कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यालय न कर्मचारी

अधिकांश स्थानीय तहका कार्यालयहरू महँगो भाडा तिरेर निजी घरमा सञ्चालनमा छन् । कर्मचारी अभावमा एउटै सचिवलाई धेरै वडाको जिम्मेवारी दिइएको छ  ।
कतिपय वडामा एचए, अहेबले सचिवको काम गरिरहेका छन् । यहाँका स्थानीय तहहरू गठन भएको ३ वर्ष पुग्नै लाग्दा पनि जसोतसो तंग्रिनमात्रै खोजिरहेका छन् ।
मेनुका ढुंगाना

अछाम — सानो कोठामा छन् कर्मचारीका लागि दुई वटा डेस्क र कागजात राख्न दराज । सिफारिस, जन्म दर्ता, विवाह दर्ता र पञ्जिकरणलगायत कामका लागि वडा कार्यालयमा आएका सेवाग्राही कोठाभित्रै पस्छन् । एकैपटक २/३ जना सेवाग्राही पसे भने सेवा प्रवाहमा अप्ठ्यारो हुने गरेको कर्मचारी बताउँछन् ।

कार्यालय न कर्मचारी

ढकारी गाउँपालिका–१ कार्यालयको अवस्था देखेर हालसालै मात्र समायोजन भई आएका नयाँ कर्मचारी अन्योलमा छन् । ‘वडा कार्यालयमा कम्प्युटर छैन । बस्नलाई कुर्सी छैन । जसोतसो काम चलाइरहेका छौं,’ उक्त वडाका नायब सुब्बा नविन रिमालले भने, ‘पुरानो दराजमा राखेका कतिपय कागजात त मुसाले काटेको छ ।’ उनका अनुसार व्यवस्थित भवन नभएका कारण वडा कार्यालय सञ्चालन गर्न कठिनाइ भएको छ ।


जनप्रतिनिधिको पहिलो प्राथामिकता सवारी साधन, सडक निर्माणलगायत अन्य योजनामा परेकाले स्थानीय तहका भवन निर्माणमा ध्यान जान सकेको छैन । अधिकांश स्थानीय तहका कार्यालयहरू महँगो भाडा तिरेर निजी घरमा सञ्चालन भइरहेका छन् । भाडामा लिइएका साँघुरो घरबाट कार्य सञ्चालन गर्न असजिलो भएको रिमालले गुनासो गरे । पूर्वाधार नभएकाले सेवा प्रवाहमा कठिनाइ भएको स्वीकार्छन् चौरपाटी गाउँपालिका अध्यक्ष हर्क साउद । ‘गाउँपालिकाको आफ्नै भवन नभएकाले घर भाडामा लिएर काम चलाइरहेका छौं,’ साउदले भने, ‘सात वटामध्ये चार वडा कार्यालय भाडाका घरमा छन् ।’


सदरमुकामसमेत रहेको मंगलसैन नगरपालिकाको पनि आफ्नो भवन छैन । तत्कालीन मंगलसैन गाउँ पञ्चायत, मंगलसैन गाउँ विकास समितिको कार्यालय सञ्चालन भएको भवनमा अहिले नगरपालिकाको कार्यालय स्थापना गरिएको छ । वडा नम्बर ३, ४ र ५ का कार्यालयहरूले अहिले पनि नगरपालिका भएकै भवनबाट सेवा दिइरहेका छन् । सेवाग्राहीको भिडले काममा असजिलो भएको वडा नम्बर ५ का वडाध्यक्ष हरिप्रसाद ढुंगानाले बताए ।


भवनलगायत पूर्वाधार अभावले तीनवटै वडाबाट छिटोछरितो सेवा दिन गाह्रो भएको वडाध्यक्षहरू बताउँछन् । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरेअनुसार जोस, जाँगरले काम गर्न कठिनाइ भएको ढुंगानाको भनाइ छ । ‘कार्यालयमा उभिने ठाउँ नै हुँदैन,’ उनले भने, ‘मैले वडासचिव त पाएको छैन, कार्यालय त अझ परको कुरा ।’ सबै वडाध्यक्ष एउटै कोठामा बसेर काम गर्दा काममा अलमल हुने उनले सुनाए । १४ वडा रहेको मंगलसैन नगरपालिकामा पाँच जना मात्रै सचिव छन् । सबै वडामा पालो मिलाएर सचिवहरू जाने गरेका छन् । यसले कार्य र समय व्यवस्थापन गर्न हम्मे–हम्मे पर्ने गरेको उनीहरू बताउँछन् ।


भाडामा सञ्चालन भएका वडा कार्यालय पुराना र साँघुरा छन् । ‘बाहिरबाट नयाँ मान्छे आए कार्यालय हो भन्ने नै पत्याउँदैनन्,’ मंगलसैन–१३ का अध्यक्ष तेजबहादुर भण्डारीले भने, ‘कुर्सी राखेर तीन जनासमेत बस्न मिल्दैन ।’ निर्माण सुरु भएको पाँच वर्षसम्म मंगलसैन नगरपालिकाको भवन बनेको छैन । भवन अभावकै कारण जिल्लाका सबै वडामा सेवा दिन चुनौती थपिएको अध्यक्षहरूको गुनासो छ । स्थानीयले भने कार्यालयको व्यवस्थापन गर्न नसक्ने भन्दै जनप्रतिनिधिको कार्यक्षमतामाथि नै प्रश्न उठाउन थालेका छन् । ‘जनतालाई सेवा दिने ठाउँ कति सजिलो छ भन्ने कुरा जनप्रतिनिधिलाई महसुस नै भएको छैन । आफ्नै सुविधामा रमाइरहेका छन्,’ मंगलसैन–१२ का उमेश रावलले भने ।


कर्मचारी अभाव, जनप्रतिनिधि अन्योलमा

स्थानीय तहमा कर्मचारी अभाव हुँदा गाउँसभा तथा नगरसभा समयमा सम्पन्न हुन सकेका छैनन् । कर्मचारी अभावले प्रशासनिक सेवा, सिफारिसलगायतका काम प्रभावित छन् । विकासे निकायले प्रवाह गर्ने सेवा सुविधालाई पनि समयमै निरन्तरता दिन सकेका छैनन् । अछामका १० स्थानीय तहमध्ये पञ्चदेवल विनायक नगरपालिकाका १० वडामा एक जना पनि सचिव छैनन् । सचिव नहुँदा कामकाज ठप्प भएको नगर उपप्रमुख अम्बिका चलाउनेले बताइन् । कर्मचारी अभाव हुँदाहुँदै पनि लोक सेवा आयोगमा माग गर्न अलमल भएको उनको भनाइ छ ।


‘नगरपालिकामा भएका कर्मचारी अन्य ठाउँमा समायोजन भएर गए । तर, यहाँ दुर्गम भनेर कोही आउन चाहँदैनन्,’ उनले भनिन् । जनप्रतिनिधिले नै कर्मचारीको काम गरिरहेको चलाउने बताउँछिन् । ‘हाम्रो अध्ययन, बुद्धि, विवेकले भ्याएसम्म कर्मचारीले गर्ने काम गरेका छौं । नगरपालिकामा पनि निमित्त कार्यालय प्रमुख छन् ।


अहिले नगरपालिका कर्मचारीविहीन जस्तै भएको छ,’ चलाउनेले दुखेसो पोखिन् । उनका अनुसार नगरपालिकाका १० वटै वडामा स्वास्थ्य र कृषितर्फका कर्मचारी मात्र छन् । स्वास्थ्यका एचए, अहेबले वडासचिवको काम गरिरहेका छन् ।


लेटरप्याड र स्टाम्प परिवर्तन भए पनि कार्यशैली पुरानै हुँदा सेवाग्रहीहरू समयमै छिटोछरितो सेवा पाउनबाट वञ्चित भएका छन् । नयाँ राज्य प्रणाली र अनुभवका कारण जनप्रतिनिधि पनि अलमलमा परेको जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर बताउँछन् । वडासचिव कार्यालयमा उपस्थित नहुँदा कामकाज गराउन आउने सेवाग्रहीहरू रित्तो हात घर फर्किनु परेको गुनासो आफूकहाँ पटक–पटक आउने गरेको उनले सुनाए । ‘स्थानीय तहले गर्ने काम चुस्तदुरुस्त, पारदर्शी हुनुपर्छ भन्ने आवाज सबै ठाउँबाट उठ्छ । तर, जनशक्तिको अभाव छ । बजेट निर्माण गर्ने बेला कर्मचारीको सहभागिता नै हुँदैन,’ उनले भने, ‘कतिपय नगरपालिकामा उपसचिवको दरबन्दी भए पनि अधिकृतस्तरका कर्मचारी उपलब्ध नहुँदा सचिवलाई निमित्त कार्यकारी बनाएर पठाइएका छौं ।’

प्रकाशित : फाल्गुन २४, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?