कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

द्वन्द्वकालका यौन हिंसापीडित महिला भन्छन्- पीडा लुकाउन सकियो, न भन्न

द्वन्द्वकालका यौन हिंसापीडित महिला भन्छन्– शान्ति स्थापनातर्फ मोडिएको दशक बढी भइसक्दा पनि द्वन्द्वकालमा यौन हिंसा बेहोरेका महिलाले न कुनै क्षतिपूर्ति पाएका छन्, न आफ्नो पीडा कतै राख्न
भवानी भट्ट

कञ्चनपुर — सशस्त्र द्वन्द्वकालमा आफूमाथि भएको यौनजन्य हिंसाका बारेमा उनी खुलेर कुरा गर्न सक्दिनन् । न त बिर्सन नै सकेकी छिन् । उक्त घटनाबारे जानकार केही छिमेकीबाट हुने गरेको अपमान र दुर्व्यवहारका कारण शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरकी सीता चौधरी (नाम परिवर्तन) लाई झनै पीडा थपिन्छ ।

द्वन्द्वकालका यौन हिंसापीडित महिला भन्छन्- पीडा लुकाउन सकियो, न भन्न

घटना २०५८ चैत १२ को हो । सीता आफ्ना श्रीमान्सँग लक्ष्मीपुरबाट शुक्लाफाँटा नगरपालिकाकै पिपलाडीस्थित माइती घर जाँदै थिइन् । बाटोमा बसेका सुरक्षाकर्मीको टोलीले दुवैलाई रोकेर सोधपुछसँंगै जाँच गरेर छाडे । केही अगाडि पुगेपछि गाडीमा थप दुई सुरक्षाकर्मी आए र पुनः सोधपुछ तथा जाँच गरेर छाडिदिए । ‘हिँडेर केही पर पुगेका मात्र थियौं, गाडीमा रहेका दुवै सुरक्षाकर्मीले फिर्ता बोलाए, तिमीहरू माओवादी हौ त्यतिकै कहाँ जान पाइन्छ भन्दै गाली गर्न थाले,’ सीताले भनिन्, ‘हामीले जति भने पनि सुनेनन् ।’ उनका अनुसार दुवै जनालाई वस्ती नजिकै रहेको ताल छेउमा लगिएको थियो । श्रीमान्को छातीमा बन्दुक तेर्स्याएर अलि पर लगेर आफूमाथि जबरजस्ती करणी गरिएको उनले सुनाइन् ।

‘दुवैले पालैपालो जबरजस्ती गरे, मैले रोइकराई गरे पनि उनीहरूले सुनेनन् । एक घण्टापछि मात्रै हामीलाई छाडे, यो कुरा कहीँं भन्यौ भने घरमै आएर गोली ठोक्छु भन्दै धम्क्याए,’ उनले आफूमाथि भएको ज्यादती सुनाइन् । उक्त घटनापछि उनी केही समय बिरामी पनि परिन् । ‘ढाड दुख्ने, तल्लो पेट दुख्ने, गुप्तांगबाट सेतो पानी बग्ने लगायतका समस्या देखिए,’ उनले भनिन्, ‘धनगढी र महेन्द्रनगरमा पुगेर यसको उपचार गराएँ ।’ लामो समय भइसक्दा पनि उनले आफूमाथि भएको हिंसाबारे सहजै सबैलाई भन्न नसक्ने बताउँछिन् ।

‘मानवअधिकारसम्बन्धी संघसंस्थाका प्रतिनिधिलाई आफ्ना पीडा राखेकी छु,’ उनी भन्छिन्, ‘आफ्नै आँखाअगाडि घटना देखेका श्रीमान्ले भने राम्रो साथ दिएका छन् ।’

२०५९ पुसतिरको कुरा हो । लालझाडी गाउँपालिकाको देखतभुलीकी देवकी (नाम परिवर्तन) ६ महिनाको छोरा काखीमा च्यापेर सुतेकी थिइन् । श्रीमान् रोजगारीका लागि भारतमा थिए । बाहिरबाट कसैले ढोका ढकढक्यायो । ‘नजिकै माओवादीको कार्यक्रम छ, किन नगएको’ भन्ने आवाज सुनियो । डराएर धेरै बेरसम्म देवकीले ढोका खोलिनन् । ‘उसले लात्ताले हानेर ढोका फोडेर भित्र पस्यो,’ देवकीले उक्त घटनाबारे स्मरण गरिन्, ‘हातमा खुकुरी र कांँधमा बन्दुक झुन्ड्याएको थियो । माओवादीलाई सहयोग नगर्ने भन्दै खुब धम्कायो । कार्यक्रममा जानुपर्छ भन्दै ओछ्यानबाटै तान्न थाल्यो । दूधे बालक भएकाले आफू रातको समयमा कार्यक्रममा जान सक्दिनँ भनें । मुख ढाकेको उसले जानैपर्ने र नगए ठीक नहुने भन्न थाल्यो ।’

‘ओछ्यानबाट जबरजस्ती तानेर बाहिर लग्यो, बच्चा रुन थाल्यो,’ देवकीले थपिन्, ‘आँगनमा पुगेपछि कार्यक्रम भएतिर भन्दा पनि गहुँबारीतिर लग्यो, त्यहीं जबरजस्ती गरेर गयो ।’ उनलाई पनि घटनाबारे कसैलाई भने घरमै आएर गोली ठोक्ने धम्की दिइएको थियो । देवकीको घरभन्दा केही पर विद्यालयमा तत्कालीन नेकपा (माओवादी) को कार्यक्रम चलिरहेको थियो । घटनापछि देवकीले सोही स्थानमा पुगेर आफूमाथि भएको हिंसाबारे माओवादीका कार्यकर्तालाई बताइन् । ‘हामी पत्ता लगाएर कारबाही गर्छौ भनेका थिए, तर अहिलेसम्म मैले केही थाहा पाएकी छैन,’ उनले भनिन्, ‘व्यथा पोख्न कहाँ जाउँ ? अब कसैलाई भनेर पनि केही हुने देखिँदैन ।’ सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन त दिएकी छिन् तर दोषीमाथि कारबाही हुनेमा भने उनी विश्वस्त छैनन् ।

सशस्त्र द्वन्द्व सकिएको १४ वर्ष पुगिसकेको छ । द्वन्द्वका क्रममा घाइते भएका, बेपत्ता पारिएका र मृतकका कतिपय परिवारले विभिन्न चरणमा राहत पाएका छन् । उनीहरूले खुलेर आफ्ना पीडा राखिरहेका पनि छन् । तर यौन हिंसा पीडितहरूले भने न कुनै क्षतिपूर्ति पाएका छन्, न त आफ्नो पीडा कतै राख्न नै । ‘हाम्रो पीडा न लुकाउन सकियो, न कतै भन्न,’ पिपलाडीकै अर्की पीडित महिलाले भनिन्, ‘मानवअधिकार आयोगदेखि सत्य निरुपण तथा छानबिन आयोग लगायतमा निवेदन त दिएका छौं, तर हाम्रो पीडा कसैले सुनिदिएन ।’ उनी पनि द्वन्द्वकै बेला सुरक्षाकर्मीबाट पीडित भएकी हुन् ।

एडभोकेसी फोरम कञ्चनपुरका अनुसार १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा माओवादी र सुरक्षाकर्मीबाट कञ्चनपुरमा यौन हिंसाबाट पीडित १६ जना सम्पर्कमा आएका छन् । केही वर्षअघि उनीहरूले सामूहिक रूपमा आफ्ना पीडा साट्न समूह बनाएका थिए । गोप्य रुपमै छलफल तथा बैठक गर्ने गर्थे । तर गाउँलेहरूले थाहा पाएर दुर्व्यवहार गर्न थालेपछि उक्त कार्य बन्द भएको पीडितहरू बताउँछन् । ‘द्वन्द्वका क्रममा यौन हिंसा पीडितलाई द्वन्द्व पीडितमै गणना गरिएको छैन,’ एडभोकेसी फोरम कञ्चनपुरका संयोजक वीरबहादुर विष्टले भने, ‘राहत र क्षतिपुर्तिका त कुरै छैनन्, उनीहरू आफ्ना कुरा खुलेर भन्न सक्ने अवस्थामा छैनन् ।’ उनका अनुसार यौन हिंसापीडित महिलाहरूमा विभिन्न किसिमका शारीरिक समस्यासमेत देखिएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?