संधै चर्चामा अजयमेरु

डीआर पन्त

(डडेलधुरा) — जिल्लाका सातवटै स्थानीय तहमध्ये सबैभन्दा वढी विकास बजेट र प्रदेश तथा संघीय सरकारका सवैभन्दा वढी विकास योजना भएको गाउँपालिकाका रुपमा अजयमेरु गाउपालिकाले आफ्नो पहिचान बनाएको छ । तत्कालीन माओवादीले पूर्ण वहुमतका साथ निर्वाचन जितेको डडेलधुराको एकमात्र यो गाउँपालिका आफ्नो अढाइ बर्षे कार्यकालमा प्रदेश भरि चर्चाको बिषय बनेको हो ।

निर्वाचन पछि तेस्रो बजेट कार्यान्वयन गरिरहेको अजयमेरुले २ बर्षका बजेटमा ९९ प्रतिशत बजेट खर्च र विकास योजना सम्पन्न भएको गाउँपालिकाका रुपमा पनि प्रदेश भरिनै स्यावासी बटुल्यो । आफ्नो गाउँपालिका भित्र निर्माण भइरहेका प्रदेश र संघीय सरकारका विकास योजनामा भइरहेको अनियमिततालाई सार्वजनिक गरेर पनि गाउँपालिकाले चर्चा कमायो । विकास निर्माणका योजना र नीतिगत निर्णयका कारण मात्र चर्चामा रहेन । सामाजिक रुपमा अपहेलित भाँण जातीवाट निर्वाचित गाउँपालिका उपप्रमुख कलावती भाँणले महिला र पिछडा वर्गकाबीचमा सुरु गरेका बिभिन्न सुधारात्मक अभियानले पनि गाउँपालिका चर्चामा रह्यो ।


जातीय छुवाछुत, महिला माथि हुने घरेलु हिँसा, छाउपडीसहित समाजिक कुरितिका बिरुद्ध उनले चलाएका अभियानका कारण पनि चर्चामा रह्यो अजयमेरु गाउँपालिका । गरिव, अल्पसंख्यक, उत्पीडित, असक्त, असहाय र बृद्ध नागरिकलाइ हरेक महिना टोल टोलमा पुगेर स्वास्थ्य सेवा दिने गाउँपालिकाको उदाहरणीय अभियानलाइ धेरै जसो स्थानीय तहले अनुकरणसमेत गरेका छन । यसका साथै स्वास्थ्यमा पहुँच हुन नसकेका महिला र वालवालिकाको स्वास्थ्य चेकजाँच गर्ने अभियानले पिएनसी तथ्याँकमा देश भरि नै पहिलो नम्वरमा आउन सफल भएको छ गाउँपालिका । सहस्राव्दी लक्ष्य हासिल गर्ने सरकारी लक्ष्य अनुरुप प्रदेश भरीका स्थानीय तहमा ६०/६५ प्रतिशत भन्दा वढी प्रगति भएको छ भने अजयमेरुले यसमा पनि ८५ प्रतिशत प्रगती गरेर सवैलाइ उछिनेर चर्चा कमाएको छ ।


दुइ बर्षमा एक अर्व वढी बजेट बजेट खर्च गरेको गाउँपालिकाले सकारात्मक रुपमा यसरी चर्चा कमाएपनि अढाइ बर्षे कार्यकालमा बिभिन्न नकारात्मक कामले पनि गाउँपालिकाले चर्चा कमाएको छ । आवश्यकता भन्दा पनि कार्यकर्तामूखी योजना, विकास योजनाहरूमा आर्थिक अनियमितता, कमिशनको लेनदेन, अपारदर्शी र सूचना लुकाएर काम गरेको जस्ता गम्भीर आरोपमा पनि गाउँपालिकाले चर्चा कमायो । कार्यकर्ताको भागवण्डा लाग्ने गरि योजना वनाउने, एकलौटी निर्णय गर्ने र अधिकांश योजनामा गुणस्तरीय काम हुन नसकेको बिषयमा पनि गाउँपालिकाको चर्चा रह्यो ।


‘निर्वाचित भएको अढाइ बर्षमा कति गर्न सकिन्छ ?’ गाउँपालिकाको अढाइ बर्षे कार्यकालमा भएका गतिविधि र परिवर्तनका बिषयमा सञ्चारकर्मीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका प्रमुख उमेश भट्टले भने, ‘धेरै गर्न नसकेपनि परिवर्तनको जग वसाउने अभियानलाइ संस्थागत गर्ने प्रयास गरिरहेका छौँ ।’


‘पहिलो वर्षमा सामान्य पूर्वाधार विकाससँगै कानुन निर्माण, गाउँपालिका सञ्चालन र गति दिन आवश्यक पूर्वाधार निर्माण र नीतिगत रुपमा विकासका सम्भाब्यता अध्ययन जस्ता काम मात्र हुन सके’ उनले भने, ‘वाँकि रहेको डेढ बर्षमा विकास र समृद्धिका लागि दीर्घकालीन योजना निर्माण गरेर काम भइरहेको छ ।’ उनले धेरै काम गर्दा अलि वढी आलोचना हुनु स्वभाविक भएको बताए । गाउँपालिका प्रमुखले भने ‘आलोचनालाइ हामीले सुधार गर्ने माध्यमका रुपमा लिएका छौं ।


कृषि उत्पादन, उत्पादित वस्तुको बजार सहज उपलब्ध हुने वातावरण, कृषकको उत्पादन सुपथ मुल्यमा बजारसम्म पुगाउन टोल टोलमा यातायातको सुबिधा, घर घरमा स्वास्थ्य सेवाको पहुँच, कमजोर वर्ग, बृद्धबृद्धा, महिला र वालवालिकाको स्वास्थ्यमा पहुँच पुगाउने योजना जस्ता तल्लो वर्गका मूलभूत आवश्यकतामा आधारित योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि प्रमुख भट्टले सञ्चारकर्मीलाइ जानकारी दिए । बिद्यालय तहको शिक्षा र प्राबिधिक शिक्षामा आमुल सुधार गर्न सुरु गरिएका योजनाले पनि सकारात्मक परिणाम दिन सुरु गरेको उनले दाबी गरे ।


०४२ मा सुरु भएर अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको उग्रतारा– मेलौली राजमार्ग निर्माणका लागि गाउँपालिकाको पहलमा संघीय सरकारको सहयोगमा कालोपत्रे गर्न ७२ करोड वढीको योजना स्वीकृत भएपछि गाउँपालिकाको स्वरुप नै परिवर्तन हुनेमा सवै आशावादी भएका छन ।


गाउँपालिका प्रमुख भट्टले भने, ‘४० करोड बजेट स्वीकृत भइसकेको छ ।’ उग्रतारा– मेलौली राजमार्ग कालोपत्रे भएपछि गाउँपालिकाको कुनैपनि ठाउँवाट सदरमुकाम पुग्न डेढ घण्टा भन्दा वढी समय नलाग्ने उनले बताए । उनले भन,े ‘यस आर्थिक बर्षको बजेटमा उत्पादनका क्षेत्रमा ठूलो लगानी गरिरहेका छौं ।’ तरकारी र बिभिन्न बिउविजनको पकेट क्षेत्रका रुपमा विकसित गर्ने उद्देश्यका साथ काम भइरहेको पनि उनले जानकारी दिए ।कुनै समय नेपाली कांग्रेसको गढ रहेका ५ वटा साविकका गाविस मिलेर वनेको अजयमेरु तीन पटक पूर्व प्रधानमन्त्री देउवासँग संसदीय निर्वाचितमा पराजित नेकपा नेता खगराज भट्टको गृह क्षेत्र पनि हो ।

प्रकाशित : पुस २६, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?