डडेलधुरामा विमानस्थल : स्थान छनोट, निर्माण ४ वर्षमा- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डडेलधुरामा विमानस्थल : स्थान छनोट, निर्माण ४ वर्षमा

‘भू–बनोट, ल्यान्डिङ र टेकअफको दृष्टिले पनि पुइलेकमै विमानस्थल बनाउन उपयुक्त’
डीआर पन्त

डडेलधुरा — डडेलधुरामा विमानस्थल निर्माणका लागि स्थान छनोट गरिएको छ । नागरिक उड्‌डयन प्राधिकरणको टोलीले गत आइतबारदेखि गरेको स्थलगत अध्ययनका अधारमा साविक समैजी गाविसको पुइलेकदेखि वयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताएको हो ।

‘साविक समैजी गाविसको पुइलेकदेखि वयलडाँडासम्मको १२ सय मिटरभन्दा लामो डाँडा विमानस्थलका लागि उपयुक्त हुने देखिएको छ,’ प्राधिकरणको अध्ययन टोलीका सदस्य इन्जिनियर नरेश शिवाकोटीले भने, ‘आधा दर्जन स्थलमा अध्ययन गरिएको थियो ।’


भू–बनोट, ल्यान्डिङ र टेकअफको दृष्टिले पनि यसै स्थानमा विमानस्थल बनाउन उपयुक्त रहेको शिवाकोटीको भनाइ छ । ‘जमिन र ड्रोनबाट आवश्यक नापजाँच गरिएको हो,’ उनले भने, ‘१२ सयदेखि १७ सय मिटरसम्मको मैदानी भाग पहाडी जिल्लामा पाउन मुश्किल छ ।’ यसअघि सम्भाव्यता अध्ययन भएको भागेश्वर गाउँपालिकाको बिरादेव, अमरगढी नगरपालिकाको भेटा, दह, गन्यापधुरा गाउँपालिकाको सकायल क्षेत्र र नवदुर्गाको डाँडावनमा प्रारम्भिक अध्ययनका क्रममै धेरै समस्या देखिएको प्राविधिक टोलीले बताएको छ । यी क्षेत्रमा ट्वीनअटर विमान मात्र उड्नसक्ने टोलीको निष्कर्ष छ ।


तीन दशकदेखि अध्ययन

विमानस्थल निर्माण गर्न पहिलोपटक पञ्चायतकालमा सम्भाव्यता अध्ययन गरिएको थियो । उक्त समय डडेलधुरा–बैतडी राजमार्ग नजिकैको डकले डाँडा सम्याउने काम पनि भयो । तर, प्राविधिक दृष्टिकोणले उपयुक्त नभएको भन्दै केही समयपछि निर्माण रोकियो । ०४६ पछि विमानस्थल बनाउने योजनाअनुरुप सुरु भएको कामसमेत बन्द भयो ।


त्यसपछिका सरकारले पटक–पटक विभिन्न ठाउँमा सम्भाव्यता अध्ययन गरे पनि बन्न सकेन । यद्यपि चुनावी मुद्दाका रुपमा विमानस्थल निर्माणको कुरा उठिरह्यो । अध्ययन गर्न टोली आए, गए । चुनाव सकिएसँगै यस विषयमा सोधखोज नै हुन सकेन । पछिल्ला ६ वर्षमा डडेलधुरामा विमानस्थल निर्माणका लागि ४ पटक सम्भाव्यता अध्ययन भएको छ । ठोस निर्णय भने हुन सकेको छैन ।


ईआईए एक वर्षभित्रै

हाल प्राधिकरणको टोलीले उपयुक्त मानेको स्थान सदरमुकामदेखि १२ किलोमिटरको दूरीमा छ । यहाँ पहिले सामुदायिक वनको जग्गा थियो । अहिले वन क्षेत्रभित्र नपर्ने स्थानीय धनबहादुर साउँदले जानकारी दिए । मन्त्रालयस्तरमा सहमतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन केही समय लाग्ने र इआइए गर्न एक वर्ष लाग्ने प्राविधिक टोलीको भनाइ छ । इन्जिनियर शिवाकोटीले भने, ‘गत आइतबार गरेको अध्ययनको पूर्ण निष्कर्ष आउन ३ महिनाभन्दा बढी समय लाग्नसक्छ ।’ मन्त्रालयको स्वीकृतिपछि लगातार काम अघि बढ्यो भने ४ वर्षमा विमानस्थल निर्माण हुनसक्ने उनले बताए ।


सुदूर पहाडको केन्द्रका रुपमा रहेकोडडेलधुरामा विमानस्थल निर्माण हुन सके यहाँको पर्यटकीय विकासले गति लिने टोलीसँगै सम्भाव्यता अध्ययनमा संलग्न नेकपा नेता डा. तारा जोशी बताउँछन् । उनले भने, ‘पछिल्लो समय गरिएको अध्ययन र सर्भेपछि विमानस्थल निर्माण हुनसक्ने धेरै सम्भावना छ ।’


विभागीय मन्त्रीसँग पनि यस विषयमा पटक–पटक छलफल भइसकेको उनले जानकारी दिए । अध्ययनमा संलग्न प्राविधिकहरूले धनगढी, नेपालगन्जजस्ता तराईका विमानस्थलमा मौसमका कारण विमान उड्‌न नसक्ने अवस्थामा पनि यो विमानस्थल सुदूरलाई बाह्रै महिना हवाई सेवासँग जोड्न महत्वपूर्ण हुनसक्ने बताएका छन् ।

प्रकाशित : माघ ३, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

जंगली फलबाट जुस : विश्वबजारमा माग

वसन्तप्रताप सिंह

बझाङ — बझाङको हिमाली क्षेत्रमा पाइने डालेचुक (स्थानीय लवजमा तारुचुक) को व्यावसायिक प्रशोधन सुरु गरिएको छ । साइपाल गाउँपालिकामा प्रशस्त मात्रामा पाइने बहुउपयोगी यो फल यसअघि त्यसै खेर गइरहेको थियो । साइपाल गाउँपालिका र अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले स्थानीयलाई डालेचुक प्रशोधनसम्बन्धी तालिम र सामग्री उपलब्ध गराएपछि व्यावसायिक प्रशोधन सुरु गरिएको हो ।

सबैभन्दा बढी डालेचुक पाइने धुली क्षेत्रका ३२ जनालाई संकलन, प्रशोधन र बजारीकणको सीप सिकाएपछि उत्पादन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । डालेचुकबाट जुसलगायत विभिन्न खाद्य सामाग्री, औषधि र शृंगारिक सामग्री उत्पादन गर्न सकिन्छ । तत्काललाई जुसको मात्र उत्पादन थालिएको छ । बजारको अवस्था हेरेर अन्य उत्पादन पनि सुरु गरिने व्यवसायीको भनाइ छ ।

‘हाल बजारमा जुसकै माग बढी छ,’ व्यवसायी मंगल बोहराले भने, ‘बिस्तारै यसको बियाँ र पातबाट बन्ने सामग्री उत्पादन सुरु गर्ने योजना बनाएका छौं ।’ तालिमसँगै व्यवसाय गर्न चाहनेका लागि डालेचुकको दाना संकलन गर्ने कैंची, काँडा हटाउने र खुर्कने उपकरण र फलबाट रस निकाल्ने आत्याधुनिक मेसिन (कोल्ड प्रेस जुसर) समेत अनुदानमा वितरण गरिएको छ । जुस फिल्टर गर्ने मेसिन, प्याकिङ तथा लेबलिङ गर्ने उपकरण पनि वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।

उपयोगिता र प्रयोग
यहाँका बासिन्दा पेटमा जुका परे डालेचुक सेवन गर्छन् । ‘जुकाको यो भन्दा राम्रो औषधि नै छैन,’ साइपाल गाउँपालिका काँडाका गोरख बोहराले भने । बच्चाले उमेर पुगिसक्दा पनि स्पष्ट बोल्न नसकेमा डालेचुक चटाउँदा छिटो र प्रष्ट बोल्ने, गर्भवती अवस्थामा प्रत्येक साँझ तारुचुक चाटेमा सुत्केरी हुन सहज हुने स्थानीयको अनुभव छ । पेटको दुखाई, अजिर्ण लगायतका समस्यामा पनि डालेचुक उपयोगी हुने गरेको धुली आमा समूहकी अध्यक्ष धनकला रोकायाले सुनाइन् ।

‘स्थानीयलाई यसको व्यावसायिक महत्व बुझाउन तालिम दिइएको हो,’ तालिम प्रशिक्षक वन विभागका वन अधिकृत युवराज पोखरेलले भने, ‘बजारमा यसको मागबारे थाहा पाएपछि उनीहरू डालेचुक उद्योगमा लगानी गर्न उत्साहित भएका छन् ।’

साइपाल गाउँपालिका क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो स्थानीय तह हो । करिब १ हजार ४ सय वर्गकिलोमिटर क्षेत्रफल ओगटेको गाउँपालिकामा आवादी क्षेत्र कूल क्षेत्रफलको ५ प्रतिशतभन्दा कम छ । सबैजसो भूभाग वनजंगल, भिरपहरा, हिमाल र हिमाली पठारले चर्चेको छ । यहाँका अधिकांश जंगलमा ठूलो परिमाणमा डालेचुक पाइन्छ । डालेचुकलाई सुदुरपश्चिम र कर्णाली क्षेत्रमा ताराचुक, शंखधारा, अमृतधारा आदि नामले पनि चिनिन्छ ।

सामान्यतया डालेचुक वा भूइँचुक (अंग्रेजीमा सिबकथ्रोन) भन्ने गरिएको यो जंगली फल बहुमूल्य र गुणकारी भएको डालेचुक विज्ञ युवराज पोखरेल बताउँछन् । मानव शरीरलाई आवश्यक पर्ने विभिन्न भिटामिन र खनिज पाइने भएकाले विश्व बजारमा डालेचुकको माग र मूल्य उच्च रहेको उनको भनाइ छ । पोखरेलले २० वर्षदेखि डालेचुकका विषयमा २५ जिल्ला तथा विदेश पुगेर अध्ययन गर्दै आएका छन् ।

विश्वबजारमा माग
विश्व बजारमा डालेचुकबाट बनेका जुस, जाम, क्यान्डी, वाइन, सर्वत, सर्वत पाउडर (ट्याङ), पातको चियाको माग बढी छ । यसको बिउ र रसमा तेलको मात्रा हुने र त्यसमा क्यारोटिन लगायत विभिन्न प्रकारका लाभकारी तत्वहरू पाइने भएकोले औषधि बनाउन पनि प्रयोग हुने गरेको पोखरेलले बताए ।

चीन, जर्मनी, रुस, फिनल्यान्डलगायत देशले यसको व्यावसायिक खेती पनि गरिरहेका छन् । चीनमा ३० लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा डालेचुकको वृक्षारोपण गरिएको छ । विभिन्न सामग्री उत्पादन गर्न २ सय बढी उद्योग स्थापना गरिएको उनको भनाइ छ ।

कहाँ फल्छ?
पोखरेलका अनुसार डालेचुक नेपालका २६ जिल्लामा पाइन्छ । माइनस ४० देखि ४० डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा हुर्कनसक्ने यो बिरुवा समुद्र सतहबाट १ हजार ८ सयदेखि ५ हजार मिटरको उचाइसम्म पाइन्छ । रुखो ठाउँमा पनि हुर्कनसक्ने डालेचुकको बिरुवाले जैविक विविधता र माटोको गुणस्तर सुधार्न पनि भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

उत्पादन भएको डालेचुकको जुसलाई जिल्लाबाहिर बजारीकरण गर्न पहल गरिरहेको गाउँपालिकाले जनाएको छ । गर्भवती महिलाका लागि पोषणयुक्त खाद्य वस्तु वितरण कार्यक्रममा डालेचुकको जुससमेत समावेश गर्न पहल गरिने गाउँपालिकका स्वास्थ्य संयोजक लोकेन्द्र जेठाराले बताए ।

प्रकाशित : माघ ३, २०७६ १०:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×