कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदुर तराईमा न्यूनतम तापक्रम २ डिग्री, चिसोले जनजीवन प्रभावित

मोहन बुढाऐर

धनगढी — सुदुरको तराईमा दस दिनदेखि घाम झुल्केको छैन । बाक्लो हुस्सु र शीतलहरले चिसो बढ्को बढ्यै छ । यो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम शनिबार २ दशमलव ८ मा पुगेको छ ।

सुदुर तराईमा न्यूनतम तापक्रम २ डिग्री, चिसोले जनजीवन प्रभावित

जल तथा मौसम विज्ञानको फिल्ड कार्यालय अत्तरियाको रेकर्डमा कैलालीमा ६ वर्षपछि न्युनतम तापक्रम २ डिग्री सेल्सीयसमा झरेको हो । कार्यालयका इन्चार्ज गोविन्द झाले सन् २०१३ मा कैलालीको तापक्रम पहिलो पटक शून्य दशमलव ५ डिग्रीसेल्सियसमा झरेको बताए । न्यूनतम ५ डिग्रीभन्दा माथि नै रहने यहाँको मौसम २ डिग्रीमा यो पटक झरेको उनले जानकारी दिए ।

पुस महिनाभरि यहाँ घाम झुल्केको छैन । हुस्सु र शीतलहरले चिसोले जनविन प्रभावित भएको छ । सबैभन्दा बढी मुक्त कमैया, सुकम्बासी र मजदुर वर्गका बालबालिका, वृद्ध–वृद्धा, गर्भवती र सुत्केरी आमा प्रभावित भएका छन् ।


धनगढीको पुरानो विमानस्थलमा बसेका मुक्त कमैया दुखीराम चौधरीले न्यानो लुगा नभएको अवस्थामा धनगढीमा आगो ताप्न दाउरासमेत नपाएको गुनासो व्यक्त गरे । त्यस्तै जिल्लाका विभिन्न स्थानमा अस्थायी टहरा बनाएर बसेका सुकम्बासी परिवारलाई चिसोले सताएको छ । सुकम्बासी र मुक्त कमैयाका बालबालिक, वृद्धवृद्धा, गर्भवती र कमजोर व्यक्तिलाई चिसोले निमोनिया, दम र रुघखोकीको बिमारीले च्याप्न थालेको छ ।

कैलालीका केही स्थानीय तह र सश्स्त्र प्रहरी बल धनगढीले नगर क्षेत्रमा आगो ताप्न दाउराको समेत व्यवस्था गरेको जनाकारी दिएको छ । सेती प्रादेशिक अस्पताल धनगढीका इमरजेन्सी फाँटका इर्न्चाज कृष्ण बोहराले चिसोमा हाईपोथनिया (न्यून रक्त तापक्रम)का बिरामी बढेको बताए । ‘हाईपोथिनियाको कारण ब्लड प्रेसर, मस्तघात लगायतका समस्या वृद्धवृद्धाहरुमा बढी देखिन्छ,’ उनले भने, ‘चिसोमा अस्पतालमा यस्ता बिरामीहरु धेरै आउने गरेका छन् ।’

उनले बालबालिकामा निमोनियाको डर बढी हुने गरेको बताए । चिसोमा आगो बढी ताप्दा समेत धुँवाले हुने रुघाखोकी, दमका बिरामीसमेत आउने गरेको उनले बताए ।

प्रकाशित : पुस १२, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?