कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुञ्‍चा सर्न नपाएपछि चौपायासहित धर्ना

कुञ्‍चा सर्ने समय गुज्रिइसक्दा पनि सरकारले नसुनेको भन्दै सयौं ब्यासीहरु आफ्ना पशुचौपायासहित जिल्ला प्रशासन कार्यालयअगाडि पुगेका थिए ।
मनोज बडू

दार्चुला — आफ्नो थातथलो जान नपाएपछि सोमबार ब्यासका स्थानीय बासिन्दाले पशुचौपायासमेत लिएर जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका छन् । 

कुञ्‍चा सर्न नपाएपछि चौपायासहित धर्ना

चिसो छल्न मंसिरमा बेँसी (सदरमुकाम खलंगा) झरेका ब्यास गाउपालिका-१ छाङ्गरु र तिंकर गाउँका स्थानीय लकडाउनका कारण गाउँ जान पाएका छैनन् । कुञ्चा सर्ने समय ढिलाइ हुँदा पनि सरकारले नसुनेको भन्दै सयौं ब्यासीहरु आफ्ना पशुचौपायासहित जिल्ला प्रशासन कार्यालयअगाडि करिब एक घण्टा धर्नामा बसेका थिए । दर्जनौं पशुचौपाया जिल्ला प्रशासन कार्यालयको गेटअगाडि पुर्‍याएका उनीहरुले ब्याससम्म जाने बाटो निर्माण गर, कुञ्चा सर्ने व्यवस्थापन गर, किसानलाइ क्षतिपूर्ति देऊ जस्ता नारा लगाएका थिए ।

भारतीय बाटो भएर झरेका उनीहरु सीमा नाका बन्द भएपछि खलंगामै अड्किएका छन् । दार्चुलामा रहेका शौका समुदाय परम्परागत रुपमा वर्षको न्यानो ६ महिना ब्यास र चिसोका ६ महिना बेँसी खलंगामा बस्दै आएका छन् । बेँसी-हिमाल बसाइँ सर्नुलाई स्थानीय 'कुञ्चा सार्ने' भन्छन् ।

जिल्ला सदरमुकामबाट ब्यास जोड्ने दार्चुला–तिंकर घोरेटो बाटो केही वर्षदेखि बन्द छ । बाटो निर्माणमा चासो नदिँदा कुञ्चा सर्न समस्या भएको ब्यास-१ छाङ्गरुका ललितसिंह बोहराले बताए । 'स्वदेशबाट नै जन्मथलो जाने मन छ, सरकारले बाटो निर्माणमा ध्यान नदिँदा अप्ठ्यारोमा पर्‍यौं,' उनले भने, 'राज्यले ब्यासी नागरिकको समस्या सुल्झाउन नसक्ने हो भने तीन तहकै सरकारले राजीनामा दिनुपर्छ । सीमाका वास्तविक पहरेदार हामी हौं, हामीलाई नै आफ्नो भूमि जानबाट वञ्चित गरिएको छ ।'

सधैं वैशाख अन्तिमसम्म उनीहरु ब्यासमा खेती लगाइसक्थे । यसपालि भने हालसम्म खलंगाको रोकिएका छन् । सदरमुकाम खलंगामा गर्मी बढेसँगै चिसोमा बस्ने चौंरी, झुपु, घोडा, खच्चड, गाईं, भैसी समस्यामा परेको स्थानीय बताउँछन् । हिमालमा बस्ने पशुचौपायालाई बेँसीमा गर्मीले गाह्रो भएको धनराज ऐतवालले बताए । उनले पशुचौपाया मरेको र किसानले बाली लगाउन नसकेको क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

पञ्चायतकालमै निर्माण गरिएको ब्यासको छाङ्गरु तिंकर जाने घोरेटो बाटो निर्माण हुन नसक्दा उनीहरुले लामो समयदेखि भारतीय बाटो हुँदै कुञ्चा सर्ने गरेका थिए ।

ब्यासका स्थानीयलाई उनीहरुको थातथलो कुञ्चा सार्न वैकल्पिक बाटोबारेमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । 'भारतीय बाटो भएर हुन्छ या स्वदेशबाटै माथि लैजान सकिन्छ,' उनले भने, 'व्यवस्था नभइन्जेल केही दिन कुरिदिनुहोला ।'

ब्यासको छाङ्गरु गाउँमा एक सय १० र तिंकरमा ६५ घरधुरीको बसोबास छ भने ब्यासीहरुको एक हजार दुई सय हाराहारीमा जनसंख्या छ ।

प्रकाशित : वैशाख ३०, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?