वर्षाले बालीमा नोक्सान

प्रदेश ब्युरो

(धनगढी) — मंसिरमा पानी पर्दा कञ्चनपुरको लालझाडी गाउँपालिका–३, नन्द गाउँका भज्जी राना खुशी भएका थिए । सिँचाई गर्नुपर्ने बेला भएको वर्षाले गहुँसँगै मसुरो बाली सप्रिने उनको विश्वास थियो । केही दिनपछि बारीमा युरिया मल हाले । दुबै बाली हर्लक्कै बढ्यो पनि । तर, केही दिनयता लगातारको वर्षाले खेत डुबानमा परेपछि गहुँ पहेँलो हुन थालेको छ । ‘पानीसँगै हावा पनि चलेर बढी नोक्सान गर्‍यो,’ भज्जीले भने, ‘खेत पूरै डुबानमा पर्दा गहुँ रमसुरोका बोट देखिएका छैनन् ।’

ZenTravel

उनका अनुसार गाउँभरिका सबैका खेत डुबानमा परेका छन् । भज्जीको मात्रै ५ विघा खेतमा पानी जमेको छ । कञ्चनपुरको अधिकांश क्षेत्रमा वर्षाका कारण हिउँदे बाली प्रभावित बनेको हो । ‘धेरै दिनपछि सुकेको खेत फेरि डुबानमा परेको छ,’ भीमदत्त नगरपालिका–१० का मनोज चन्दले भने, ‘अब त गहुँबाली पूरै पहेँलो हुन थालेको छ ।’ उनका अनुसार टमाटर र आलुमा समेत वर्षाले नोक्सान गरेको छ ।

कञ्चनपुरमा ३५ हजार हेक्टरमा गहुँ र १७ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ । जिल्लाको दक्षिणी क्षेत्रमा तोरी र मसुरो खेती बढी गरिन्छ ।

‘चिम्ट्याइलो माटो भएको खेतमा पानी जमेर हिउँदे बालीमा धेरै असर पुर्‍याएको देखिन्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, ‘मसुरोसँगै पाक्न लागेको तोरीलाई पनि प्रभावित गर्छ ।’ भट्टका अनुसार अघिल्लो पटक भएको वर्षाका कारण आलु खेतीमा डढुवा रोगको प्रकोप देखिएको छ । ‘अझै पनि वर्षा भइरहे हिउँदे बाली उत्पादनमा निकै ह्रास आउने देखिन्छ,’ उनले भने, ‘अहिले फल्न थालेको टमाटर, काउली लगायतमा पनि क्षति पुगेको छ ।’

कैलालीका किसानहरु पनि निरन्तरको वर्षाले मर्कामा परेका छन् । आलु, तरकारी, मसुरो, होचो क्षेत्रमा लगाएको गहुँलगायत बालीमा समेत असर परेको किसानको भनाइ छ । ‘एक विघा क्षेत्रफलमा लगाएको तरकारी हिउँदे वर्षाले सखाप पार्‍यो,’ कैलाली हसुलियाका सुखीराम चौधरीले भने, ‘ऋणमा डुबिने भइयो ।’ उनले जमिन भाडामा लिएर आलुसहित हरियो तरकारी रोपेका छन् । अघिल्लो वर्षभन्दा धेरै क्षेत्रफल लिजमा लिएर खेती गरेकोमा बढी क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।

‘एक लाख जति लगानी गरेको थिएँ,’ उनले भने, ‘तरकारी नबच्दा घर खर्च चलाउन पनि मुश्किल हुने भयो ।’ सुखीरामले परम्परागत कृषि प्रणाली छोडेर केही वर्षयता व्यावसायिक खेती गर्दै आएका छन् । तरकारी खेतीकै आम्दानीबाट खाद्यान्न किन्ने योजना चौपट भएको उनले दुःखेसो पोखे ।

उनीजस्तै कैलालीका अधिकांश किसानलाई यस्तै चिन्ता थपिएको छ । हसुलियाका अर्का किसान नेपालु चौधरीले वर्षाले पुर्‍याएको क्षतिको अनुमगन गरेर सरकारले किसानलाई तुरुन्त राहत दिनुपर्ने बताए । उनले गहुँबाली पहेँलो भएको र मसुरो, आलु, तोरी लगभग सखाप भएको गुनासो गरे । हिउँदे बालीमा आवश्यकताभन्दा बढी पानी हुँदा र घाम नलाग्दा क्षति पुगेको हो ।

टीकापुर क्षेत्रमा पनि अवस्था उस्तै रहेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाका कृषि प्रमुख भरत कँडेलले बताए । उनले भने, ‘घाम नलागेपछि विषादी छरेको–छर्‍यै गर्नुपर्छ । बाली बचाउन लगानी धेरै लाग्छ । केही किसानले त विषादी छर्केर बाली जोगाएका छन् । धेरैजसोको आलु र टमाटरमा क्षति भएको छ ।’ किसानको बाली क्षति हुने क्रम जारी रहेकोले क्षतिको पूरा विवरण अहिले नै दिन नसकिने कँडेलको भनाइ छ । कैलालीको भजनी नगरपालिका–३, ७ र ८ मा पानीले गहुँबालीमा क्षति पुगेको छ । करिब ५० हेक्टरमा लगाइएको गहुँ, मसुरो, तोरीबालीमा क्षति पुगेको भजनी–७ का किसान तेजराम चौधरीले बताए । उनका अनुसार चिम्टाइलो माटो रहेकोले वर्षाको पानी धेरै दिनसम्म सञ्चित हुँदा हिउँदे बाली नष्ट हुँदै गएको हो । भजनीको ढुसी गाउँमा मात्र करिब १२ विघाको बाली नष्ट भएको अर्का किसान ज्ञानबहादुर चौधरीले सुनाए । नसुक्दै थप पानी परिहेकोले खेतमा बाली पहेँलिँदै मर्न थालेको उनको भनाइ छ । हिउँदे बाली राम्रो उब्जाउ हुने क्षेत्र भए पनि पानीले गर्दा लगानी पूरै खेर जाने अवस्था आएको ज्ञानबहादुरले बताए । उनले भने, ‘सबै खेतमा गहुँ छरेको छु, बीउ छर्दा मल, पानीमा खर्च गरियो, बाली सप्रने बेला वर्षा हुँदा बोट नै मर्न थालेको छ ।’

क्षतिका सम्बन्धमा लगत लिने काम सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले जनाए । भजनी–३, ७ र ८ वर्षातमा डुबानको चपेटामा पर्ने भएकाले किसानले हिउँदे बाली मात्र लगाउने गरेका छन् ।

कैलालीमा वर्षाले हिउँदे खेतीमा पुर्याएको क्षतिबारे स्थलगत अनुगमन गरेर फर्केका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत खाद्य सुरक्षा कृषि व्यवसाय प्रर्वद्धन शाखाका प्रमुख उपसचिव खगेन्द्रप्रसाद शर्माले पनि आलु, मसुरो, तोरी र तरकारी बालीमा बढी क्षति पुगेको बताए । शर्माका अनुसार कैलालीमा गहुँ ३४ हजार, तोरी १९ हजार, मसुरो २२ हजार, आलु ५ हजार र तरकारी २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइन्छ । उनले हिउँदे बालीको कूल गार्हस्थ उत्पादनमा वर्षाले १५ देखि २० प्रतिशत कमी ल्याउनसक्ने आकलन गरे । पहाडी जिल्लामा भने हिमपात र वर्षाले फाइदा पुग्ने उनको भनाइ छ ।

भवानी भट्ट (कञ्चनपुर), मोहन बुढाऐर (धनगढी), गणेश चौधरी (टीकापुर)

प्रकाशित : पुस २७, २०७६ ०९:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रारम्भिक शिक्षा सपार्दै गाउँपालिका

प्रदेश ब्युरो

पोखरा — यतिबेला कक्षा १२ सम्मको विद्यालय शिक्षा सञ्चालन तथा नियमनको जिम्मेवारी स्थानीय तहलाई छ । जिल्ला शिक्षा कार्यालयको अधिकार प्रत्यायोजन भएर पाएका अधिकांश स्थानीय तहमध्ये धेरैले शिक्षासम्बन्धी आफ्नै कानुन बनाउन सकेका छैनन् ।

त्यसैले शिक्षा क्षेत्र व्यवस्थापन कसरी गर्ने भन्नेमा अन्योल छ । विद्यालय शिक्षाबारे सचेत जनप्रतिनिधि भएका क्षेत्रमा आवश्यक नियम र योजना तर्जुमा गर्दै शिक्षक व्यवस्थापनदेखि पूर्वाधारका योजना अघि बढाइएका छन्।

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीको सरस्वती आधारभूत विद्यालयमा प्रारम्भिक बालविकाससहित कक्षा ३ सम्मका बालबालिकालाई न्यानो कार्पेटमा बसेर पढ्ने व्यवस्था छ । यसले बालबालिकाको सिकाइ गुणस्तरीय बन्नुका साथै निजी विद्यालय जाने क्रम घटेको प्रधानाध्यापक दुर्गा गुरुङले बताइन् । बालविकासपछि सोझै एक कक्षामा नलगी अर्को तयारी कक्षा पनि सञ्चालन गरिएको छ ।
यहाँका सबै विद्यालय र बालविकास केन्द्रमा गाउँपालिकाले खाजा र स्टेसनरीमा लगानी गरेको छ । अंग्रेजी माध्यममा पढाइन्छ । पढाइको तरिकामा सुधार र प्रशासनिक चुस्तता थपिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । प्रारम्भिक बालविकासको कक्षा सामुदायिक विद्यालयमा पढाएपछि अधिकांश अभिभावकले कक्षा एकमा भर्ना नगरी निजी विद्यालयमा पठाएपछि सुधारको काम गर्नुपरेको थापाले बताए । ‘विद्यालय आउने बानी पार्न बालकक्षामा ल्याउने, त्यसपछि निजीमा किन गए भन्ने अध्ययनपछि सामुदायिकमै बोर्डिङसरहको पढाइ थाल्यौं,’ थापाले भने, ‘कक्षा चढेर मात्र गुणस्तर बन्दैन भन्ने बल्ल बुझ्यौं ।’

काठेखोला गाउँपालिकाले ११ माविसहित ५६ विद्यालयमा पढाइको विधि र पूर्वाधारसमेत सुधार गरिएको छ । गत वर्ष १८ लाख खर्चेर ४२ विद्यालयमा सुधारको काम थालिएको थियो । उक्त प्रयास सफल भएपछि चालु वर्ष सबै विद्यालयमा गुणस्तरीय शिक्षा र कक्षा व्यवस्थापन थालिएको हो । कक्षा व्यवस्थापनपछि शिक्षकको नियमितता, पढाइको विधि तथा प्रशासनिक चुस्ततासमेत अनुगमन गर्न थालिएको हो ।

‘गुणस्तर सुधारका दर्जन बढी सूचक बनाएर नियमित अनुगमन थालिएको छ,’ गाउँ शिक्षा अधिकारी रामानन्द कँडेलले भने, ‘अहिले शिक्षकको नियमितता र प्रशासनिक सुधार भएको छ ।’ कक्षामा शिक्षक नभेटिने, चौरमा घाम ताप्ने र बालबालिका पनि धूलो खेलेर बस्ने अवस्था पनि अनुगमनले सुधार ल्याएको उनले बताए । अब बालविकास र कक्षा ३ सम्मका बालबालिकालाई खाजाको जोहो घरबाट गर्नुपर्दैन ।

गाउँपालिकाले ‘सघन अनुगमन’ भन्ने अभियानै चलाएको छ । शिक्षकले नपढाएको, अभिभावकले चासो नराखेको वा विद्यालयको वातावरण मन नपरेर कक्षा छाडेको भन्ने ती भेलाबाट पत्ता पाउन सकिएको उनले बताए । चिसो र धूलो कक्षामा बस्दा बालबालिकाले सिक्न नसकेको, कक्षाकोठाको वातावरण देखेर अभिभावकले बाल कक्षापछि अन्यत्र लगेको जस्ता कारण पत्ता लागिसकेको कँडेलले बताए । ‘बसाइ व्यवस्थापनले छोराछोरीलाई विद्यालय पठाउन सजिलो भएको छ,’ काठेखोला–६ का रामप्रसाद कँडेलले भने, ‘विद्यालय पठाएपछि शिक्षकले हेरचाह गर्छन्, पढाउँछन्, बच्चाहरू धूलोमा परे कि भन्ने पीर छैन ।’ अभिभावक भेला भनेर दुई पटक विद्यालय पुगेको लेखानीकी अनिता विकले बताइन् । विकले भनिन्, ‘छोराछोरी विद्यालय पठाएपछि काम गर्न ढुक्क भयो भनिन्थ्यो, अहिले हामीलाई पनि बोलाएर देखाउन थालिएको छ ।’

विद्यालय जाने उमेर पुगिनसकेका बालबालिकाको क्षमता बढाउन सुरु गरिएको बाल कक्षामा पर्वतको कुश्मा नगरपालिकाले विशेष चासो दिन थालेको छ । निजी विद्यालयले मन्टेश्वरी सिकाइमार्फत बालबालिका आकर्षित गर्न थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन नगरपालिकाले चासो दिएको हो ।

कतिपय विद्यालयमा दिवा खाजामा समेत सहयोग गरेकामा विद्यालय प्रवेशदेखि नै विद्यार्थी बढाउने गरी पूर्वाधार, क्षमता विस्तार लगायतलाई जोड दिइएको नगर शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीले बताए । उनका अनुसार बाल कक्षा सञ्चालित सबै विद्यालयमा ईसीडीलाई शैक्षिक सामग्री झोला वितरण गरिएको छ । बाल कक्षा सहयोगीलाई सरकारले दिएको पारिश्रमिकमा नगरपालिकाले मासिक एक हजार थप गरेको छ । ‘मासिक ६ हजारमा दुःख गर्दै आएका थिए,’ उनले भने, ‘हामीले आन्तरिक कोष व्यवस्थापन गरेर हजार थपेका हौं । त्यसले उनीहरूको मनोबल बढेको छ ।’ नगरपालिकामा ६७ बाल कक्षा छन् । सबैलाई समेट्नेगरी मन्टेश्वरी कक्षासमेत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसबाहेक शिक्षण सिकाइ क्रियाकलापसम्बन्धी तालिम, सघन निरीक्षण नियमित गर्दैआएको तिवारीले बताए । बालमैत्री कक्षाका लागि नगरपालिकाले बसाइ व्यवस्थापन, खेल सिकाइका लागि आवश्यक शैक्षिक सामग्री लगायतको व्यवस्था गरेको हो । ‘विद्यार्थी बढ्ने भनेकै बाल कक्षाबाटै हो,’ कुश्मा–९ सार्वजनिक माविका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले भने, ‘त्यसका लागि विद्यालयको मात्रै प्रयासले हुँदैन । नगरपालिकाको सहयोग आवश्यक हुन्छ ।’ नगरपालिकाको चासोकै कारण चालु शैक्षिक सत्रमै १० बालबालिका बढेको विद्यालयले जनाएको छ । त्यस्तै कुश्मा–१ पाङमा सञ्चालित भवानी बालविकास केन्द्रमा २७ बालबालिका छन् । अघिल्ला वर्षहरूमा दुई–चार जनामा मात्रै सीमित हुने गरेकोमा नगरपालिकाले शैक्षिक सामग्री, बसाइ व्यवस्थापन, शिक्षिकालाई तालिम लगायतमा सहयोग गरेपछि निजी विद्यालय छुटाएर अभिभावकले बालविकास केन्द्रमा भर्ना गरेका हुन् । ‘पहिला जाने–आउने मात्रै थियो,’ स्थानीय अभिभावक अमृत सुवेदीले भने, ‘अहिले सबै सुविधा भएपछि बोर्डिङमा किन पैसा तिर्नु भनेर त्यहीं पठाइयो । धेरै राम्रो छ ।’ बाल कक्षामा सिकाइ उपलब्धि सुधार हुँदै गएपछि अभिभावकले निजी विद्यालय तथा मन्टेश्वरीमा पठाएका बालबालिका पनि सामुदायिकमै पठाउन थालेका छन् । सार्वजनिक माविमा सञ्चालित बाल कक्षामा पनि निजी विद्यालय छुटाएर आउने बालबालिकाको संख्या बढिरहेको शिक्षक हेमराज लामिछानेले बताए ।

म्याग्दीका विभिन्न सामुदायिक विद्यालयमा इन्टरनेट र कम्प्युटर प्रविधिमा आधारित कक्षाकोठा बन्न थालेका छन् । कम्तीमा १५ विद्यालयले चक, डस्टर र कालोपाटी विस्थापित गरी स्मार्ट कक्षा प्रयोगमा ल्याएका छन् । सदरमुकाम बेनीको बेनी सामुदायिक माविसमेत अन्नपूर्ण गाउँपालिकाको सर्वोदय मावि तातोपानी, मुक्तमार्ग मावि घार र हिमाञ्चल मावि नागीले स्मार्ट बोर्ड प्रयोग गरी अध्ययन/अध्यापन गराएका छन् । विद्यालयमा विद्युतीय पुस्तकालय पनि प्रभावकारी भएको छ ।
‘हाम्रो अध्ययन/अध्यापन डिजिटल फर्ममा लैजाने प्रयास सुरु गरेका छौं । स्क्रिन टच प्रविधिमा प्रवेश गरेका छौं,’ हिमाञ्चल माविका प्रधानाध्यापक रमन पुनले भने, ‘अब कक्षाकोठा, शिक्षक र विद्यार्थी सबै स्मार्ट कक्षा र विद्यालयको अनुगमन पनि सीसीटीभीबाटैहुन्छ।’ डिजिटलाइज्ड विद्यालय र स्मार्ट कक्षाकोठा भन्दै अन्नपूर्ण गाउँपालिकाले विद्यालयमा स्मार्ट बोर्ड, टीभी, कम्प्युटर र अन्य उपकरण उपलब्ध गराएको थियो ।

गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक नपाउने समस्या सुल्झाउन अन्नपूर्णले बजेट विनियोजन गरी सबै ९ र १० कक्षामा अनिवार्य टेलिटिचिङको प्रयास थालेको छ । कक्षालाई डिजिटलाइज्ड गर्न स्मार्ट टीभी तथा अन्य उपकरण जडान गर्ने, इन्टरनेट विस्तार गर्ने, प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन गर्ने र प्राविधिक जनशक्ति तयार पार्ने काम गरिरहेको गाउँपालिकाले जनाएको छ । विद्यालयमा छुट्टै आईसीटी कक्षा टेलिटिचिङको पूर्वाधार सुधार गर्न २० लाख र प्रत्येक वडाले प्रतिविद्यालय थप ५–५ लाख बजेट खर्च गरेका छन् ।

गाउँपालिकाले बर्सेनि शिक्षालाई आधुनिकीकरण तथा गुणस्तर सुधार गर्न बजेट छुट्याउने प्रतिबद्धता जनाएको छ । ‘सबै १० माविलाई डिजिटलाइज्ड गराउन गाउँपालिकाले स्मार्ट बोर्ड, कम्प्युटरसमेत सबै उपकरण उपलब्ध गराएका छौं,’ अन्नपूर्ण गापा शिक्षा शाखा संयोजक भरत पुनले भने, ‘सबै माविलाई नेटवर्किङ गरी टेलिटिचिङ गराउन खोजेका हौं । तर केही विद्यालयमा इन्टरनेटको स्पिड कमजोर हुँदा समस्या देखिएको छ ।’ गापाले सबै आधारभूत तहमा अनिवार्य अंग्रेजी माध्यमबाट अध्ययन/अध्यापन सुरु गरेको छ । ‘हाम्रो पहिलो प्राथमिकता शिक्षा हो,’ गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘पाँच वर्षमा सबै विद्यालयमा अंग्रेजी भाषा अनिवार्य गर्ने, सबैमा डिजिटल प्रविधियुक्त बनाउने, शैक्षिक गुणस्तर बढाउन शिक्षकको मनोबल वृद्धि गर्ने, उपयुक्त पाठ्यक्रम पढाउने लक्ष्य हो ।’
बालबालिकालाई नियमित रूपमा विद्यालय उपस्थित गराउने उद्देश्यले सञ्चालन गरिएको दिवा खाजा सेवा तनहुँमा प्रभावकारी बन्दै गएको छ । जिल्लाको व्यास नगरपालिकामा दिवा खाजा सेवाको कार्यक्रमपछि विद्यार्थीको उपस्थिति संख्या बढेको व्यास नगरपालिकाका नगर शिक्षा अधिकारी नरेन्द्रप्रसाद रेग्मी बताउँछन् । नगरपालिकाभित्रका ७५ सामुदायिक विद्यालयका एक हजार ८ सय ८२ विद्यार्थीलाई दिवा खाजा सेवा प्रदान गरिएको छ । उनले भने, ‘बालविकासदेखि कक्षा १ सम्मका विद्यार्थीको उपस्थितिअनुसार प्रतिविद्यार्थीलाई १५ रुपैयाँका दरले स्कुलको बैंक खातामा जम्मा गरिदिन्छौं । यस कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षको पुस १ गतेबाट चैत मसान्तसम्मका लागि २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।’ दिवा खाजा सेवा सञ्चालनपश्चात् नियमित उपस्थित हुने विद्यार्थीको दर बढेको व्यास–१ निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए । उनले भने, ‘कार्यक्रमले विद्यालय छोड्ने विद्यार्थीको संख्या पनि घटेको छ र विद्यार्थीलाई पढ्ने हौसला मिलेको छ ।’

विद्यालयमा विद्यार्थीलाई कार्पेट र उमेर अनुसारको बेन्चको व्यवस्थापन गर्नका लागि पनि नगरपालिकाले आन्तरिक स्रोतबाट ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । रेग्मीले भने, ‘अहिले २६ विद्यालयलाई छनोट गरेर विद्यार्थीको बसाइ व्यवस्था राम्रो नभएकाले नगरपालिकाले बसाइ व्यवस्थापन कार्यक्रम ल्याएको हो ।’ नगरपालिकाले गरिब, शारीरिक रूपमा अशक्त विद्यार्थीका लागि पोसाक भत्ताको कार्यक्रम अगाडि बढाएको जनाएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ जगतको सरस्वती विद्यामन्दिर रामकुमारी आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ३ सम्मका विद्यार्थीलाई दिउँसो खाजाको सुविधा छ । विद्यालयमै पोषिलो खाजाको व्यवस्था भएपछि विद्यार्थी नियमित आउने गरेका छन् भने अभिभावकले पनि नियमित पठाउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक पञ्चबहादुर गुरुङका अनुसार बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको छ । खाजाका लागि
मर्स्याङ्दी गाउँपालिकाले चालु वर्ष ४३ हजार ४ सय ४३ रुपैयाँ सहयोग गरेको छ ।
मर्स्याङ्दीका ३५ विद्यालयका बालविकासदेखि कक्षा ३ सम्मका स्कुले बालबालिकालाई गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको हो । एक विद्यार्थीलाई वार्षिक १ हजार ६ सय ७९ रुपैयाँका दरले बजेट विनियोजन गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख देवराज पौडेलले बताए । उनका अनुसार पढाइ हुने दिनमा खाजाको सुविधा उपलब्ध गराइएको हो ।

मर्स्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षमा बालविकासदेखि ३ कक्षासम्मका बालबालिकालाई दिवा खाजाका लागि २० लाख बजेट विनियोजन गरेको छ । १२ कक्षासम्मका २, १० कक्षासम्मका ७, ८ कक्षासम्मका ५ र ५ कक्षा सम्मका २१ विद्यालयका बालविकासदेखि ३ कक्षा सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको पौडेलले बताए । ‘दिउँसो खाजाको व्यवस्था गरिएपछि पढाइ छोडेका समेत विद्यालय आउन थालेका छन्,’ उनले भने । मर्स्याङ्दीमा ३८ पूर्व प्राथमिक विद्यालय (बालविकास केन्द्र) सञ्चालन हुँदै आएकामा गाउँपालिकाले थप ८ वटाको व्यवस्थापन गरेको छ । यसका लागि बालविकास सहयोगी कार्यकर्तालाई तलबको व्यवस्थासमेत गरेको छ । बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई जाउलो, खिर, रोटीलगायत स्थानीय खानेकुरा खुवाउने उनले बताए । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार प्राथमिक कक्षमा विद्यार्थी कम हुँदै गएपछि दिवा खाजाको व्यवस्था गरिएको हो ।

प्रकाश बराल (बागलुङ), अगन्धर तिवारी (पर्वत), घनश्याम खड्का (म्याग्दी), सम्झना रसाइली (तनहुँ) र आश गुरुङ (लमजुङ)

प्रकाशित : पुस १९, २०७६ १४:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×