कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना फैलने डरले यार्चा टिप्‍न प्रतिबन्ध

राजबहादुर शाही

मुगु — मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्ष यार्चागुम्बु संकलनमा प्रतिबन्ध लगाएको छ । 

कोरोना फैलने डरले यार्चा टिप्‍न प्रतिबन्ध

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम र लकडाउनका कारण मुगुम कार्मारोङका पाटनमा यार्चा टिप्न पहिलोपल्ट प्रतिबन्ध लगाइएको हो ।

हजारौं संकलक एकैपल्ट प्रवेश गर्दा कोरोना महामारी फैलने भन्दै कार्यपालिका बैठकबाट प्रतिबन्ध लगाएको गाउँपालिकाले जनाएको छ । यार्चा मुगु र आसपासका जिल्लाका बासिन्दाको आम्दानीको मुख्य स्रोत मानिन्छ ।

गाउँपालिकाका विभिन्न पाटनमा बर्सेनि करिब १० हजार जनाले यार्चा संकलन गर्ने गरेका थिए । ‘पाटन नखुलाउने गरी सबै गाउँमा सूचना प्रवाह गरिएको छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले भने, ‘चोरी–निकासी रोक्न पाटन पस्ने सबै नाकामा सुरक्षाकर्मी र स्वयम्‌सेवक परिचालन गरेका छौं ।’ उनका अनुसार वैशाखदेखि असारसम्मको सिजन यार्चा संकलनका लागि उपयुक्त मानिन्छ ।

मुगुम कार्मारोङका सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके, डोल्फूलेक, हाङदाङ खोलालगायत पाटनमा गुणस्तरीय यार्चा उत्पादन हुन्छ । यार्सा टिप्न बर्सेनि हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, मुगु, दैलेख, सुर्खेतलगायत जिल्लाका बासिन्दा पाटन आउने गरेका थिए ।

गत वर्ष पाटनमै प्रतिगोटा ५ सयदेखि १ हजार र तिब्बतमा प्रतिकिलो १२ लाख रुपैयाँमा यार्चा बिक्री भएको थियो ।

यार्चा संकलन गर्न नपाएपछि स्थानीय बासिन्दा भने चिन्तित बनेका छन् । ‘वर्षभरिको खर्च यार्चा बिक्रीकै रकमले चल्थ्यो,’ स्थानीय कुमोद लामाले भने, ‘पाटन खुला नभएपछि जीविकोपार्जनमा समस्या हुने देखियो ।’ उनका अनुसार चितै, किम्री, माग्री, पुलु, रिउस, कार्ति, मुगुलगायत बस्तीका बासिन्दाले एक महिनादेखि नै पाटन जाने तयारी थालेका थिए ।

अन्न उत्पादन नहुने र आम्दानीको अरु स्रोत नहुँदा मुगुम कार्मारोङका अधिकांश बासिन्दा यार्चा बिक्रीमै निर्भर रहेको माग्रीगाउँका सोनामछिरिङ तामाङले बताए । उनले १० वर्षयता यार्चा टिपेकै रकमले घरखर्च चलाएको सुनाए । ‘यस वर्ष परिवारको खर्च धान्नै मुस्किल देखियो,’ उनले भने, ‘न कुनै पेसा–व्यवसाय छ, न यहाँ अन्न उब्जिन्छ ।’

कार्यपालिका वैठकले प्रतिबन्ध गरेसँगै मुगुका सबै पाटन सुनसान बनेको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘महामारी र देशको प्रतिकूल अवस्थाले पाटन खुलाउन सम्भव भएन,’ उनले भने, ‘स्थानीयलाई राहत वितरण गर्न आवश्यक तयारी थालिएको छ ।’ उनका अनुसार यार्चाकै कारण गाउँपालिकाको राजस्व बर्सेनि बढ्दै गएको थियो । गत वर्ष यार्चा संकलन पूर्जीबापत एक करोड राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?