कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरीफन्टाबाट एकै दिन भित्रिए अढाई हजार

आएकामध्ये थोरैको मात्र स्वास्थ्य जाँच गरिएकोमा १२ जनामा आरडीटी पोजिटिभ देखिएको छ ।
अर्जुन शाह

धनगढी — धनगढीको सीमानाका गौरीफन्टाबाट बिहीबार राति अबेरसम्म अढाई हजार जना भित्रिए पनि उनीहरूमध्ये थोरैको मात्र कोरोना जाँच गरिएको छ । नाकामा भिड व्यवस्थापन गर्न मुस्किल परेपछि बाँकीलाई ज्वराे नापेका भरमा प्रवेश गराइयो ।

गौरीफन्टाबाट एकै दिन भित्रिए अढाई हजार

नेपाल भित्रिएका २ हजार ४ सय ९८ जनामध्ये ७ सय ७३ जनाको मात्रै आरडीटी गरिएको हो । अन्यमा ज्वरो भए/नभएको मात्र नापियो । आरडीटी गरिएका मध्ये १२ जनालाई पोजिटिभ देखिएको छ । उनीहरूलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

बुधबारझैं बिहीबार पनि राति ११ बजेसम्म गौरीफन्टा आइपुगेकाहरूलाई भित्र्याउन सशस्त्र प्रहरी, जनपथ प्रहरी, कैलाली जिल्ला प्रशासनका प्रतिनिधि र स्वास्थ्यकर्मी खटिएका थिए । आएका मध्ये ८ सय ८ जनालाई धनगढीको त्रिनगरस्थित नवदुर्गा माविको भवनमा राखिएको छ । अन्यलाई प्रदेश सरकारले बस व्यवस्था गरेर सम्बन्धित जिल्ला पठाइएको सशस्त्र प्रहरीको धनगढीस्थित ३४ नम्बर गणका एसपी कमल तिमिल्सिनाले बताए ।

किट अभावले सबैको परीक्षण गर्न नसकिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘किट छैन, थप माग गर्दै छौं,’ निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमराज जोशीले भने, ‘अवस्था भयावह हुने देखियो ।’ सीमामा आउनेहरूको संख्या पूर्वानुमान नै गर्न नसकिने अवस्था आएको स्वास्थ्यकर्मी बताउँछन् ।

भारतबाट आउनेहरूलाई सीमामा व्यवस्थापन गर्ने हम्मे पर्ने अवस्था आएको सुरक्षाकर्मीको भनाइ छ । ‘हरेक दिन मध्यरातसम्म आउनेक्रम जारी हुन थाल्यो,’ एसपी तिमिल्सिना भन्छन्, ‘भारतीय पक्षले नेपालीहरूलाई सीमामा ल्याएर छोड्दिन थाले ।’

भारतमा रहेकाहरू नेपाल भित्रिने अनुमान हुँदाहुँदै पनि व्यवस्थापनको तयारी नहुनु स्थानीय र प्रदेश सरकारको कमजोरी भएको सरोकारवाला बताउँछन् । ‘व्यवस्थापनको तयारी गर्न यसबीचमा पर्याप्त समय थियो,’ मानवअधिकार उच्चस्तरीय अनुमन समितिका सदस्य खडकराज जोशी भन्छन्, ‘किटको जोहो गर्नुपर्ने, बोर्डरमै ठूला क्षमताको क्वारेन्टाइन बनाउन पनि सकिन्थ्यो होला ।’ भारतमा बस्दै आएका नेपालीहरू यति बेला दोहोरो दबाबमा छन् । खान–बस्नको समस्या बढेको, यसै बेला सीमा विवाद बल्झिएको र त्यहाँका नेपालीलाई भारतीय पक्षले अनेक बहानामा चेपुवामा पार्ने डर भएकाले उनीहरूलाई नेपाल फर्किन हतारो भइरहेको जोशीले बताए ।

कैलाली र कञ्चनपुरको हकमा सम्बन्धित स्थानीय तहले आफ्नो पालिकाका स्थानीयलाई सीमाबाट लिएर क्वारेन्टाइनमा राख्ने गरेको सशस्त्रका एसपी तिमिल्सिनाले बताए । बुधबार रातिसम्म साढे ८ सय जना आएका थिए । बिहीबार आएकाहरूमध्ये धेरै संख्या सुदूरपश्चिमकै छ । उनीहरूमध्ये तीन सय हाराहारी अन्य प्रदेशका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?