कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

चिनी मिललाई जहिल्यै उखु अभाव

भवानी भट्ट

(कञ्चनपुर) — कञ्चनपुरको दक्षिणी क्षेत्रका कृषकहरू पछिल्लो समय उखुखेतीतर्फ आकर्षित भएका छन् । यहाँ दुई वटा चिनी मिल स्थापना भएपछि उखुको माग बढेसँगै कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । यद्यपि, चिनी मिलहरूले भने आवश्यकताअनुसार उखु पाउन सकेका छैनन् । पर्याप्त उत्पादन नहुँदा मिलहरूले क्षमता अनुसार उखु पेल्न नपाएका हुन् । 

चिनी मिललाई जहिल्यै उखु अभाव

बेलौरीमा रहेको महाकाली सुगर मिल र पुनर्वासमा रहेको भागेश्वर सुगर मिलले वर्षेनि आवश्यकता अनुसार उखु नपाउँदा एक/डेढ महिना अगाडि नै मिल बन्द गर्नुपर्ने बताउँदै आएका छन् । दुवै मिलले एक सिजनमा २५ लाख क्विन्टल उखु पेल्न सक्ने क्षमता भए पनि १८/२० लाख क्विन्टल मात्रै उखु उपलब्ध हुने गरेको मिलका कर्मचारीहरू बताउँछन् ।


‘उखु पाइने हो भने मंसिरदेखि चैत अन्तिमसम्मै मिल चलाउन सकिन्छ,’ महाकाली सुगर मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले भने, ‘तर यहाँ मंसिर अन्तिमदेखि सुरु भएर फागुनमै बन्द गर्नुपर्छ ।’ उनका अनुसार गत वर्ष पनि आवश्यकताअनुसार उखु नपाएर फागुन सुरुमै मिल बन्द भएको हो । गत वर्ष साढे १९ लाख क्विटल मात्रै उखु मिलमा आएको थियो ।


महाकाली सुगर मिलमा बेलौरी नगरपालिकासँगै बेलडाडी र लालझाडी गाउँपालिकाका कृषकले उखु ल्याउने गर्छन् । यस वर्ष पनि २०/२१ लाख क्विन्टल उखु मात्रै आउने अनुमान गरिएको ठगुन्नाले बताए । उनका अनुसार एक क्विन्टल उखुबाट ९ किलोको हाराहारीमा चिनी उत्पादन हुने गर्छ । फागुन र चैतमा उखु परिपक्व भएपछि भने चिनी उत्पादनको अनुपात बढेर ११/१२ किलोग्राम प्रतिक्विन्टल पुग्ने उनले बताए ।


पुनर्वासमा रहेको भागेश्वर सुगर मिलले पनि आवश्यकता अनुसार उखु नपाउँदा एक महिना ढिलो मिल सञ्चालन गरेर एक महिना अगावै बन्द गर्नुपर्ने अवस्था रहेको जनाएको छ । दैनिक २०/२५ हजार क्विन्टल उखु पेल्न सकिने उक्त मिल उखु प्राप्त हुने हो भने वैशाखसम्मै चलाउन सकिने मिलका प्रशासन अधिकृत डम्मर खडकाले बताए ।


‘गत वर्ष पनि फागुनमै बन्द भएको हो, यस वर्ष पनि त्यस्तै छ,’ खडकाले भने, ‘मिलका लागि कच्चा पदार्थको अभाव जहिल्यै रहिरहने भयो ।’ उनका अनुसार भागेश्वर सुगर मिलले गत वर्ष १७ लाख क्विन्टल उखु मात्रै मिलले पाएको थियो । उक्त मिलमा पुनर्वास नगरपालिकासँगै बेलौरी नगरपालिकाका आधा कृषकले उखु ल्याउने गर्छन् । यसैगरी कैलालीबाट पनि केही मात्रामा उखु आउने गरेको उनले बताए । उनले अन्तिम अवस्थामा भारतबाट उखु ल्याएर समेत मिल चलाउने गरेको बताए । उखुको उत्पादन बढाउने दुवै मिलले उन्नत जातका बीउसँगै आधुनिक कृषि औजारहरूसमेत वितरण गरेका छन् । यसका साथै दुवै मिलले प्रविधिकहरू समेत फिल्डमा खटाएको छ । तर पनि आवश्यकता अनुसार उखु उत्पादन हुन सकेको छैन ।


कञ्चनपुरमा करिब ७ हजार हेक्टरमा उखु खेती गरिन्छ । दुई वटा चिनी मिलबाहेक बेलौरी, पुनर्वास, बेलडाडी र महाकाली नगरपालिकामा गरी एक दर्जनभन्दा बढी खाँडसारी उद्योगहरू समेत सञ्चालनमा छन् । ती उद्योगमा पनि ठूलो मात्रामा उखु खपत हुने गरेको छ । सबै खाँडसारी उद्योगमा ५ लाख क्विन्टलभन्दा बढी उखु खपत हुने गरेको व्यवसायीहरू बताउँछन् । खाँडसारी उद्योगमा गुड र खुदो उत्पादन हुने गरेको छ ।


पछिल्लो समय रेडक्रसको पहलमा बगर संरक्षणका लागि जिल्लाका विभिन्न नदी नालाको बगरमा पनि सामूहिक रुपमा उखु खेती गरिएको छ । बगरमा करिब सय बिघामा उखु खेती गरिएको छ ।

प्रकाशित : माघ १०, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?