कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब बाह्रै महिना केरा उत्पादन

कान्तिपुर संवाददाता

कञ्‍चनपुर — बाह्रै महिना केरा उत्पादन गर्न कैलाली र कञ्चनपुरका कृषक अग्रसर भएका छन् । विगतमा वर्षे सिजनमा मात्रै केरा उत्पादन हुने गरेकोमा अब बाह्रै महिना पुग्नेगरी उत्पादनको तयारी गरिएको हो 

अब बाह्रै महिना केरा उत्पादन

पछिल्ला वर्षमा केराको उत्पादनमा समेत वृद्धि भएको छ । कात्तिक, मंसिरसम्म मात्रै पुग्ने यहाँको वर्षे उत्पादन फागुनसम्म पुग्न थालेको छ । ‘अहिलेसम्म पनि यहींको केरा बजारमा आइरहेको छ,’ वनदेवी केरा फार्म कृष्णपुरका सञ्चालक अर्जुन जेठाराले भने, ‘कैलाली र कञ्चनपुरमा अहिले पनि पर्याप्त केरा उत्पादन भइरहेको छ । यहाँका किसानले बाह्रै महिना उपलब्ध हुनेगरी केराका बिरुवा रोपेका छन् ।’ उनका अनुसार अहिले फाटफुट मात्रामा भारतबाट केरा आयात भइरहे पनि अधिकांश बजारमा जिल्लामै उत्पादित केरा उपलब्ध भइरहेको छ । अन्य क्षेत्रको उत्पादन सकिन लागे पनि टीकापुरमा भने अहिले पनि केरा उत्पादन भइरहेको छ ।


गत जेठमा आएको विनासकारी हावाहुरीका कारण केराको उत्पादन केही ढिलो भएको थियो । २० बिघामा केरा खेती गरिरहेका जेठाराले पुस/माघमै उत्पादन हुनेगरी केरा रोपेका थिए । ‘आउँदो वर्षदेखि बाह्रै महिना यहींको उत्पादनले पुग्नेगरी काम गरिरहेका छौं’, अर्का केरा उत्पादक कृषक सुरेन्द्र चौधरीले भने, ‘केराको बिरुवा पनि उत्पादन गरेका छौं ।’ उनले हिउँदमा उत्पादन भित्र्याउन फागुनमै बिरुवा रोप्नुपर्ने बताए । १२ हजार बिरुवा फागुनमै रोप्ने तयारी गरेको उनको भनाइ छ । चैतसम्म पुनः थप एक लाख बिरुवा उत्पादन हुने उनी बताउँछन् । विगतमा जेठको अन्तिम र असारमा केरा रोप्ने गरिन्थ्यो । केराको बिरुवा रोपेको १०–११ महिनामा उत्पादन हुन्छ ।


पछिल्लो समय स्थानीय स्तरमै केराका बिरुवा उत्पादन भइरहेको छ । केरा व्यवसायी तथा कृषकले टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गरिरहेका हुन् । सिँचाइका लागि थोपा सिँचाइ प्रविधिको उपयोग बढेको छ । ‘हाल हिउँदमा समेत केरा उत्पादन भइरहेको छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, ‘भारतबाट हुने आयात केही हदसम्म भए पनि कम भएको छ ।’


कञ्चनपुरमा ३ सय हेक्टरमा केरा खेती भइरहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा केराको उत्पादकत्व प्रतिहेक्टर २१ दशमलब ६ मेट्रिक टन छ । कैलालीमा साढे ८ सय हेक्टरमा केरा खेती भइरहेको छ । यहाँ केराको उत्पादकत्व प्रतिहेक्टर १२ दशमलब ७ मेट्रिक टन छ ।


उत्पादन बढेसँगै कञ्चनपुरमा चिस्यान केन्द्रसमेत स्थापना हुन थालेका छन् । यसका लागि कृषकलाई सरकारी अनुदान उपलब्ध गराइएको छ । हाल कञ्चनपुरमा ४ वटा चिस्यान केन्द्र सञ्चालनमा छन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?