१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

चिसोले हैरान

धनगढी — धनगढीको पुरानो एयरपोर्टस्थित मुक्त कमैया शिविरमा बस्दै आएका सीताराम चौधरीको परिवार चिसोबाट बच्न सुत्ने कोठामा अगेरी (अगेनो) बनाइ आगो बाल्छन् । ‘अगेरीको आगोले कुनै पनि बेला नजिकैको परालको ओछ्यान नसल्केला भन्न सकिँदैन,’ सीताराम भन्छन्, ‘तर पनि जाडोबाट जोगिन अगेरी बाल्नुको विकल्प छैन ।’

चिसोले हैरान

न्यानो लुगा नभएकाले आगो तापेर दिनरात काट्नु परेको उनले बताए । उनीमात्रै होइन, जिल्लाका अधिकांश मुक्त कमैया, सुकम्बासी र विपन्न परिवारलाई चिसोले सताएको छ । आगो बाल्न दाउरा पनि पाउन नसकिएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिका लगायत स्थानीय तहले दाउरा भने निःशुल्क वितरण गरिरहेको जनाएका छन् । तर, सबैलाई पुर्‍याउन नसक्दा गुनासो आउने गरेको हो ।


चिसोले दैनिक मजदुरी गर्नेहरू सबैभन्दा बढी समस्यामा छन् । ‘रिक्सा र अटो नचलाए साँझबिहानको छाक कसरी टार्ने भन्ने हुन्छ,’ शिविरमा बस्दै आएका दुखीराम चौधरीले भने, ‘चिसोले टाउको र छाती दुख्ने, हातखुट्टा सुन्निने र रुघाले सताएको अवस्था छ ।’ ‘सेठका दिन हिउन, गरिबका दिन गर्मी भन्थे,’ धनगढी जाईकी रत्ना बिकले भनिन्, ‘हिउँदका दिन कहिले जालान् भन्ने भइसक्यो ।’ उनले महिना दिनसम्म राम्रोसँग घाम नलाग्दा चिसोले ज्यानै लेला जस्तो भएको बताइन् । पश्चिम तराईका कैलाली र कञ्चनपुरमा महिना दिनदेखि राम्रोसँग घाम लागेको छैन ।


चिसोले बिरामीलाई थप सास्ती थपिएको छ । ‘चिसो बढ्दै गएकाले बिरामीहरूको संख्या बढ्दै गएको छ,’ सेती प्रादेशिक अस्पताल आकश्मिक कक्षका कृष्ण बोहराले भने, ‘चिसोमा हाईपोथनिया (न्यून रक्त तापक्रम) का बिरामी बढेका छन् ।’ हाईपोथनियाको कारण ब्लड प्रेसर, मस्तिकघात लगायतका समस्या वृद्धवृद्धामा बढी देखिने गरेको उनको भनाइ छ ।


धनगढी–४ की सीमा चौधरी चिसो बढेका कारण बालबलिकाको ज्यान जोगाउनै मुश्किल परिरहेको बताउँछिन् । उनले चिसोले गर्दा छोराछोरीलाई २ पटक अस्पताल पुर्‍याइसकेको सुनाइन् । ‘अस्पतालमा डाक्टरले बच्चालाई चिसोबाट बचाउनुहोस् भनेका छन्,’ उनले भनिन्, ‘कसरी बचाउने ? न्यानो लुगा किन्न पैसा त परै जावस्, दाउरा किन्न पनि नसकिने अवस्था छ ।’ अत्तरियास्थित जलवायु फिल्ड कार्यालयका प्रमुख गोविन्द झाले केही दिन अझै जाडो कायम रहने बताए । ‘पानी परेकोले चिसो झन बढाएको छ,’ उनले भने, ‘सन् २०११ पछि कैलाली र कञ्चनपुरमा पहिलोपटक न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ ।’


उनका अनुसार २८ र ३१ डिसेम्बरका दिन यो वर्षकै अत्याधिक चिसो भएको थियो । त्यस दिन न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो । त्यसपछिका दिन पनि न्यूनतम तापक्रम ९ डिग्रीभन्दा माथि बढ्न नसकेको उनको भनाइ छ ।


धनगढी उपमहानगरले ३ सय परिवार मुक्त कमैया, मुक्त हलिया तथा दलित परिवारलाई न्यानो कपडा वितरण गरेको जनाएको छ । वृद्धवृद्धा र बालबालिकालाई लक्षित गरी ओड्ने–ओछ्याउने कपडा दिइएको हो । जिल्लाका अन्य स्थानीय तहले समेत विपन्न परिवारको छनोट गरी न्यायो लुगा वितरण गरेको जनाएका छन् ।

प्रकाशित : पुस २८, २०७६ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?