कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भलमन्सा चुनावमा पार्टीका उम्मेदवार

‘भलमन्सा छान्न राजनीतिक पार्टीकै जस्तो चुनावको झल्को आउने गरेको छ । पार्टीकै उम्मेदवारले जित्न थालेका छन् । यसले भलमन्साको गरिमामा असर परेको मात्र हैन, थारूको परम्परागत थिति नै बिग्रिन सुरु भएको छ ।’
मोहन बुढाऐर

थापापुर, कैलाली — थारू बस्तीमा भलमन्सा तथा बडघर छनोट भइरहेको छ । माघ महिनाभर मनाइने माघी उत्सवमा थारूले गाउँको मुखियाजस्तै भलमन्सा र बडघर छान्ने चलन छ । पहिले गाउँको जान्नेबुझ्ने बुज्रुगलाई सर्वसम्मत ढंगले भलमन्सा र बडघरको पगरी थमाइन्थ्यो ।

भलमन्सा चुनावमा पार्टीका उम्मेदवार

‘हरेक वर्षको माघीपछि भलमन्सा र बडघरको गाउँमा ‘खोजनी–बुझनी’ (समीक्षा) हुन्थ्यो,’ कैलाली थापापुरका ६५ वर्षीय सुखीराम चौधरीले भने, ‘राम्रो गरेको छैन भने बदली हुन्थ्यो ।’


उनले थारू समुदायभित्रको कलह र विवाद साम्य पार्नेदेखि सामूहिक कार्यको खटनपटन गर्न सक्ने गाउँको बुज्रुगलाई बनाउने परम्परागत चलन रहेको बताए । उनका अनुसार आफ्नो पराया नभन्ने, सुखदुःखमा साथी बन्न सक्ने, गाउँमा पर्ने मुद्दामामिलामा सघाउन सक्ने भलमन्सा वर्षौंसम्म पदमा दोहोरिरहन्थे ।


सुखीराम एउटै मान्छे २०/३० वर्षसम्म गाउँका भलमन्सा भएर बसेको बताउँछन् । ‘लामो समय दोहोरिने भलमन्साले समाज र घरलाई नफुटाई राखेको हुन्छ,’ उनले भने, ‘त्यही परिवारमा पुस्तैनी रूपमा भलमन्साको पगरी सर्दथ्यो ।’ तर, उनी अहिले भलमन्सा छनोटमा परम्परागत तरिका देख्दैनन् । छनोट भएकामा भलमन्सामा आवश्यक गुण पनि पाउँदैनन् ।


थापापुरका थारू बुद्धिजीवी गंगा चौधरीले पछिल्लो समय भलमन्सा छनोटमा राजनीतिले प्रवेश पाएको बताए । ‘राजनीतिक पार्टीका उम्मेदवार जस्ता भएर भलमन्सा छान्न चुनावै हुन थालेको छ,’ उनले भने, ‘पार्टीका उम्मेदवारले पो जित्न थालेका छन् ।’ उनले थारू समाजभित्र भलमन्सा र बडघर पदको छनोट परम्परागत थिति बसाउन चलिआएको बताए । राजनीतिको प्रवेशले भलमन्साको गरिमामा मात्रै असर परिरहेको छैन, यसले थारूको परम्परागत चलन बिगार्न सुरु गरेको जनाए ।


‘यो कुनै लाभको पद पनि थिएन,’ अर्का स्थानीय प्यारा थारू डगौराले भने, ‘यसको क्षेत्राधिकार पनि थारू समुदायभित्र हो ।’ राजनीतिक रूपमा सक्रिय थारू कार्यकर्तालाई विभिन्न पार्टीले प्रयोग गर्दा भलमन्सा छनोट प्रक्रियामा राजनीति घुसेको उनको बुझाइ छ । उनले केही थारू बुद्धिजीवीसमेत भलमन्सा तथा बडघर छान्ने चलनमा हेरफेर गर्न संलग्न र सक्रिय भएको आरोप लगाए । उनका अनुसार कैलालीको भजनी क्षेत्रमा भलमन्सा संघ गठन गरेर हरेक माघीमा छनोट हुने भलमन्सा तथा बडघरको कार्यकाल ३ वर्षका लागि लम्ब्याइएको छ ।


केही महिनाअघि कैलालीको भजनी नगरपालिकाअन्तर्गत ५३ वटा थारू बस्तीका भलमन्सालाई आबद्ध गरेर संघ बनाइएको छ । संघका अध्यक्ष कुवेल चौधरीले भलमन्साको समूहलाई औपचारिक एक संगठनका रूपमा विस्तार गर्न नै संघ बनाइएको बताए । तर, यो संगठनले राजनीतिक विचार नबोक्ने उनको दाबी छ । उनका अनुसार संघले एक विधान तयार पारेको छ । विधानअनुसार भलमन्साको कार्यकाल अबदेखि ३ वर्ष रहने व्यवस्था गरिएको छ । ‘तीनवर्षे कार्यकाल रहने भए पनि ‘खोजनी–बुझनी’ भने हरेक माघीमा गरिनेछ,’ उनले भने, ‘यो भनेको अनुमोदन हुने व्यवस्था हो ।’


अध्यक्ष चौधरीले समाजका बहुमत व्यक्तिले माघीमा भलमन्सा राम्रो नभएको भनेर प्रस्ताव गरेमा पद खारेज हुने स्पष्ट पारे । समयअनुसार भलमन्सा प्रथालाई विकास गर्न आवश्यक भएर संगठनका रूपमा परिणत गरिएको उनको भनाइ छ । तर, थारू बुद्धिजीवी गंगा चौधरीले संगठनका रूपमा विकास गरे स्वतः राजनीतीकरण हुने दाबी गरे । यसलाई रोक्न आवश्यक रहेको उनको माग छ । ‘थारू समाजभित्रको थिति बसाउन जुन प्रकारको परम्परागत प्रजातान्त्रिक व्यवस्था छ, त्यसलाई निरन्तरता दिनुपर्छ,’ गंगाले भने, ‘भलमन्साको अवधि एक वर्ष नै हो । समाजबाट पुनः अनुमोदित भएर दशकसम्म भलमन्सा बस्न सक्छन् । अर्को वर्ष हट्न पनि सक्छन् ।’


उनले अहिले राजनीतिक आस्थाका आधारमा भइरहेको भलमन्साको चुनावले योग्य भलमन्सा छनोट हुन नसकेको दाबी गरे ।

प्रकाशित : माघ १५, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?