कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्किङले ट्राफिक अस्तव्यस्त

मोहन बुढाऐर

(धनगढी) — सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । बजार क्षेत्रका सडकमा ‘पिक आवर’ (बिहान १० र साँझ ४ बजे) मा सवारी जाम बढ्न थालेको छ । यस समयमा दुर्घटनाको अनुपात समेत वृद्धि भएको पाइएको छ ।

पार्किङले ट्राफिक अस्तव्यस्त

कैलाली ट्राफिक प्रमुख सरोजकुमार ठकुराठीले भने, ‘यही सडकमा ठूलासाना सबै सवारीसाधन गुड्ने र जथाभावी हुने पार्किङले ट्राफिक व्यवस्थापनमा समस्या निम्तिएको छ ।’ चौराहादेखि क्याम्पस रोडसम्मको ५ किलोमिटर क्षेत्रमा दैनिक १० हजार बढी सवारीसाधन गुड्ने गर्छन् । यहाँ देनिकजसो दुर्घटना भइरहेका छन् । यस खण्डको दायाँबायाँ मनपरी गरिने पार्किङले ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको ठकुराठी बताउँछन् ।


‘मुख्य बजार क्षेत्रमा पसल, अस्पताल, बैंक, विद्यालय, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय र प्रदेश सरकारका मन्त्रालय, संसद् भवनसमेत छन्,’ उनले भने, ‘किनमेल गर्नेदेखि सरकारी कार्यालयका सेवाग्राही हिँड्डुल गर्दा मुख्य सडक छेउमा ट्राफिक पार्किङ गर्ने क्रम बढेको छ । ’ सडकसँग जोडिएका व्यावसायिक प्रतिष्ठान तथा अस्पतालले पार्किङ क्षेत्र नबनाएकोले सडक क्षेत्र अतिक्रमण भएको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय ई–रिक्साले थप जटिलता निम्त्याएको छ । सुदूरपश्चिम यातायात व्यवस्था कार्यालय सेतीमा ६ हजारभन्दा बढी ई–रिक्सा दर्ता छन् । जसमध्ये आधाभन्दा बढी धनगढीमा चल्छन् । धनगढीको पनि मुख्य बजारमै केन्द्रित हुने भएकोले ई–रिक्साले सवारी चाप बढाएको उनी बताउँछन् ।


फराकिला सडक, व्यवस्थित पार्किङ, ठूला सवारीसाधन तथा बसहरूलाई वैकल्पिक मार्ग नबन्दासम्म यहाँको ट्राफिक व्यवस्थापनमा सुधार गर्न गाह्रो हुने ठकुराठीको भनाइ छ । धनगढीको रिङरोड र वैकल्पिक मार्गमा मात्र सार्वजनिक बस तथा हेभी ट्रकलगायत सवारीसाधन चलाउने हो भने पनि ट्राफिक चाप घट्ने उनको भनाइ छ । उनले धनगढी बजारसँगै जोडिएको बसपार्कसमेत अर्को ठाउँमा सार्नुपर्ने विकल्प सुनाए । निर्माणाधीन ६ लेन सडक बनेपछि अत्तरियादेखि धनगढी भन्सारसम्मको ट्राफिक व्यवस्थापन सहज बन्ने विश्वास ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीको जनशक्ति र साधनस्रोत कम हुनाले पनि बढ्दो सवारी चाप नियन्त्रण गर्न नसकिरहेको उनले स्वीकारे ।


यातायात कार्यालय, कञ्चनपुरमा ७५ हजारभन्दा बढी मोटरसाइकल, ४ हजार बढी जिप/कार, १४ हजार बढी ट्याक्टर, १ हजार बढी बस र त्यतिनै संख्यामा ट्रक गरी डेढ लाखजति सवारीसाधन दर्ता भएका छन् । यसमध्ये आधाभन्दा बढी धनगढी बजारमै गुड्छन् । अन्य प्रदेशमा दर्ता भई यहाँ सञ्चालन हुने सवारीको संख्या पनि १० हजारभन्दा माथि छ । हरेक वर्ष १० हजारको दरले सवारीसाधन थपिँदै आएका छन् ।


धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको सडक फराकिलो बन्दै आएकाले ट्राफिक व्यवस्थापनको समस्या समाधान हुँदै जाने दाबी गरे ।


‘सडकपेटीमा व्यवसाय गर्ने र पसलका अनावश्यक होर्डिङ बोर्डलाई समेत हटाइरहेका छौं,’ उनले भने, ‘भिडभाड हुने ठाउँमा मोटरसाइकल र साना सवारी पार्किङका लागि स्थानसमेत छुट्टाएका छौं ।’ उनले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीलगायत सरोकारवालाको सल्लाह बमोजिम काम गरिरहेको दाबी गरे ।


तर, स्थानीय पुष्पराज ओझाले नगरपालिकाले सम्झौताविपरीत सडकलाई साँघुरो बनाउन लगाएको आरोप लगाए । ‘एडीबीसँगको सम्झौतामा धनगढीको मुख्य बजारमा सडकको चौडाई ३० मिटर हुनुपर्ने हो,’ उनले भने, ‘त्यो घटाएर २४ मिटरमा राखेर डिजाइन गरिएको छ भन्ने छ ।’ उनले एडिबीले नै निर्माण गरिदिन लागेको भित्री सडकको पहिले तयार पारिएको डिजाइनमा २०, १६ र ८ मिटर चौडाईसमेत घटाइएको बताए ।

प्रकाशित : माघ ७, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?