लकडाउन कसिलो पार्न ‘होम डेलिभरी’


धनगढी — उपभोग्य वस्तु खरिदका नाममा लकडाउनमा पनि नगरबासी घरबाहिर निस्कन थालेपछि कैलाली जिल्ला प्रशासनले धनगढीमा ‘होम डेलिभरी’ को व्यवस्था गर्न लागेको छ । खाद्यान्न पसलसमेत बन्द गरेर घरघरै सामग्री पुर्याउन लागिएको हो ।

लकडाउन कसिलो पार्न शुक्रबारदेखि नै यो सेवा सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । ‘नुन, तेल, आलु, प्याजलगायत खाद्य सामग्री किन्न भन्दै साँझपख बजारमा निस्कनेहरू बढे,’ उनले भने, ‘बजारका खाद्य पसलसमेत बन्द गर्ने र होम डेलिभरीको सेवा दिएर मान्छेलाई बाहिर निस्कनबाट रोक्ने एक मात्र विकल्प देखियो ।’
औषधि किन्ने बहानामा कतिपयले खल्तीमा एक पत्ता सुगरको औषधि हालेर बाहिर डुल्ने गरेको पाइएको बोहराले बताए । ‘होम डेलिभरीको व्यवस्थापछि बाहिर निस्कनेलाई कुनै पनि बहाना बाँकी रहेन,’ उनले भने, ‘त्यसपछि बाहिर निस्कनेलाई कारबाही गरिनेछ ।’
यसअघि बिनाकाम बजारमा निस्केका दुई सयभन्दा बढीको मोटरसाइकलको चाबी थुतिएको उनले जानकारी दिए ।
नगरबासीलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध गराउन कैलाली उद्योग वाणिज्य संघ र धनगढी नगरपालिकाका प्रतिनिधिसहितको बैठक डाकिएको बताए । ‘दुवै पक्षको छलफलपछि नगरवासीलाई होम डेलिभरी सेवा कसरी दिइने भन्ने टुंगो लाग्छ,’ उनले भने भने, ‘घुम्ती पसल मोडालिटी आउन सक्छ ।’