कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पञ्चेबाजा बजाउँदै मेयरको झाँकी

मोहन शाही

(डोटी) — टिलिक्क टल्कने गुन्योचोली, शिरमा राताम्य गुराँसको फूल । काँधमा ठूलो दमाहा पहिरेर सिंगारपटारका साथ डोटीको दिपायल सिलगढीकी नगर प्रमुख मञ्जु मलासीको टोली बिहीबार दिउँसो नगरपालिकाको कार्यालयबाट निस्क्यो । महिला जनप्रतिनिधि, कर्मचारी र अधिकारकर्मीलगायतको समूह डोटेली परम्परागत पोसाकमा पञ्चेबाजा घन्काएर छलिया नाच्दै शैलेश्वरी मन्दिरतर्फ अघि बढ्यो । 

पञ्चेबाजा बजाउँदै मेयरको झाँकी

सधैं पुरुषले बजाउँदै आएको पञ्चेबाजा बोकेर नगरप्रमुख मलासी आफै बजारमा आएपछि कतिपयले आश्चर्य माने भने कतिपयले रमाइलो महसुस गरे । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नगरपालिकाले विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । ९ वडा रहेको नगरपालिकामा वडावासीले आआफ्नो सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । एउटा झाँकी नगरप्रमुख मलासीको नेतृत्वमा पञ्चेबाजासहित थियो ।


सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको प्रांगणमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुन आएका जनप्रतिनिधिहरूको ध्यानाकर्षण गर्ने गरी नगरपालिकाले कार्यक्रम गरेको हो । प्रमुख मलासीले थुप्रै संस्कृति, परम्परा र चलनहरू हराउँदै गएकाले संरक्षण र प्रवर्द्धन छलिया पञ्चेबाजा प्रदर्शन गरेको बताइन् । ‘पुरुषले मात्र बजाउनु पर्छ भन्ने परम्परागत सोच भत्काएर महिला पनि संस्कृति संरक्षणको हिस्सेदार बन्न सक्छ भनेर बाजा घन्काएका हौं,’ उनले भनिन् । महिलाको समूहले पञ्चेबाजा घन्काएको पहिलोपटक भएको दिपायल सिलगढी–७ की ऐश्वर्या बिष्टले बताइन् । उनले मानिसहरूको सोच बदल्न र नयाँपन झल्काउन आफू पनि पञ्चेबाजा बजाउन सरिक भएको जानकारी दिइन् । कतिपयले भने पुरुषले बजाउनु पर्ने दमाहा महिलाहरूले बजाएर संस्कृति बिगार्ने प्रयास गरेको आरोपसमेत लगाएका छन् ।


तर नगरप्रमुख मलासी त्यसको खण्डन गर्छिन् । पुरुषले आफ्नो संस्कृति प्रर्दशनका गर्न भाउ खोज्ने, निहुँ खोज्न थालेपछि महिलाहरूलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने सन्देश दिन आफू अग्रसर भएको बताइन् । ‘एक पटक प्रदर्शन गरेको कम्तीमा १० हजार रुपैयाँभन्दा बढी दिने गरिएको छ । तर पनि पुरुषहरू सहजै पाइँदैनन्’, उनले भनिन्, ‘नगरपालिकाले गत वर्ष थुप्रै बाजागाजा र भेषभुषाका सामग्री खरिद गर्नुका साथै तालिम पनि दियो । तर कोही भारत गए, कोही अन्तै हिँडे ।’


कार्यक्रमका प्रमुख अतिधि पूर्वउपप्रधान तथा रक्षामन्त्री भीम रावलले मलासीले थालेको अभियानले खुसी लागेको बताए । बुधबार वडा नम्बर १ बाट भुवा, २ बाट हुड्केउली, ३ बाट देउडा, ४ बाट गौरा, ५ बाट नरसिंहा, ६ बाट लाखे, ७ बाट रनपुतला, ८ बाट बिषौं र ९ नम्बर वडाबाट हुड्केली पञ्चेबाजा प्रदर्शन गरिएको थियो । पर्यटकीय सम्भावना बोकेका स्थान र संस्कृतिबारे झझल्को दिने पुस्तकसमेत सो कार्यक्रममा विमोचन गरिएको थियो । यसअघि डोटीमा पर्यटन प्रवर्द्धनका कुनै पनि औपचारिक कार्यक्रम गरिएका थिएनन् ।

प्रकाशित : माघ १०, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?