कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातासम्म ‘होरी’

गणेश चौधरी

टीकापुर — पुरुषहरू ढोल बजाउँदै छन् । त्यसकै तालमा महिला र पुरुष समूह हाते रुमाल हल्लाउँदै मौलिक पोसाकमा ‘होरी’ नाच्दै छन् । कैलालीको कठरिया थारु समुदायका घर आँगनमा यतिबेला होरी नाचको रौनक छाएको छ ।

सातासम्म ‘होरी’

होलीका दहनपछि सुरु हुने यो नाच कम्तीमा एक सातासम्म चल्ने जोशीपुर गाउँपालिका–३ लक्कडका गुरुवा हरिसिंह कठरियाले बताए । ‘गाउँका देउताको पूजापाठ गरी नाच सुरु हुन्छ,’ उनले भने, ‘गाउँका सबैका घरमा गएर यो नाच देखाउँछौं ।’


हिन्दू समुदायका अन्य जातिले मान्ने होली पर्व सकिए पनि कठरिया थारुहरूको होरी भने अझै चलिरहेको छ । यो समुदायले होलिको आठौं दिनसम्म ठार्मा, मिचुवा, छुट्टा र खिचडी होरी नाच नाच्ने गरेको असबहादुर कठरियाले जानकारी दिए । उनले भने, ‘आठौं दिनमा मात्र हामी होलीको रङ अबिर तथा हिलो खेल्छौं । अरु दिन नाचमै व्यस्त रहन्छौं ।’ घरघरमा होरी नाच्न जाँदा प्रत्येक घरकाले आफ्नो गच्छेअनुसार चामल तथा नगद दानदक्षिणा दिने उनले सुनाए ।


असबहादुरका अनुसार आठौं दिनमा गाउँको देउथानमा गुरुवाले पूजापाठ गर्छन् । संकलित रकम र चामलबाट होरी नाच सकिएको अवसरमा खानपान गरी रमाइलो गरिन्छ । सामान्यतया गाउँमा मात्र यो नाच नाचिने भए पनि अरु गाउँकाले पनि होरी नाच्न बोलाएमा जाने गरेको कठरिया थारुहरू बताउँछन् ।


कठरिया थारुहरूका लागि यो नाच प्रमुख भएको जोशीपुर गाउँपालिका–३ का वडाध्यक्ष किशोर कठरियाले बताए । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो नाचका बारेमा नयाँ पुस्ताले भने खासै चासो नलिएको उनको भनाइ छ । उनले भने, ‘नयाँ पुस्ता आधुनिक हिन्दी र नेपाली गीतमा रमाउने गरेको पाइन्छ ।’ कठरिया समुदायको बसोबास रहेको कैलाली, कञ्चनपुर र बर्दिया लगायतका जिल्लामा यो नाच नाचिने गरेको उनले जानकारी दिए ।


सुदूरपश्चिम सरकारले कैलाली र कञ्चनपुरमा बसोवास गर्ने रानाथारु समुदायको ‘खखडेहरा’ पर्वका अवसरमा मंगलबार दुवै जिल्लामा बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र ४, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?