कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाका आइपुगेकालाई परीक्षणबिनै भित्र्याइँदै

कञ्चनपुरमा साताअघिसम्म भारतबाट आउनेहरूको नाकामै परीक्षण गर्ने गरिएकोमा किट सकिएपछि अहिले सरासर ल्याइन थालेको छ ।
भवानी भट्ट

कञ्चनपुर — भारतको हरियाणामा होटलमा काम गर्ने नरेन्द्र पाण्डेय कोरोनाको त्रासका बीच दुई महिनादेखि जारी लकडाउनमा समेत जेनतेन बसेकै थिए । कोठामा रासनपानी सबै सकिन लाग्यो । भोकभोकै बस्नुपर्ने बाध्यता आएपछि पैदलै भए पनि घर फर्कने निधो गरे । पाण्डेयसहित एउटै होटलमा काम गर्ने १४ जनाले गत बुधबार यात्रा सुरु गरे ।

नाका आइपुगेकालाई परीक्षणबिनै भित्र्याइँदै

कतै गाडी त कतै हिँडेर उनीहरू ३ दिनपछि खटीमा पुगे । त्यहाँबाट सीमानाकानजिक दोधारा–चाँदनी आइपुगेका उनीहरूलाई त्यहाँको झोलुंगे पुल हुँदै बिहीबार मात्रै भीमदत्त नगरपालिकामा भित्र्याइयो । ‘तीन दिन बाटोमै लाग्यो, कतै प्रहरीको धम्की त कतै भोकले हिँड्नै सकेनौं,’ डडेलधुरा, भागेश्वर गाउँपालिकाका पाण्डेयले भने, ‘दशगजामा पुगेपछि पनि चार दिन त्यहीँ रोकियौं ।’

उनका अनुसार रुद्रपुर पुगेपछि भारतीय प्रहरीले कुटपिटसँगै गोली ठोक्ने धम्कीसम्म दिएका थिए । उनीसँगै ७ महिनाकी गर्भवती पत्नी पनि आएकी थिइन् । ‘अरूजस्तै हिँड्न नसक्ने, प्रहरीले धपाउँदा भाग्न पनि नसक्ने भएकाले धेरै दुःख पाइयो,’ उनले भने ।

‘रुद्रपुरभन्दा केही पर एउटा ट्रक भेटियो, सबैले मिलेर बनबासासम्मको ८० हजार भारु भाडा तिर्‍यौं, रुद्रपुरमा प्रहरीले रोकेपछि ट्रकवाला पनि छाडेर गयो,’ डडेलधुरा, भागेश्वरकै नरेशसिंह जोराले भने, ‘बाटोमा भारतीय प्रहरीले धेरै ठाउँमा लट्ठीले हाने, हरियाणा फर्किन नसकिने, यता आउन पनि नसकिने अवस्था आयो ।’ रातिराति जंगलको बाटो भएर हिँडेर आएको उनले सुनाए ।

दशगजा पुगेपछि आफूहरूले भागेश्वर गाउँपालिकाका जनप्रतिनिधिलाई उद्धार गरिदिन आग्रह गरे पनि कसैले वास्ता नगरेको जोरा बताउँछन् । ‘दशगजामा ३/४ सय जनालाई एकै ठाउँ हुलेर राखिएको छ । को कताबाट आएको हो, केही थाहा छैन,’ उनले भने, ‘न मास्क छ न त कुनै सेनिटाइजर, राम्रै मान्छे पनि बिरामी हुने अवस्था छ ।’

कालिकोटको नारायणनाथ गाउँपालिका–२ का रमेश दर्जी नेपाल भित्रिन पाएकोमा निकै खुसी देखिन्थे । नैनीतालबाट ५ दिनमा दशगजा आइपुगेका उनलाई अब आफ्नै गाउँ पुगेजस्तो लागेको छ । ‘बाटोमा लुकी–लुकी भोकभोकै हिँड्दै आयौं, न हाम्रो पैसा चल्ने न त केही खानेकुरा छ,’ उनले भने, ‘खटीमा पुगेपछि प्रहरीले लट्ठी बर्सायो, सबैको भागाभाग चल्यो ।’

दर्जीसहित १० जना तीन दिनअघि मात्रै दशगजा आइपुगेका हुन् । उनीहरूलाई महाकाली नगरपालिका–२ मायापुरी सामुदायिक वननजिकै खाने–बस्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाले वडा नं. २ को मायापुरी सामुदायिक वन र ३ को जमुनाघारीमा क्याम्प लगाएको छ । यहाँ दैनिक ३/४ सय नेपाली आइपुग्ने गरेका छन् । उक्त क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाइएका कारण संक्रमणको जोखिम बढेको छ ।

जेठ पहिलो साता दशगजा आइपुगेकाहरूमध्ये कतिलाई पीसीआर परीक्षण त कतिलाई आरडीटी गरेर सम्बन्धित स्थानीय तहमा पठाइयो । तर पछिल्लो दिन नाकाबाट यसरी आउनेहरूको परीक्षण हुन छाडेको छ ।

‘झोलुंगे पुलबाट भित्र्याइएका सबैलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ, परीक्षण पनि त्यहीँ हुनेछ,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘हिजो (बिहीबार) सम्म ६ सयभन्दा बढीलाई भित्र्याइएको छ जसमध्ये आधाजतिको परीक्षण गरिएको छ ।’ उनले परीक्षणका लागि किट अभाव भएको बताए ।

यसअघि सीमावर्ती भारतीय क्षेत्र बनबासा, खटीमा र टनकपुरका क्वारेन्टाइनमा रहेका २ सय ४२ जनालाई आरडीटी गरेर मात्रै सम्बन्धित स्थानीय तह पठाइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थियो । तिनैमध्ये कर्णालीको दैलेखका एक जनामा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित १ सय ६७ जनालाई भारतीय सुरक्षाकर्मीले वैशाख २९ मा ब्रह्मदेवनजिकै मध्यराति दशगजामा छाडेपछि प्रहरीले समातेर महेन्द्रनगरस्थित वैजनाथ माविमा राखेको थियो ।

त्यसपछि पनि महाकाली तरेर आएका २७ र दोधारा–चाँदनीमै दशगजा आइपुगेका ९५ जनाको स्वाब परीक्षण गरिएको थियो । उनीहरूमध्ये २ जनाको रिपोर्ट आइनसकेको र बाँकीको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नाकामा नेपालीहरू आउने क्रमसँगै जोखिमसमेत त्यतिकै बढेको जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले बताए ।

नाकामै परीक्षण गरेर भित्र्याउनु सबैभन्दा सुरक्षित उपाय हो,’ भट्टले भने, ‘तर त्यसका लागि न हामीसँग किट छ न त भीटीएम ।’ भारतले सबै नाका खोल्ने निर्णय गरेका कारण अबको केही दिन सीमामा निकै भीड हुने र त्यसले संक्रमणको जोखिम अति उच्च हुने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?