कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्याप्त स्वास्थ्य सामग्री नहुँदा उपचारमा कठिनाइ 

तृप्ति शाही

बैतडी — सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले स्वास्थ्य सेवा विभागसँग सय थान थर्मामिटर माग गरेकोमा १० वटा मात्र प्राप्त भएपछि बैतडीको हिस्सामा एक थान परेको छ । विभागले सोमबार निर्देशनालयलाई उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लामा पठाइएको हो । प्राप्त सामग्रीहरु मागभन्दा निकै थोरै रहेको बैतडी स्वास्थ्य कार्यालयले जनाएको छ । 

पर्याप्त स्वास्थ्य सामग्री नहुँदा उपचारमा कठिनाइ 

६५ वटा स्वास्थ्य संस्था, दुई प्राथमिक स्वास्थ्य केन्द्र र एक जिल्ला अस्पताल रहेको बैतडीमा ३० थान मात्र गाउन आएको छ । व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) किट भनिए पनि पूरा शरीर नछोपिने गाउन मात्र आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । उनका उनुसार ३० वटा मात्रै एन ९५ माक्स आएको छ । सर्जिकल माक्स २५ सय र तीन हजार ग्लोभ्स आएको छ ।

अहिले प्राप्त भएका स्वास्थ्य सामग्री आपूर्तिको ठेक्का सम्झौता रद्द भएको र कमसल सामान आएको भन्ने चर्चा भए पनि आफूहरुले प्रयोग गर्न थालेको भट्टले बताए । ‘केन्द्रबाट प्रयोग गर्ने वा नगर्ने भन्नेबारे केही खबर आएको छैन । हामीले प्रयोग गर्ने नै भनेका छौं,’ उनले भने । उनले केही स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई दिएको र बाँकी पालिकामा पठाउने तयारी गरेको जानकारी दिए ।

४५ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको जिल्ला अस्पतालका कर्मचारीहरु भने ती सामग्री आइपुगेको खबर पाएर सुरुमा निकै खुसी देखिए पनि अहिले निरास छन् । सोचेजस्तो सामग्री नभएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘हामी सन्तुष्ट छैनौ, सामान गुणस्तरीय पनि छैन,’ उनले भने ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले सोमबार प्राप्त भएका सामग्रीहरु विभिन्न जिल्लामा पठाई प्रयोगसमेत हुन लागेको जानकारी दिए । ‘विभागबाट जेजति परिमाणमा प्राप्त भयो सबै बाँडफाँट गरी पठाएका हौं,’ उनले भने, ‘आपूर्ति कम भएको छ, अर्को लटमा आउने सामग्री छिटोभन्दा छिटो पठाउन केन्द्रमा माग गरिरहेका छौं ।’

प्रकाशित : चैत्र २०, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?