कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते 

बझाङ — जयपृथ्वी नगरपालिका–७ मा एक महिला भालुको आक्रमणबाट घाइते भएकी छन् । सोमबार साँझ जयपृथ्वी नगरपालिकाको कोइराली खेतमा भालुको आक्रमणमा परेकी ४० वर्षीया सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन् ।

उनको बझाङ जिल्ला अस्तालमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए । घाइते रोकायाको टाउकोको छालासहितको भित्री भाग निक्लिएको छ ।

एकहप्ता अघिदेखि नै दुईवटा बच्चासहितको माउ जयपृथ्वी नगरपालिकाका गाउँमा पसेका थिए । यी तीनवटै भालुले केही दिन अघि यहाँका स्थानीयका गोठभित्रै पसेरै विभिन्न गाउँका गरी तीन गोरु मारिदिएका थिए । गाउँमा भालु पसेपछि जयपृथ्वी नगरपालिकाका स्थानीय आतंकित भएका छन् । भालुलाई नियन्त्रण लिन नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मंसिरको दोस्रो हप्तातिर खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खप्तड छान्ना गाउँपालिकाका गाउँहरुमा पनि भालु पसेर बस्तुभाउ मारेको थियो । लेकाली जंगलहरुमा हिउँ परेर जाडो बढेका कारण बच्चासहितको भालु घमाइलो ठाउँ खोज्दै बस्तीमा पसेको हुन सक्ने स्थानीयको अनुमान छ ।

प्रकाशित : पुस ८, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?