कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संरक्षणको पर्खाइमा गर्भा दरबार, सडक सञ्जालमा जोडियो 

अर्जुन शाह

(कैलाली) — पर्यटकीय क्षेत्र बन्नसक्ने ऐतिहासिक गर्भा दरबार संरक्षण अभावमा खण्डहर बन्न थालेको छ । सम्बन्धित निकायले चासो नदिँदा दरबार ओझेलमा परेको हो । सय वर्षअघि निर्माण भएको उक्त दरबार कैलालीको चुरे गाउँपालिका–४ खैरालामा छ । खडक शमशेर जबराले विसं १९७९ मा सुरु गरेर १९८४ मा दरबार निर्माण गराएका थिए । दुवै छेउतिर बाघको टाउको आकृतिमा आकर्षक मोहडा छ । 

संरक्षणको पर्खाइमा गर्भा दरबार, सडक सञ्जालमा जोडियो 

त्यतिबेलै जापानी जस्तापाता राखिएको छानो अहिले भत्किएको छ । भित्र पनि चुहिएर काठ कुहिएको छ । दरबारभित्र घाँस उम्रिएको र भित्ता भत्किँदै गएको स्थानीयले जानकारी दिए । दरबारभित्र र वरिपरि रहेको झाडी गत महिना दाह्री ग्याङमा आबद्ध युवाले सरसफाइ गरेका थिए । खैराला क्षेत्र आफैमा पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । त्यसै स्थानमा रहेको पुरातात्विक महत्वको गर्भा दरबारको संरक्षण गर्न सके पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।


खैराला गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर मल्लका अनुसार २०५५ अघि दरबारको भौतिक अवस्था ठीकै थियो । त्यसयता भत्किन थालेको हो । स्थानीयका अनुसार बीचमा तत्कालीन माओवादी कार्यकर्ताले आगजनी पनि गरेका थिए । ८० वर्षीय जीवन गुरुङका अनुसार राणाशासनको अन्त्यपछि पनि राणा परिवार बस्ने गरेको उक्त दरबार ०४० सालमा तत्कालीन गाउँ पञ्चायतको स्वामित्व आएको हो । १३ रोपनीमा फैलिएको दरबार त्यसबेला सरकारले ७५ हजारमा राणा परिवारबाट खरिद गरेको गुरुङले बताए । मास पिसेर बनाइएको गारोको चिनाइ रहेको गर्भा दरबारमा ८३ झ्याल ५३ ढोका छन् । दरबारमा तीन खण्ड र तीन तला छन् । दरबारभित्र भुँइतले सुरुङ समेत बनाइएको छ । जो पछिल्लो समयमा पुरिँदै गएको छ ।


राणाहरू त्यही दरबारको बाटो भएर डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी र तेलेको जल्फु काफलीमा बास बस्दै डोटीको सिलगढी आवतजावत गर्थे । ‘पहाड र तराईको बीच क्षेत्रमा पर्ने भएकाले राणाहरूले तलमाथि आवतजावत गर्न उक्त दरबार निर्माण गराएका हुन्,’ गुरुङले भने । मोहन्यालको खैराला क्षेत्र भौगोलिक रुपमा रमणीय हुनुका साथै उपयुक्त हावापानी छ । खैराला सुन्तला, अदुवालगायत फलफुल र कृषि उत्पादनका लागि प्रख्यात छ । तराईसँग पनि नजिकै भएकाले राणा परिवारले चुरे क्षेत्र रोजेको अर्का स्थानीय ८० वर्षीय पदमसिंह धामीले बताए ।


सडक सञ्जालमा जोडियो

दरबार क्षेत्र सडक सञ्जालमा जोडिएपछि चुरे क्षेत्रमा चहलपहल बढेको छ । दुई महिनाअघि त्यहाँसम्म कच्ची सडक पुगेको हो । जिप र ट्र्याक्टर सञ्चालन हुन थालेका छन् । भौगोलिक रुपमा विकट भएकोले तराई क्षेत्र नजिकै भए पनि कैलालीको दुर्गम ठाउँ हो खैराला क्षेत्र । सवारीसाधनहरू सञ्चालन हुन थालेपछि आवागमन र मालसामान ढुवानीका लागि सहज भएको स्थानीय किसान वीरबहादुर गुरुङले बताए । पूर्वपश्चिम राजमार्गको चौमाला सडकखण्डदेखि उत्तरी चुरे पहाड गर्भा दरबारसम्म पैदल हिँडेर एक दिन लाग्ने गरेकोमा सडक सञ्जाल जोडिएपछि अब एक घण्टामै पुग्न सकिने भएको छ ।


चौमाला बजारदेखि झण्डै २२ किलोमिटरको दूरीमा रहेको गर्भा दरबार क्षेत्रसम्मको सडक सञ्जाल पुर्‍याउन गत वर्ष ८० लाख खर्चिएको त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य दीर्घ सोडारीले बताए । ‘संघ, प्रदेश र स्थानीय तहको गरी झण्डै ३ करोडको लागतमा गर्भा दरबारसम्म सडक पुगेको हो,’ उनले भने । उनका अनुसार हाल पुरातत्व विभागमा ‘ख’ श्रेणीको पुरातात्विक संरचनामा सूचीकृत यो दरबारलाई पहिलो श्रेणीमा ल्याउन पहल भइरहेको छ ।


जिल्ला समन्वय समिति कैलालीले तेस्रो जिल्लासभा गत महिना यही गर्भा दरबारमै सञ्चालन गर्‍यो । समितिका संयोजक सूर्यबहादुर थापाको अगुवाइमा चुरेको गर्भामै जिल्लासभा गर्ने जमर्को गरिएको जिससका अधिकृत वीरबहादुर शाहीले बताए । जिल्लासभामा १३ वटै स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशसभाका सांसदहरू भेला भएका थिए । गर्भा दरबारको प्रचारप्रसार गरेर मुख्य पर्यटन गन्तव्यको रुपमा विकास गर्न त्यहीँ जिल्लासभा राख्ने निर्णय गरेको जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुर थापाले बताए । थापाले भने, ‘गर्भा क्षेत्रलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गरेर स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्‍याउन सकिने निकै सम्भावना छ । त्यसका लागि संयुक्त प्रयास गर्नु पर्छ ।’


प्रकाशित : पुस १७, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?