कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिलो खेप स्वास्थ्य उपकरण तथा सामग्री आइपुग्यो

१०० थर्मामिटर मागेकोमा जम्मा १० वटा आए
चित्रांग थापा

धनगढी — कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले चीनबाट ल्याएको विभिन्न स्वास्थ्य उपकरण तथा सामग्रीमध्ये सुदूरपश्चिम प्रदेशका लागि पहिलो खेप सोमबार धनगढी आइपुगेको छ । नेपाली सेनाको स्काइ ट्रकबाट ती सामग्री धनगढीको गेटा विमानस्थलमा ल्याइएको हो । 

पहिलो खेप स्वास्थ्य उपकरण तथा सामग्री आइपुग्यो

सुदूपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रदेशका ९ वटै जिल्लाको आवश्यकतालाई मध्यनजर गरी पहिलो खेपमा सामग्री आइपुगेको बताए ।

‘अहिले प्राप्त भएका स्वास्थ्य सामग्रीहरु कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने आधारभूत आवश्यकताका सामग्री हुन्,’ उनले भने । माग गरेअनुसारको मात्रामा सामाग्री भने नआएको उनले बताए । ‘थप सामग्री छिटै आपूर्ति हुने स्वास्थ्य सेवा विभागबाट आश्वासन प्रप्त भएको छ,’ उनले भने ।

डा. अवस्थीका अनुसार सोमबार प्राप्त भएका स्वास्थ्य सामग्रीहरुमा गाउन, एन ९५ मास्क, सर्जिकल मास्क, थर्मोमिटर र ग्लब्स छन् । ‘प्रदेशका सबै स्थानीय तहलाई पुग्नेगरी १ सय थर्मोमिटर माग गरेका थियौं,’ डा. अवस्थीले भने, ‘१० वटा मात्र आयो, त्यस्तै गाउन १ हजार ३० थान, एन ९५ मास्क ९ सय ६० थान, ग्लब्स २० हजार थान र सर्जिकल मास्क १० हजार थान रहेको छ ।’

डा. अवस्थीले सुदूरपश्चिमबाट माग गरे बमोजिमको संख्यामा सामग्री आइनपुगेको भए पनि प्रदेश सरकारले पनि आवश्यक पर्ने स्वास्थ्य उपकरण र सामग्री खरिद गर्ने तयारी गरिरहेको बताए । उनले कोरोना भाइरस संक्रमणको शंका रहेकाहरुको स्वाब परीक्षणका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा पिसिआर मेसिन खरिद प्रकृया सुरु भएको जानकारी दिए । ‘यस्तै चीनबाट आएका ४ वटा पिसिआर मेसिनमध्ये एउटा सुदूरपश्चिम प्रदेशलाई उपलव्ध गराइने स्वास्थ्य सेवा विभागबाट आश्वासन दिइएको छ,’ डा. अवस्थीले भने ।

सोमबार आइपुगेका सामग्रीहरु बुधबारदेखि सुदूरपश्चिमका ९ वटै जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रसम्म पुर्‍याउने तयारी सुरु भएको डा. अवस्थीले जानकारी दिए ।

प्रकाशित : चैत्र १७, २०७६ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?