कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुल्दैनन् कुष्ठरोगी

साँघुरो सामाजिक सोंच, लज्जा, जनचेतनाको अभाव, अन्धविश्वासलगायतका कारण बिरामीले खुलेर उपचार गराउँदैनन् 
मेनुका ढुंगाना

(अछाम) — घरबाहिर उनी हत्तपत्त निस्कँदैनन् । कुष्ठरोग देखिएपछि मंगलसैनका नरबहादुर (नाम परिवर्तन) लाई गाउँघरमा खुलेर बोल्नसमेत अफ्ठेरो अवस्था छ । उमेरले ६२ वर्ष पूरा भएका उनी अहिलेसम्म रोगबारे लुकेरै बसेका छन् र खुल्न पनि चाहँदैनन् ।

खुल्दैनन् कुष्ठरोगी

कुष्ठरोग प्रभावित व्यक्तिको घरमा इष्टमित्रले सम्बन्ध नराख्ने सामाजिक चलनका कारण उनी लुकेरै बस्न बाध्य भएका हुन् । ‘कुलको इज्जत जोगाउनको लागि आजसम्म लुकेरै बसेँ । जतिले थाहा पाएका छन्, उनीहरूबाट अपमानित भएर बाँच्नु परेको छ,’ उनले दुखेसो पोखे । नरबहादुर जस्तै गाउँघरमा धेरै यस्ता व्यक्ति पनि छन् जो कुल र परिवारको इज्जतका लागि आफ्नो रोग लुकाउँदै आएका छन् । कतिपयले उपचार त के समाजमा मुखसमेत देखाउँदैनन् ।

कुष्ठरोगलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आएको छैन । रोग लाग्ने बित्तिकै उपचार गर्नेहरू कम छन् । साँघुरो सामाजिक सोंच, लज्जा, जनचेतनाको अभाव, अन्धविश्वासलगायत कारण बिरामीहरू खुलेर उपचार गराउने वातावरण नभएको बताउँछन् । परिवार र समुदायबाट विभेद हुने भएकाले कुष्ठरोगीहरू खुलेर सार्वजनिक ठाउँ र कार्यक्रममा जान समेत हिच्किचाउने अवस्था रहेको मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहरा बताउँछन् ।


‘समाजमा अझै पनि कुष्ठरोगीलाई हेर्ने परमपरागत नजर बदलिएको छैन । वैवाहिक सम्बन्ध गाँस्नै नचाहने कुचलन छ,’ उनले भने, ‘राजनीतिक परिवर्तन भए पनि सामाजिक परिवर्तन हुन सकेको छैन । समाजमा यसलाई पाप गर्नेहरूलाई लाग्ने रोगको रुपमा हेरिन्छ ।’ उनका अनुसार कुष्ठरोगीहरूले शैक्षिक तथा रोजगारीका अवसरमा पनि न्यून अवसर पाउँछन् । सामाजिक संघसंस्थाहरूसँग सम्बन्ध र सम्पर्क न्यून हुन्छ । उनीहरूलाई छिमेक तथा साथीभाइबाट पनि समस्या परेका बेला खुलेर सहयोग हुँदैन ।


अछाममा ७४ जना कुष्ठरोगी

सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको देशको रुपमा घोषणा गरिए पनि रोगीको संख्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय अछामको तथ्यांकअनुसार जिल्लामा हाल ७४ जना कुष्ठरोगी छन् । १० स्थानीय तह भएको अछाममा तुर्माखाँद गाउँपालिकामा एक, बान्नीगढी जयगढमा दुई, ढकारीमा १२, मेल्लेखमा एक, चौरपाटीमा तीन र रामारोशन गाउँपालिकामा आठ जना कुष्ठारोगी भेटिएका छन् । नगरपालिकातर्फ मंगलसैनमा १९, साँफेबगरमा सात, कमलबजारमा दुई र पञ्चदेवल विनायकमा आठ जनामा यो रोग भेटिएको कार्यालयले जनाएको छ । उपचारको दायरामा आउनेको संख्या कम रहेको र धेरैजसो कुष्ठरोगी समाजको डरले रोग लुकाइ बस्ने गरेको जिल्ला स्वास्थ्य प्रमुख झनकराज ढुंगाना बताउँछन् । ‘अस्पतालमा उपचार गर्न छिटफुट रुपमा मात्रै आउँछन् । लुकेरै औषधि खानुपर्ने अवस्था छ,’ उनले भने, ‘लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । गाउँकै स्वास्थ्य संस्थामा औषधि माग्नेको संख्या पनि कम छ । औषधि खाएको थाहा पाए समाजले बहिष्कार गर्ने डर पनि हुन्छ ।’


आँखाले देख्न नसकिने ‘लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोगको बारेमा जनचेतना अभिवृद्धि गर्दै प्रत्येक घरमा पुगी रोगी खोज्ने अभियान सुरु गर्नुपर्ने स्वास्थ्यकर्मी सुझाउँछन् । कार्यालय प्रमुख ढुंगानाका अनुसार लाटो र फुस्रो दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखिने कुष्ठरोगका लक्षण हुन् । यस रोगको औषधि नेपालमा निःशुल्क पाइन्छ र नियमित सेवन गर्नाले रोग निको पनि हुन्छ । कुष्ठरोगको बारेमा परम्परागत दैवी अभिसाप तथा वंशाणुगत भन्दै समाजमा अफवाह फैलाइँदा रोगको कारणभन्दा सामाजिक डरको कारणले मान्छेहरूमा त्रास फैलिएको उनको बुझाइ छ । ‘यसका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक देखिन्छ,’ उनले भने ।


कुष्ठरोगीलाई समाजले विभेद गर्ने गरेको भए पनि कानुनी प्रावधानअनुसार न्याय तथा समान व्यवहार पाउनुपर्ने अधिकारकर्मीहरू बताउँछन् । संविधानले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रदान गरे पनि उनीहरूले समाजमा खुलेर जीवन बिताउन सक्ने अवस्था छैन ।

प्रकाशित : फाल्गुन १०, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?