टिपर र अटोले दुर्घटनाको जोखिम- सुदूरपश्चिम - कान्तिपुर समाचार

टिपर र अटोले दुर्घटनाको जोखिम

भवानी भट्ट

कञ्चनपुर — बिहीबार साँझ महेन्द्रनगरको भानु चोकमा टिपरको ठक्करबाट एक युवतीको घटनास्थलमै मृत्यु भयो । घटनालाई लिएर आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरे । केहीबेर उक्त क्षेत्र तनावग्रस्त बन्यो । लोडेड टिपर तीव्र गतिमा गुडाइएका कारण नै दुर्घटना भएको स्थानीय बताउँछन् । यद्यपि प्रहरीले उक्त दुर्घटनाको कारण पत्ता लागिनसकेको जनाएको छ ।

जेठ अन्तिम साता पूर्वपश्चिम राजमार्गकै महेन्द्रनगर–गड्डाचौकी सडकखण्डको बनगाउँमा एक्सकाभेटर र अटो एकआपसमा ठोक्किँदा अटोमा सवार ४ जनाको मृत्यु भएको थियो । उक्त घटनाले राजमार्ग क्षेत्रमा चल्ने अनियन्त्रित अटोको अवस्था दर्साउँछ ।

केही समयको अन्तरमा मुख्य राजमार्ग क्षेत्रमा भएका यी दुई घटना प्रतिनिधिमूलक मात्रै हुन् । यस अवधिमा राजमार्गमा धेरै दुर्घटना भएका छन् । चालकको लापरबाही, बढ्दो सवारी साधनको चाप र अनियन्त्रित गतिका कारण दुर्घटनाको संख्या बढ्दो रहेको प्रहरीको भनाइ छ । खोलानाला दोहनका लागि अनियन्त्रित रूपमा प्रयोग भइरहेका टिपर र यात्रु बोक्ने तीनपांग्रे अटोका कारण दुर्घटना बढेको स्थानीय बताउँछन् ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चालु आवको पुस मसान्तसम्म ३१ दुर्घटनामा १३ जनाको मृत्यु भइसकेको छ । ३३ जना घाइते भएका छन् । गत आवमा ६८ दुर्घटनामा ४५ जनाको मृत्यु र २२ जना घाइते भएका थिए । खासगरी महाकालीबाट निर्माण सामग्री ढुवानी गर्ने ट्याक्टर र टिपरका कारण गड्डाचौकीदेखि दैजीसम्मको राजमार्ग र झोलुंगे पुलदेखि महेन्द्रनगरसम्मको सडक दिनभर व्यस्त रहन्छ ।


कार्यालय जाने र छुट्ने समयमा सडकमा सवारीसाधनको चाप बढी हुँंदा पनि दुर्घटनाको जोखिम उच्च रहेको कञ्चनपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश केसी बताउँछन् । ‘सवारीसाधनको चाप दिन प्रतिदिन बढ्दो छ तर सडक त वर्षौंदेखि उही अवस्थाको छ,’ केसीले भने, ‘दुर्घटनाको मुख्य कारण यही हो ।’ उनका अनुसार चालकको लापरबाही र पैदल यात्रुमा चेतनाको कमीका कारण समेत दुर्घटना बढिरहेका छन् ।


मुख्य राजमार्ग तथा भित्री सडकमा समेत महाकालीबाट निर्माण सामग्री ढुवानी गर्ने टिपर र ट्याक्टरको लर्को देखिन्छ । यसले अन्य सवारी साधनलाई सडकमा गुड्न समस्या पर्ने गरेको व्यवसायी नै बताउँछन् ।


कार्यालय समयका बेला भए पनि निर्माण सामग्री ढुवानी गर्ने साधनलाई बजार तथा राजमार्गमा निषेध गर्ने वा वैकल्पिक बाटो प्रयोग गर्ने विषयमा बेला–बेलामा कुरा उठ्ने गरेको छ । ‘अटो र निर्माण सामग्री ढुवानीका साधनको गति नियन्त्रण गर्नु अति आवश्यक भइसकेको छ,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने, ‘कार्यालय समयमा बन्द गर्ने वा

वैकल्पिक बाटो प्रयोग गराउने भन्ने विषयमा सोच्नुपर्ने भएको छ ।’


उनका अनुसार टिपर र ट्याक्टरलाई गड्डाचौकी–दैजी र झोलुंगे–महेन्द्रनगर सडकखण्डमा कार्यालय समयमा तत्काल व्यवस्थापन गर्नुपर्छ । यी खण्डमा कार्यालय समयमा सवारी र पैदल हिँड्नेको भीडभाड हुने गर्छ । ग्रामीण भेगबाट बजार क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीसमेत साइकलमा आउने भएकाले सडकमा चाप बढ्छ ।


दुर्घटनाको जोखिम बढेकोले समयमै ट्राफिक व्यवस्थापन गर्नुपर्ने भीमदत्त नगरपालिका–१०, गड्डाचौकीका दीपक जोशीले बताए ।

कञ्चनपुर ट्राफिक प्रहरी प्रमुख केसीले कार्यालय समयमा बढ्दो सवारीसाधनको चाप व्यवस्थापनका लागि आवश्यक छलफल भइरहेको जानकारी दिए । निर्माण सामग्री ढुवानीका साधनलाई वैकल्पिक बाटो प्रयोग गराउने वा साँझ र बिहानको समयमा बन्द गराउने विषयमा सरोकारवालासँग छलफल गरेर आवश्यक निर्णय लिइने उनको भनाइ छ ।

प्रकाशित : माघ १२, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

महिलाको अगुवाइमा खानेपानी

२८ लाख बजेटको योजनाअन्तर्गत माडेगाउँका ४५ घरधुरीमा पानी पुर्‍याइँदै छ । यसैका लागि उनीहरु हरेक दिन पाइपलाइन खन्न, ढुंगा बोक्न र ट्यांकी बनाउन खटिन्छन् ।
तुलाराम पाण्डे

(नरहरिनाथ, कालीकोट) — नरहरिनाथ गाउँपालिका–३, माडेगाउँका महिलालाई अहिले खानेपानी योजनामा काम गर्न भ्याइनभ्याइ छ । बिहानै उठेर घरपरिवारलाई खाना पकाएर गाउँमा सञ्चालन भएको योजनाको पाइपलाइन खन्ने, ट्यांकी निर्माण गर्ने र ढुंगा बोक्ने काममा उनीहरूको व्यस्तता बढेको हो ।

९ सदस्यीय निर्माण समितिमा ७ जना महिला छन् । २१ लाख २० हजार रुपैयाँको लागतमा गाउँमा खानेपानी योजनाको काम भइरहेको छ । योजनामा ५ सय मिटर पाइपलाइन खनेर ट्यांकीसम्म पाइप गाड्ने काम सकिएको छ । सम्झौताअनुसार एक ठूलो ट्यांकी, ५ धारा वितरण ट्यांकी र ४२ घरधुरीमा एक–एकवटा धारा निर्माण गरिनेछन् । खानेपानी पुगेपछि माडेगाउँलाई पूर्ण सरसफाइयुक्त नमुना गाउँ घोषणा गर्ने योजना छ । ‘समितिको अगुवा आफै भएपछि सबै काम गर्नै पर्‍यो,’ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी अध्यक्ष दुर्गादेवी उपाध्यायले भनिन्, ‘पुरुषले महिला अध्यक्ष भएको मनबाटै स्वीकार्न सकेका छैनन् ।’ घरमा ट्युमरले थलिएका अपांग पति दशरथलाई स्याहारसुसार गरेर उनी दैनिक निर्माणको काममा जुटिरहेकी छिन् ।

नरहरिनाथमा महिला अध्यक्ष भएको यो पहिलो समिति हो । सचिवमा २५ वर्षीया हरिशोभा उपाध्याय र कोषाध्यक्ष कोइलादेवी उपाध्याय छन् । महिलाले नेतृत्व गरेको योजनामा गाउँका पुरुषले मुखले सहयोग गर्छौं भने पनि काममा सहयोग नगरेको समितिकी सदस्य सावित्री न्यौपानेले बताइन् । ‘जिते बजारबाट पाइप बोक्न पनि पुरुष गएनन्,’ उनले भनिन् ‘गाउँमै पानीको ट्यांकी बनाउन जान्ने सिपालु मिस्त्री भए पनि उनीहरूले महँगो दररेट मागेपछि बाहिरबाट मिस्त्री ल्यायौं ।’ उनका अनुसार जिल्ला दररेट प्रतिदिन ८ सय रुपैयाँ भए पनि स्थानीयले १ हजार २ सय रुपैयाँ मागेर असहयोग गरेका थिए ।

समितिले जेठ मसान्तसम्म आयोजना सक्ने सम्झौता गरेको छ । स्थानीयले प्रतिघरधुरी ५ हजार रुपैयाँ लगानी गर्नेछन् । पाइप ढुवानी र पाइपलाइन खनेवापत १ लाख ५० हजार रुपैयाँ समितिको खातामा आएर समुदायमा वितरण गरिसकेको कोषाध्यक्ष उपाध्यायले बताइन् । नरहरिनाथ–४, अदेलागाउँको पोखरी निर्माण उपभोक्ता समितिमा पनि यसपटक सचिव र कोषाध्यक्ष महिला रहेको वडाध्यक्ष नरबहादुर बोगटीले बताए । जिल्लाकै पहिलो खुला दिसामुक्त गाविस बनेको साविकको कुमालगाउँमा हेल्भेटासको सहयोगमा हुरेन्डेक नेपालले ‘एक घर, एक धारा अभियान’अर्न्तगत खानेपानी योजना सञ्चालन गरेको हो ।

सधैं महिलाले अवसर पाएनन् भन्ने गुनासो आउन थालेपछि खानेपानी तथा सरसफाइ योजनाको जिम्मा महिलालाई दिइएको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए । उनले महिला संलग्न भएको योजना पारदर्शीर् हुने भन्दै काम गुणस्तरीय हुने दाबी गरे । ‘सुरुमा त पुरुषले नै दाबी गरेका थिए,’ उनले भने, ‘महिलाले हामी रहन पाउनुपर्छ भनेर दाबी गरेपछि बल्लबल्ल सहमति भएको हो ।’ गाउँपालिकाले एक वर्षअघि जलकचहरीमा उपभोक्ता समितिमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व गर्ने प्रतिबद्धता गरिएको जानकारी दिए ।

प्रकाशित : माघ १२, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×