सहकारीले चर्को व्याजबाट मुक्ति

डोटी — भगुदेवी साउँद र उनकी बुहारी जसु साउँदको मुहारमा गत मंगलवार छुट्टै चमक थियो । भगुदेवीका हातमा १४ हजार ५ सय रुपैयाँको मुठो थियो । उनले ३/४ पटक रुपैयाँ गनिन् । बुहारीलाई पनि दोहोर्‍याएर गन्न लगाइन् । सुस्केरा हाल्दै उनले भनिन्, ‘अब यति भएपछि जेठी बुहारी सेतुको ज्यान कसो नबाँच्ला ।’ डोटीको पूर्वीचौकी गाउँपालिकास्थित एक सहकारीमा भेटिएकी ४९ वर्षिया भगुदेवी मंगलबार ऋण लिन आएकी थिइन् । 

चार बर्षअघि उनको श्रीमान् बिते । ६ छोराकी आमा उनलाई त्यही बर्ष माइलो छोरा बिरामी पर्दा थप बिपत्तिले सतायो । छोराको ज्यान जोगाउन उनीसँग उपचार खर्च थिएन । उनले गाउँका बाज्या (ससुरा) नाता पर्नेसँग ६० प्रतिशत मासिक ब्याज दिने सर्तमा १० हजार ऋण झिकिन् ।


त्यो रकम गत बर्ष मात्र भारतमा रोजगारी गर्न गएका छोराले चुक्ता गरे । छोराले ३ बर्षको १८ हजार ब्याज र १० हजार साँवागरि २८ हजार तिरेर ऋणबाट आमालाई मुक्त गराए । त्यसपछि पनि विभिन्न समयमा गाउँघरमै चर्को ब्याजमा ऋण झिकेर काम टारेको उनले सुनाइन् ।


अहिले गाउँमै स्थापना भएको सहकारी संस्थाको सदस्य भएपछि भने उनलाई ऋण पाउन सजिलो भएको छ । उनले जेठी बुहारी सेतुको उपचारका लागि एक बर्षको भाका राखेर १८ प्रतिशतका दरले १४ हजार ५ सय ऋण लिएको सहकारीका ब्यवस्थापक उदयसिहं साउँदले बताए ।


पूर्वीचौकी गाउँपालिका ७ पोखरीका चौंठे साउँद त्यस क्षेत्रका मेहनती किसानमध्येमा पर्छन् । उनी डेढ बर्षयता गाउँमा भैसी र बाख्रा पालनबाट आएको आम्दानीले परिवारको खर्च चलाउँदै आएका छन् । ‘गाउँघरमा ब्यवसाय गर्छु, सहयोग गर्नुस् भन्दा कसैले पत्याउदैनथे ,’ चौंठेले भने, ‘गाउँका साहुँबाट ऋण झिकेर काम गर्न आँटे प्रगतिको साटो उल्टो टाँट पल्टिनु पर्‍यो । म जस्तो गरिबले सहकारीबाट बिना धितो ५० हजार ऋण ब्यवसायका लागि पाएपछि सुरु भएको मेरो यात्राले अहिले खुसी ल्याउँदैछ ।’ उनी जस्तै खगी बडैलाले पनि सहकारीबाट बिना धितो ऋण लिएर अहिले गाउँमा कुखुरा पालन गरिरहेका छन् ।


यी केही उदाहरण मात्र हुन् । पूर्वीचौकीका विभिन्न वडाहरूमा स्थापना भएका सहकारीबाट सहुलियतपूर्ण रुपमा प्राप्त ऋणले आयआर्जनमा लगानी गरी ब्यवसाय गरिरहेका थुप्रै छन् । पूर्वीचौकी गाउँपालिका ७ का अध्यक्ष प्रकाश साउँदले भने, ‘सहकारीबाट अधिकतम जनताहरूले राहत पाइरहेकाले वडा कार्यालयले पनि सहकारीको एक जना कर्मचारीको खर्च ब्यहोर्दै आइरहेको छ ।’ उनले वडाका कुनै पनि घरधुरीले सामान्य घरायसी समस्या र आयआर्जनका लागि ब्यावसायिक योजना ल्यायो भने ठुलाबडा मालिक, ब्यापारी र साहुँको परिबन्धमा पर्नु नपर्ने बताए ।


७ नम्बर वडामा रहेको पूर्वीचौकीका सबै वडाहरूमा सहकारी स्थापना छन् । कतिपयले आफ्नै भौतिक संरचना पनि खडा गरेका छन् । कतिपयले गाउँघरमै करोडभन्दा बढीको रकम लगानी गर्दै आएका छन् । सहकारीहरूको क्षमता अभिबृद्धिका लागि घुम्तीकोषमार्फत ब्यावसायिक योजनाका आधारमा आयआर्जन, नीतिनियम निर्माण, ब्यवस्थापन तथा शेयर सदस्यहरूको क्षमता अभिबृद्धिमा असल छिमेकी नेपालको सहयोगमा सामुदायिक विकास मञ्चले काम गरिरहेको छ ।


पोखरी सहकारीमा साविकको पोखरी गाबिसका सबै घरधुरी सदस्य रहेका छन् । १ हजार २१ शेयर सदस्य रहेको उक्त सहकारीको स्थापनापछि विपन्न परिवारले गाउँघरका साहुँहरूले लिने चर्को ब्याजबाट भने मुक्त गराएको ब्यवस्थापक साउँदको भनाई छ ।


प्रकाशित : पुस २६, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?