कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थारू बस्तीमा भलमन्साको बहस

मोहन बुढाऐर

(थापापुर, कैलाली) — माघी आउन अझै पन्ध्र दिन बाँकी छ । तर थारू समुदायमा अहिल्यैदेखि यसको चहलपहल सुरु भइसक्यो । माघीमा खर्चपात जोहोसँगै भलमन्सा (मुखिया) छनोटको बहस गरिँदै छ । 

थारू बस्तीमा भलमन्साको बहस

‘माघीका दिन घोषणा हुने भए पनि कसलाई भलमन्सा र घरमूली छान्ने भन्ने विषयमा बहस सुरु भइसकेको छ,’ थापापुर गाउँका युवा गंगा चौधरीले भने । भजनी नगरपालिकाको थापापुर थारू समुदायको बाहुल्य रहेको बस्ती हो ।


उहिले भलमन्सा र बडघर छनोट सर्वसम्मत ढंगबाट हुन्थ्यो । बढीजसो जमिनदार थारू किसनुवाको परिवारबाट छानिन्थ्यो । अहिले यो चलन हटेको छ । कुनै बस्तीमा त चुनावै हुन थालेको छ । केही बस्तीमा भने इच्छुकमध्ये बहुमतका अधारमा छनोट गरी सर्वसम्मति जुटाइँदै आएको छ ।


गत वर्ष भलमन्साका लागि कटानपुर, महादेउली, पल्टुपुर र थापापुरमा चुनाव भएको थियो । पुरुष मात्रै भलमन्सा हुने प्रचलन हट्दै गएको छ । गत वर्ष महादेउलीमा सुमित्रा चौधरी भलमन्सा उम्मेदवार भएकी थिइन् । उनी थोरै मतले लेखराम चौधरीबाट पराजित भइन् ।


‘भलमन्साले वर्ष दिनभरि गरेका राम्रा/नराम्रा कामको लेखाजोखा हुँदैछ,’ गाउँका अर्का युवा हेरुलाल डगौराले भने, ‘जो भए पनि गाउँको पढेलेखेको र समान व्यवहारमुखी युवा छनोटमा पर्छन् ।’ तर भलमन्सा छनोटको परम्परागत तरिकामा राजनीतिक छिटा पर्न थालेको उनले बताए । ‘कांग्रेस र नेकपाका खाटी कार्यकर्ता थारू संस्कारभित्र पस्न थालेको पछिल्लो चुनावी परिणामले देखाएको छ,’ उनले भने, ‘राजनीतिक आस्थाका अधारमा भलमन्सा छनोट गर्दा उसले गर्ने न्यायमा पनि असर पर्न सक्छ ।’


थारू समुदायमा जसले गाउँको मन जित्न सक्यो उही गाउँको मुखिया अर्थात् भलमन्सा, बडघर बन्ने प्रचलन रहेको थारू बुद्धिजीवी प्रभात चौधरी बताउँछन् । ‘भलमन्साको काम गाउँका हरेक समस्यासँग हुन्छ,’ उनले भने, ‘यो पद गाउँको परिचालक पनि हो ।’


वर्षदिनका लागि छानिने भलमन्साको रोहबरबिना गाउँमा जन्तीसमेत हुँदैन । ‘झगडा, विवाद मिलाउने काम मात्रै गर्दैनन्,’ उनले भने, ‘दण्ड जरिवानासमेत दिन सक्छन् ।’ गाउँको विकासका काममा पनि भलमन्साको हात रहने चौधरीले बताए । भलमन्सासँगै परिवारभित्र किसनुवा छनोटको बहस पनि सुरु भएको छ । ‘परिवारभित्र किसनुवाका लागि वादविवाद बढेको छ,’ हसुलियाका कुलदीप चौधरीले भने, ‘ठूलो परिवारमा त किसनुवाका लागि मतविभाजन नै हुने गरेको छ ।’


थारूहरू प्राय: संयुक्त परिवारमा बस्छन् । कुनै परिवारमा अहिले पनि ५० जनाभन्दा बढी सदस्य छन् । चौधरीका अनुसार कैलारी गाउँपालिका–१ मनाउस्थित अंग्रेजलाल कठरियाको ४९ सदस्यीय परिवार पनि भलमन्साको बहसमा जुटेको छ ।


तीन पुस्ता सँगै रहेको उक्त परिवारमा अङ्ग्रेजलालका छोरा डिल्लीराज घरमूली छन् । घरमूलीको निर्देशनमा घरपरिवारको खटपटन, कामको जिम्मेवारी र व्यवस्थापन गरिने उनले बताए । ‘घरमूलीले राम्रोसँग चलाउन सके घर फुट्ने डर हुन्न,’ चौधरीले भने । उनका अनुसार घरमूलीले ज्येष्ठ नागरिकको रायसल्लाहबाट समस्या समाधान गर्नुपर्छ । घरमूलीका नाममा मात्रै बैंक तथा नगदी कारोबार हुन्छ । घरमूलीकै निर्देशन र सल्लाहमा परिवार सदस्यले चल्नुपर्छ ।


सामान्य रूपमा पढेलेखेको र देशदुनियाँका बारेमा जानेबुझेको सदस्यलाई घरमूली छान्ने प्रचलन छ । तर पछिल्लो समय थारू परिवार पनि सगोलबाट अलग बस्न सुरु भएको धनगढीका रमेश चौधरी बताउँछन् । ‘संयुक्त परिवारमा बस्ने, खटनपटनका लागि एक जनालाई जिम्मेवारी दिन किसनुवा छान्ने चलन थियो,’ उनले भने, ‘सहर र जागिरे परिवारमा अहिले यो चलन हटिसकेको छ ।’

प्रकाशित : पुस १५, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?