कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीकी कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजिटिभ

‘एक्लै हुँदा बेलाबेला न्यास्रो लाग्छ’
अर्जुन शाह

धनगढी — कोरोना भाइरसबाट संक्रमित भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका पाँच जनामध्ये चार जना निको भएर यसअघि नै डिस्चार्च भइसकेका छन् । तर परिवारकै सदस्यबाट संक्रमण सरेर २८ दिनअघि अस्पताल भर्ना भएकी धनगढीकी एक महिलाको भने लगातार पोजिटिभ रिपोर्ट आइरहेको छ ।

कैलालीकी कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजिटिभ

‘आज पनि पोजेटिभ रिपोर्ट आयो भने रे’ उनले भनिन्, ‘ख्वै के भएको हो, लगातार पोजेटिभ रिपोर्ट आइरहेको छ ।’ उनको छैटौं पटक थ्रोट स्वाब परीक्षण गरिएको अस्पतालका प्रवक्ता जगदीश जोशीले बताए ।

‘एक्लै हुँदा बेलाबेला न्यास्रो त लाग्छ । मनमा अनेक कुरा खेलिरहन्छन्,’ उनले भनिन्, ‘आफूसँगैका सबै निको भएर घर गएपछि उत्साह बढेको थियो । तर उनीहरु डिस्चार्ज भए पनि धेरै दिन भइसक्यो ।’ ढिलै भए पनि आफू पनि निको भएर चाँडै घर फर्किने विश्वासमा रहेको उनले बताइन् ।

संक्रमणको हिस्ट्री अरु बिरामीको भन्दा बैग्लै भएकाले उनको पीडा पनि अरुभन्दा बढी छ । दुबईबाट घर आएका उनका देवरलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । ३० दिन अस्पतालमा बसेर निको भएपछि उनी भने डिस्चार्ज भएर यसअघि नै घर फर्किसकेका छन् ।

घरका सबै सदस्यहरुको पनि कोरोना जाँच भयो । त्यसक्रममा सासू, ससुरा, देउरानी र बालबच्चासहित ९ जना रहेको उनको परिवारमा उनलाई नै संक्रमण देखियो ।

चैत २२ गते एकाबिहानै सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स साइरन बजाउँदै घरको आँगनमा आइपुग्यो । एम्बुलेन्स चालकले उनको नाम लिँदै फलानो नामको को हुनुहुन्छ भनेर सोधपुछ गर्दै ‘ल तयार हुनुस् अस्पताल जानुपर्ने भयो’ भने । उनी त्यही दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन् ।

सुरुका दिनमा उनलाई दोहोरो पीडा भयो । आफूलाई निको हुने हो या हैन भन्ने चिन्ता एकातिर, अर्कोतिर घरमा नाबालक छोराछोरीहरु । कान्छो छोरा ४ वर्षको भयो । बच्चाहरुबाट टाढा भएर अस्पतालमा बस्नुपर्दा उनलाई निकै पीडा भयो । तर पनि श्रीमान, सासूससुरा र आफन्तहरुले उनलाई ढाडस दिइरहे ।

त्यसअघि र अहिले पनि उनलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण छैन । ‘मन नधर्मराउने त कुरै भएन, तर पनि अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या महसुस भएको छैन,’ उनले भनिन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य सामान्य छ ।

यसअघि एक महिला र एक पुरुषसहित कैलालीको लम्कीका दुई जना, कञ्चनपुरका एक र धनगढीकै एक युवा उपचारपछि निको भएर घर फर्किएका हुन् । सफल उपचारपछि संक्रमितहरु डिस्चार्ज भएकोमा यतिबेला धनगढीमा धेरैतिर उत्साह बढेको छ ।

सेती प्रादेशिक अस्पतालमा भर्ना भएका संक्रमितहरुलाई सञ्चो हुन केहीलाई थोरै र केहीलाई बढी समय लागेको छ । निको भएर घर फर्किन सबैभन्दा बढी समय दुबईबाट घर आएका धनगढीका संक्रमित युवालाई लागेको थियो । उनी अस्पताल भर्ना ३०औं दिनमा मात्र चार दिनअघि डिस्चार्ज भएका हुन् ।

अस्पतालमा सबैभन्दा थोरै समय बसेकी बिरामी लम्कीकी महिला हुन् । वीरगञ्जबाट घर आएकी उनी अस्पतालमा भर्ना भएको ११औं दिनमा घर फर्किएकी थिइन् ।

भारतको मुम्बईबाट आएका लम्कीका २१ वर्षीय युवा १७ दिन अस्पताल बसे । उत्तराखण्डबाट आएका कञ्चनपुरका संक्रमित पनि १९औं दिनमा निको भएर अस्पतालबाट तीन दिनअघि डिस्चार्ज भएका थिए ।

प्रकाशित : वैशाख १९, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?