कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करोडौंका सडकमा खच्चडले ढुवानी

ट्र्याक खुलिसकेका सडकको स्तरोन्नति भन्दै हरेक वर्ष विकास बजेटको ठूलो हिस्सा खर्चिइन्छ तर सवारी तथा ढुवानीका साधन गुड्दैनन् 
डीआर पन्त

(डडेलधुरा) — डडेलधुराको गन्यापधुरा गाउँपालिकाले सुरुकै आर्थिक वर्षमा ४२ वटा ग्रामीण सडकमा विकास बजेटको ७० प्रतिशत बढी खर्च गर्‍यो । दोस्रो आर्थिक वर्षमा थप १७ वटा नयाँ सडक खन्न सुरु गरियो । पुराना ४२ वटा सडकमा मर्मत र सुधारका नाममा गाउँपालिकाको थप ६० प्रतिशत विकास बजेट खर्च भयो ।

करोडौंका सडकमा खच्चडले ढुवानी

चालु आर्थिक वर्षको विकास बजेटमध्ये पनि ६० प्रतिशत बढी सडकमै विनियोजन भएको छ तर निर्माण भएका र निर्माणाधीन सडकमध्ये ३ वटाबाहेक अरू सडकमा यातायातका साधन चल्न सक्दैनन् । सदरमुकाम र केआईसिंह राजमार्गबाट गाउँपालिका जोड्ने सडकमा मात्र यातायातका साधन चल्ने गरेका छन् । मोटर गुड्ने उद्देश्यले निर्माण गरिएका सडकमा खच्चडद्वारा सामग्री ढुवानी गर्नुपरेको छ ।


गाउँपालिका स्थापना हुनुअघि निर्माण भएका २ वटा मुख्य सडकबाहेक नवदुर्गा गाउँपालिकामा ३ वर्षयता निर्माण भएका अन्य कुनै पनि सडकमा यातायातका साधन चल्न सक्ने स्थितिमा छैनन् । ३ वर्षसम्म नवदुर्गा गाउँपालिकाको पनि ६० देखि ७५ प्रतिशतसम्म बजेट ग्रामीण सडक निर्माणमै खर्च भएको छ । गन्यापधुराजति सडक नभए पनि नवदुर्गामा पनि ३ दर्जन ग्रामीण सडक निर्माण भइरहेका छन् । तीमध्ये धेरैजसो निर्माण भइसकेका छन् । अधिकांशमा धमाधम काम भइरहेको छ । ट्रयाक खुलिसकेका सडकको स्तरोन्नति भन्दै हरेक वर्षको विकास बजेटको ठूलो हिस्सा यिनै सडकमा खर्च भइरहेको छ तर सवारी तथा ढुवानीका साधनहरू भने गुड्दैनन् । यी २ स्थानीय तह मात्र होइन । डडेलधुराका कुनैपनि स्थानीय तहले पछिल्लो समय विकासका नाममा निर्माण गरेका अधिकांश सडकमा यातायातका साधन चल्दैनन् । यी ठाउँमा सामग्रीहरू खच्चडले ढुवानी गर्नुपर्ने अवस्था छ । ठूलाठूला उपकरण प्रयोग गरेर ट्रयाक खोलिएका अधिकांश ग्रामीण सडकमा मोटर चल्न नसके पनि खच्चडका लागि ढुवानी गर्न भने निकै सहज भएको छ ।


‘जति सडक बने पनि सर्वसाधारणका लागि हर्ष न विस्मात् भएको छ,’ नवदुर्गा बेलापुरका जयसिंह ऐरले भने, ‘गाउँगाउँमा सडक निर्माण सुरु भएपछि छोडिसकेको खच्चडद्वारा ढुवानी गर्ने काम पुन सुरु गरेको छु ।’ सडक निर्माण सुरु भएपछि घोडा र खच्चडमा ढुवानी गर्ने व्यवसायमा लागेका धेरै विस्थापित भएका हुन् । उनले २ वर्ष नबित्दै पुन: अधिकांशले घोडा खच्चडबाट सामान ढुवानी गर्ने व्यवसाय सुरु गरिसकेका छन् ।’


‘ग्रामीण सडक निर्माण सुरु हुनुअघि डडेलधुरामा मात्र विभिन्न समूहमा गरी २ सय बढी घोडा खच्चडले ढुवानी गर्दै आएका थिए,’ गाँगखेतका खच्चड ढुवानी गर्ने शेरबहादुर मल्लले भने, ‘अहिले पनि घोडा खच्चड व्यवसायीको संख्या घटेको छैन ।’ गाउँपालिका केन्द्रसम्म यातायातका साधन पुगे पनि केन्द्रबाट विभिन्न गाउँमा घोडा खच्चरबाटै ढुवानी हुने गरेको उनले बताए । गाउँगाउँमा सडक निर्माण हुन थालेपछि केही समय घोडा खच्चड चलाउने व्यवसाय गर्नेहरू विस्थापित हुन थालेका थिए । मल्लले भने, ‘यातायातका साधन चल्ने गाउँमा पनि गाडी मोटरबाट अत्यन्त चर्को भाडा लिन थालेपछि पुन: घोडा खच्चडको प्रयोग सुरु भएको छ ।’ हिउँदका ३ महिना र चैत वैशाखबाहेक सदरमुकाम केन्द्रसम्म पनि यातायातका साधन नचल्दा सर्वसाधारणले घोडा खच्चडकै भर पर्नुपरेको उनले बताए ।


सदरमुकामदेखि साबिक बगरकोट हुँदै बैतडीको तल्लो स्वराड जोड्ने एनडी प्रकाश राजमार्ग, उग्रतारादेखि अजयमेरु गाउँपालिका छिचोलेर बैतडीको मेलौली जोड्ने उग्रतारा मेलौली सडक, डडेलधुराको पोखरादेखि साबिक कोटेली मणिलेक हुँदै बेलापुर सेती जोड्ने सडक र डोटीको बुडरदेखि डडेलधुराको भित्री मधेस जोड्ने बुडर जोगवुढा सडकबाहेक पछिल्लो समय स्थानीय तहले निर्माण सुरु गरेका कुनै पनि सडकमा यातायातका साधन चल्न सक्दैनन् ।

‘गाउँगाउँमा निर्माण भएका सडक घोडा र खच्चडका लागि सुधारिएको बाटोजस्तो भएका छन्,’ कोटेलीका पूर्व शिक्षक भोजराज भट्टले भने, ‘हरेक वर्ष विकास बजेटको ठूलो हिस्सा यिनै सडकमा खन्याएर जनप्रतिनिधिले खाने भाँडो बनाएका छन् ।’ सडकले समृद्धि र विकासभन्दा ठूलो विनाश निम्त्याएको भट्ट बताउँछन् । उनले भने, ‘करोडौं खर्च गरेर निर्माण गरिएका सडकमा अहिले पनि घोडा र खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यताले कस्ता सडक बने भन्ने सहज अनुमान लगाउन सकिन्छ ।’


पछिल्लो ३ वर्षमा कम्तीमा ३ दर्जन ग्रामीण सडक निर्माण नगर्ने कुनै स्थानीय तह नै भेटिँदैन । भागेश्वर गाउँपालिका उपप्रमुख पदमराज बोहराले भने, ‘सडक बनेर गाउँ पुगे तर नियमित मोटर चल्न सक्ने गरी बन्न सकेका छैनन् ।’ मोटर बाटो पुगेजतिका गाउँमा उत्पादन वृिद्ध हुने, व्यावसायिक कृषि खेती हुने, कृषकको जीवनस्तर सुधार हुन सक्ने कार्यक्रममा लगानी गर्न ढिलो भइसकेको पनि बोहराले बताए । उनी भन्छन्, ‘थोरै जनसंख्या भएका गाउँमा व्यावसायिक रूपमा यातायात सेवा सञ्चालन हुन सक्दैन । स्थानीय उत्पादन गाउँबाहिर लैजाने प्रयोजनका लागि बनेका सडकमा बर्सेनि विकास बजेट खन्याउनु उचित होइन ।’


प्रकाशित : मंसिर २९, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?