवामा सन् २०१४ देखि २०१६ सम्म कार्यक्रम सञ्चालन गरिएको थियो । यसअन्तर्गत सासूहरूसँग १५७ पटक र अन्य महिला समूहसँग ३३४ पटक छलफल गरिएको थियो भने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई तालिम पनि दिइएको थियो । त्यस्तै ठूलो खैरतवा र नरसहीमा दुईवटा बर्थिङ सेन्टरहरुको सुधारमा सहयोग गरिएको थियो ।

विद्यावारिधि अनुसन्धानका निम्ति सो अध्ययनको नेतृत्व गरेकी डा. प्रीति महतोका अनुसार स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमपछि सन् २०१७ मा ती गाविसमा ६९९ मध्ये २९.३ प्रतिशतले मात्र घरमा बच्चा जन्माएका थिए जबकि त्यसअघि सन् २०१२ मा यो प्रतिशत ५८.८ प्रतिशत रहेको थियो । यस्तै बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाको संख्या २.४ प्रतिशतबाट २८.३ प्रतिशत पुगेको थियो । त्यस्तै तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोग लिने महिलाको संख्या ५३.७ प्रतिशतबाट ७०.५ प्रतिशत पुगेको पाइएको थियो ।

‘शिक्षित, प्रसूतिसम्बन्धी निर्णय प्रक्रियामा संलग्न र कम्तीमा चारपटक गर्भवती परीक्षण गराएका महिलाहरूले स्वास्थ्य केन्द्रमा नै बच्चा जन्माउने गरेको पाइएको छ । प्रसूति सेवाको उपयोग र महिलाको प्रजनन स्वास्थ्यका निम्ति महिला सशक्तीकरण महत्त्वपूर्ण हुने यस अध्ययनले देखाएको छ,’ डा. महतोले भनिन् ।

विगत १६ वर्षदेखि नेपालको स्वास्थ्य अनुसन्धानमा काम गर्दै आएका बोर्नमाउथ विश्वविद्यालयका प्रोफेसर एवम् उक्त अध्ययनका प्रमुख सुपरिवेक्षक एडविन भान तेइजलिन्जेनले सो अध्ययनले सुरक्षित प्रसूति सेवाका लागि स्वास्थ्य प्रवर्द्धकहरुको भूमिकामा जोड दिनुपर्ने देखाएको बताए । उक्त अध्ययन अन्तर्राष्ट्रिय जर्नल ‘प्लस वान’ मा प्रकाशित भएको छ । नेपालस्थित ग्रिनतारा नेपाल नामक गैरसरकारी संस्था र लन्डनस्थित ग्रिनतारा ट्रस्टले अध्ययनका निम्ति आर्थिक र प्राविधिक सहयोग गरेका थिए ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×