कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाले बालीमा नोक्सान

प्रदेश ब्युरो

(धनगढी) — मंसिरमा पानी पर्दा कञ्चनपुरको लालझाडी गाउँपालिका–३, नन्द गाउँका भज्जी राना खुशी भएका थिए । सिँचाई गर्नुपर्ने बेला भएको वर्षाले गहुँसँगै मसुरो बाली सप्रिने उनको विश्वास थियो । केही दिनपछि बारीमा युरिया मल हाले । दुबै बाली हर्लक्कै बढ्यो पनि । तर, केही दिनयता लगातारको वर्षाले खेत डुबानमा परेपछि गहुँ पहेँलो हुन थालेको छ । ‘पानीसँगै हावा पनि चलेर बढी नोक्सान गर्‍यो,’ भज्जीले भने, ‘खेत पूरै डुबानमा पर्दा गहुँ र
मसुरोका बोट देखिएका छैनन् ।’

वर्षाले बालीमा नोक्सान

उनका अनुसार गाउँभरिका सबैका खेत डुबानमा परेका छन् । भज्जीको मात्रै ५ विघा खेतमा पानी जमेको छ । कञ्चनपुरको अधिकांश क्षेत्रमा वर्षाका कारण हिउँदे बाली प्रभावित बनेको हो । ‘धेरै दिनपछि सुकेको खेत फेरि डुबानमा परेको छ,’ भीमदत्त नगरपालिका–१० का मनोज चन्दले भने, ‘अब त गहुँबाली पूरै पहेँलो हुन थालेको छ ।’ उनका अनुसार टमाटर र आलुमा समेत वर्षाले नोक्सान गरेको छ ।


कञ्चनपुरमा ३५ हजार हेक्टरमा गहुँ र १७ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ । जिल्लाको दक्षिणी क्षेत्रमा तोरी र मसुरो खेती बढी गरिन्छ ।


‘चिम्ट्याइलो माटो भएको खेतमा पानी जमेर हिउँदे बालीमा धेरै असर पुर्‍याएको देखिन्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने, ‘मसुरोसँगै पाक्न लागेको तोरीलाई पनि प्रभावित गर्छ ।’ भट्टका अनुसार अघिल्लो पटक भएको वर्षाका कारण आलु खेतीमा डढुवा रोगको प्रकोप देखिएको छ । ‘अझै पनि वर्षा भइरहे हिउँदे बाली उत्पादनमा निकै ह्रास आउने देखिन्छ,’ उनले भने, ‘अहिले फल्न थालेको टमाटर, काउली लगायतमा पनि क्षति पुगेको छ ।’


कैलालीका किसानहरु पनि निरन्तरको वर्षाले मर्कामा परेका छन् । आलु, तरकारी, मसुरो, होचो क्षेत्रमा लगाएको गहुँलगायत बालीमा समेत असर परेको किसानको भनाइ छ । ‘एक विघा क्षेत्रफलमा लगाएको तरकारी हिउँदे वर्षाले सखाप पार्‍यो,’ कैलाली हसुलियाका सुखीराम चौधरीले भने, ‘ऋणमा डुबिने भइयो ।’ उनले जमिन भाडामा लिएर आलुसहित हरियो तरकारी रोपेका छन् । अघिल्लो वर्षभन्दा धेरै क्षेत्रफल लिजमा लिएर खेती गरेकोमा बढी क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।


‘एक लाख जति लगानी गरेको थिएँ,’ उनले भने, ‘तरकारी नबच्दा घर खर्च चलाउन पनि मुश्किल हुने भयो ।’ सुखीरामले परम्परागत कृषि प्रणाली छोडेर केही वर्षयता व्यावसायिक खेती गर्दै आएका छन् । तरकारी खेतीकै आम्दानीबाट खाद्यान्न किन्ने योजना चौपट भएको उनले दुःखेसो पोखे ।


उनीजस्तै कैलालीका अधिकांश किसानलाई यस्तै चिन्ता थपिएको छ । हसुलियाका अर्का किसान नेपालु चौधरीले वर्षाले पुर्‍याएको क्षतिको अनुमगन गरेर सरकारले किसानलाई तुरुन्त राहत दिनुपर्ने बताए । उनले गहुँबाली पहेँलो भएको र मसुरो, आलु, तोरी लगभग सखाप भएको गुनासो गरे । हिउँदे बालीमा आवश्यकताभन्दा बढी पानी हुँदा र घाम नलाग्दा क्षति पुगेको हो ।


टीकापुर क्षेत्रमा पनि अवस्था उस्तै रहेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाका कृषि प्रमुख भरत कँडेलले बताए । उनले भने, ‘घाम नलागेपछि विषादी छरेको–छर्‍यै गर्नुपर्छ । बाली बचाउन लगानी धेरै लाग्छ । केही किसानले त विषादी छर्केर बाली जोगाएका छन् । धेरैजसोको आलु र टमाटरमा क्षति भएको छ ।’ किसानको बाली क्षति हुने क्रम जारी रहेकोले क्षतिको पूरा विवरण अहिले नै दिन नसकिने कँडेलको भनाइ छ । कैलालीको भजनी नगरपालिका–३, ७ र ८ मा पानीले गहुँबालीमा क्षति पुगेको छ । करिब ५० हेक्टरमा लगाइएको गहुँ, मसुरो, तोरीबालीमा क्षति पुगेको भजनी–७ का किसान तेजराम चौधरीले बताए । उनका अनुसार चिम्टाइलो माटो रहेकोले वर्षाको पानी धेरै दिनसम्म सञ्चित हुँदा हिउँदे बाली नष्ट हुँदै गएको हो । भजनीको ढुसी गाउँमा मात्र करिब १२ विघाको बाली नष्ट भएको अर्का किसान ज्ञानबहादुर चौधरीले सुनाए । नसुक्दै थप पानी परिहेकोले खेतमा बाली पहेँलिँदै मर्न थालेको उनको भनाइ छ । हिउँदे बाली राम्रो उब्जाउ हुने क्षेत्र भए पनि पानीले गर्दा लगानी पूरै खेर जाने अवस्था आएको ज्ञानबहादुरले बताए । उनले भने, ‘सबै खेतमा गहुँ छरेको छु, बीउ छर्दा मल, पानीमा खर्च गरियो, बाली सप्रने बेला वर्षा हुँदा बोट नै मर्न थालेको छ ।’


क्षतिका सम्बन्धमा लगत लिने काम सुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले जनाए । भजनी–३, ७ र ८ वर्षातमा डुबानको चपेटामा पर्ने भएकाले किसानले हिउँदे बाली मात्र लगाउने गरेका छन् ।


कैलालीमा वर्षाले हिउँदे खेतीमा पुर्याएको क्षतिबारे स्थलगत अनुगमन गरेर फर्केका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत खाद्य सुरक्षा कृषि व्यवसाय प्रर्वद्धन शाखाका प्रमुख उपसचिव खगेन्द्रप्रसाद शर्माले पनि आलु, मसुरो, तोरी र तरकारी बालीमा बढी क्षति पुगेको बताए । शर्माका अनुसार कैलालीमा गहुँ ३४ हजार, तोरी १९ हजार, मसुरो २२ हजार, आलु ५ हजार र तरकारी २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइन्छ । उनले हिउँदे बालीको कूल गार्हस्थ उत्पादनमा वर्षाले १५ देखि २० प्रतिशत कमी ल्याउनसक्ने आकलन गरे । पहाडी जिल्लामा भने हिमपात र वर्षाले फाइदा पुग्ने उनको भनाइ छ ।


भवानी भट्ट (कञ्चनपुर), मोहन बुढाऐर (धनगढी), गणेश चौधरी (टीकापुर)

प्रकाशित : पुस २७, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?