कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ नफलेपछि नर्सरी

तृप्ति शाही

बैतडी — ०६० अघि सुख्खा फलफूल विकास केन्द्रको सुख्खा डाँडामा प्रशस्तै स्याउ फल्थ्यो । हिमपात भइरहने भएकोले उत्पादन राम्रो हुन्थ्यो । यहाँ फलेको स्याउ तराईसम्मै पुग्थ्यो । तर अहिले यहाँ स्याउ देख्न पाइँदैन । बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित केन्द्रमा फलफूलका बिरुवा उत्पादन हुँदै आएको छ ।

स्याउ नफलेपछि नर्सरी

हिउँ कम पर्ने र परिहाले पनि केही दिनसम्म मात्र रहने भएकोले यहाँ स्याउ फल्न छोडेको कृषि प्राविधिक बताउँछन् । केन्द्रमा फलेका स्याउको स्वाद अहिले पनि सम्झनामा रहेको दशरथचन्द नगरपालिका–४ की वसन्ती क्षेत्रीले बताइन् । कुनै समय प्रतिकेजी ८ आनादेखि ६ रुपैयाँसम्ममा स्याउ किनेर खाएको दशरथचन्द–१, मुस्याचौरका देवदत्त भट्टले बताए । उनले भने, ‘निकै रसिसो, ठूला दाना भएका स्याउको माग बजारमा धेरै थियो । तर, बिस्तारै उप्पादनै हुन छोड्यो । अहिले त स्याउका बोट मात्र देख्न पाइन्छ ।’


०१९ मा बागवानी विकास केन्द्रको स्थापना भयो । पछि यसलाई फलफूल विकास केन्द्र नाम दिइयो । केन्द्रले स्याउ फल्न छोडेपछि विभिन्न फलफूलका बिरुवा उत्पादन गर्दै आएको छ । कलमी र बिजुमार्फत ओखर, स्याउ, नासपती, कागती, जैतुन, कागजी बदाम, आरु, आरुबखडालगायतका बिरुवाहरू उत्पादन गरिँदै आएको छ । सुख्खा फलफूल विकास केन्द्र ओखरका बिरुवा कलमीबाट उत्पादन गर्ने नेपालको पहिलो केन्द्र समेत हो । यहाँ बदामका बिरुवा पनि पाइन्छ । अहिले देशका विभिन्न जिल्लामा यहीँबाट बिरुवा लैजाने गरिन्छ । केन्द्रमा उत्पादन भएका बिरुवाको अन्य बजारमा अत्यधिक माग रहेको केन्द्रका निमित्त कार्यालय प्रमुख वरिष्ठ

बागवानी अधिकृत डम्मरसिंह भाटले बताए ।


बिरुवा बिक्रीबाट लाखौंको राजस्व उठ्ने गरेको छ । गत वर्ष १२ लाख रुपैयाँका फलफूलका बिरुवा बेचेको कार्यालयले यो वर्ष २० लाखका बिरुवा बिक्री हुने अनुमान गरेको छ । भाटका अनुसार कार्यालयले फलफूलका बोटसँगै वर्षे तरकारी खेती पनि गर्दै आएको छ । बन्दा, काउली, टमाटर खेती गर्ने गरिएको उनले बताए । सुख्खा डाँडामा वर्षाको पानी जम्मा गरेर राख्ने गरिएको र आवश्यक समयमा तरकारीमा सिँचाइ गर्ने गरिएको उनले जानकारी दिए । पानी संकलनका लागि १० वटा ट्यांकी छन् । ‘अब प्रदेश सरकारको लगानीमा बोरिङ प्रविधिमार्फत पानी ल्याउने तयारी छ । २२ लाख बजेट आएर टेन्डर भइसकेकोले छिट्टै काम सुरु हुन्छ,’ उनले भने ।


सिँचाइको सुविधा भएपछि तरकारी उत्पादनमा वृद्धि हुने उनको भनाइ छ । केन्द्रमा अहिले ७० जना कामदार दैनिक ज्यालादारीमा काम गर्छन् । नियमितसँगै सिजनको समयमा अन्य स्थानीयले समेत रोजगारी पाउने गरेका छन् । कार्यालयसँगै रहेका गाउँलेलाई आम्दानीको राम्रो स्रोत बनेको स्थानीय पुष्कर भट्टले बताए ।


कार्यालय आसपासका किसानले गुरुखोला, मुस्याचौर, सद्बाँझलगायत स्थानमा २४ वटा नर्सरी निर्माण गरेका छन् । उनीहरूले नर्सरीमा फलफूलका बिरुवा उत्पादनसँगै तरकारी खेती पनि गर्दै आएका छन् । केन्द्रका कर्मचारीले सहजीकरण गर्ने गरेकाले स्थानीय कृषकले निजी नर्सरी बनाएका हुन् । उनीहरूले उत्पादन गरेका बिरुवाले पनि राम्रो बजार पाएका छन् ।


एउटा सिजनमा ४ देखि ३० लाख रुपैयाँसम्म निजी नर्सरीबाट आर्थिक आम्दानी हुने गरेको छ । सुख्खा फलफूल विकास केन्द्रले गर्दा नर्सरी राम्रो आम्दानीको स्रोत भएको किसान पूर्णानन्द भट्ट बताउँछन् । यो वर्ष फलफूलकै बिरुवा बिक्रीबाट ५ लाखभन्दा बढी आम्दानी गरेको उनले सुनाए । आफूजस्तै २२ जना किसानले नर्सरी सञ्चालनमा ल्याएको भट्टको भनाइ छ ।

प्रकाशित : माघ १४, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?