कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेउलिगाडमा विद्युत् उत्पादन, अर्को वर्षबाट ८५ मेगावाट 

वसन्तप्रताप सिंह

(बझाङ) — बझाङको सुर्मा गाउँपालिकामा रहेको जेउलीगाड साना जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको छ । जेउलीगाडले उत्पादन सुरु गरेसँगै राष्ट्रिय प्रशारणमा करिब एक मेगावाट (९९६ किलोवाट) विद्युत् थप भएको छ । 

जेउलिगाडमा विद्युत् उत्पादन, अर्को वर्षबाट ८५ मेगावाट 

२०७३ असारबाट सुरु भएको यो आयोजनाले मंसिर १० गतेबाट परीक्षण उत्पादन थालेको हो । १५ दिनसम्म परीक्षण उत्पादन गरिसके पछि यसको व्यावसायिक उत्पादन सुरु हुने उत्पादक रंगुन हाइड्रो पावर कम्पनीले जनाएको छ । सबै सिजनमा पुर्ण क्षमताका साथ विद्युत् उत्पादन हुने यो नेपालकै पहिलो जलविद्युत् भएको कम्पनीको दावी छ । ‘अरु आयोजनाले सुख्खा मौसममा पुर्ण क्षमतामा उत्पादन गर्न सक्दैनन तर हामीमा त्यो समस्या छैन’ जेउलीगाड साना जलविद्युत् आयोजनाका प्रवन्धक सर्वज्ञ सिंहले भने, ‘पानीको प्रवाहको लामो अध्ययनपश्चात बाह्रैमास पुर्ण क्षमतामा उत्पादन हुने खालको डिजाइन गरेका कारण यो सम्भव भएको हो ।’


रंगुन हाइड्रो पावर कम्पनीको लाइसेन्समा यो आयोजनाको निर्माण भने माउन्टेन हाइड्रो पावर कम्पनीले गरेको थियो । करिब ३३ करोड लागत बनेको आयोजनाका लागि माछापुच्छ्रे बैंकले लगानी गरेको थियो । बझाङकै बासिन्दा वीरेन्द्रबहादुर मल्लको स्वामित्वमा रहेको आयोजनाले जिल्लाको विद्युतीकरणमा पहिलो फड्को मारेको स्थानियले प्रतिक्रिया दिएका छन । ‘जेउलीगाड सबै भन्दा बढी विद्युत् उत्पादन गर्ने पहिलो ठूलो आयोजना बनेको छ’ बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले भने ‘यसले जिल्लामा व्यवसायिक विद्युत् उत्पादनको ढोका खोलेको छ ।’


लामो समय सम्म झोलामा खोला ओगटेको आरोप खेपेका कम्पनीका संचालक मल्लले यो आयोजनाले उत्पादन थालेसँगै अन्य निर्माणाधीन आयोजना प्रति हेर्ने स्थानीयको दृष्टीकोण पनि सकारात्मक हुने बताए । ‘जल माफिया, झोलामा खोला हालेर बसेको जस्ता कैयन आरोपहरू अहिले पनि खेपिरहेका छौं । विभिन्न बहानामा आयोजनाको कामलाई अवरोध गर्ने तत्वहरू पनि सक्रिय छन्,’ उनले भने ।


यो आयोजनाबाट उत्पादन हुने विद्युत् जयपृथ्वी नगरपालिकाको सेलाखेत स्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेसनमा जोडिएको छ । यहाँ उत्पादन हुने विद्युत्को ठूलो अंस बझाङ मै खपत हुने र बाँकी रहेको विद्युत् अत्तरिया स्थित मुख्य ग्रिडमा मिसाउने व्यवस्था गरिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । हाल पिक आवरमा बझाङ जिल्लामा ८ सय किलोवाट विद्युत् खपत हुने गरेको छ ।


जेउलीगाडको उत्पादनसँगै बझाङ जिल्ला भित्र विद्युत्को अनियमितता हुने समस्या अन्त्य हुने नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख राकेशप्रसाद भट्टले बताए । ‘डडेल्धुराबाट आउने प्रशारण लाइन धेरै लामो भएकोले पटक पटक समस्या आउने गरेको थियो’ उनले भने ‘अब त्यो लाइनमा कुनै खराबी आए पनि हामी यतैको विद्युत्बाट सप्लाई निरन्तर गर्न सक्ने भएका छौं ।’ उनले विद्युत् आपुर्ती निरन्तर हुँदा जिल्लामा आर्थिक गतिविधी बढ्ने अपेक्षा गरिएको बताए ।


१० वर्ष भित्रै ६ सय २१ मेगावाट

सुनिगाड खोलाबाट २०८० सम्म उत्पादन गर्ने गरी २५ मेगावाटको अर्को योजना पनि निर्माणाधीन छ । तल्लो सुनिगाडबाट १७ मेगावाट र उपल्लो सुनिगाडबाट ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित यस आयोजनाको काम गत वर्षबाट सुरु भएको हो ।


निजी क्षेत्रको कम्पनी ओमेगा इनर्जी डेभलपर प्रालिले निर्माण गर्न लागेको यस आयोजनाको आयोजना स्थल सम्म पहुँच सडक निर्माण गर्ने काम आधा भन्दा बढी सम्पन्न भैसकेको छ । करिब ३ अर्व रुपैयाँको लागतमा निमार्ण हुने आयोजना जग्गा अधिग्रहणको काम सकिएर निर्माणको काम सुरु भइसकेको ओमेगा इनर्जी डेभलपर प्रालिका लोकजंग कुँवरले बताए ।


यस्तै तल्कोट गाँउपालिकामा नेपाल विद्युत् प्राधिकरण आफैले निर्माण गर्न लागेको २ सय १० मेगावाटको चैनपुर सेती विद्युत् आयोजना हो । यसको सम्भाव्यता अध्ययन सकिएर निर्माणको चरणमा छ ।

यस्तै सेती नदी मै बन्ने भनिएको १ सय ६५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माणको तयारीमा नीजि क्षेत्रको कम्पनी चिलिमे हाइड्रो पावर रहेको छ । यो आयोजना पनि यस वर्ष भित्र सुरु हुन सक्ने उर्जा क्षेत्रका जानकारहरूको भनाई छ ।


बझाङकै साइपाल गाउँपालिकामा निर्माण हुने अपर सेती १ सय ४० मेगावाटको आयोजनाको लाइसेन्सको लागि निजि क्षेत्रकै समृद्धी हाइड्रो पावर कम्पनीले प्रक्रिया अघि बढाएको छ । यि सबै आयोजनाको काम १० वर्ष भित्र सम्पन्न भैसक्ने सम्बन्धीत निर्माण कम्पनीहरूको दावी छ । ‘अबको १० वर्षमा नेपालको उर्जा क्षेत्रमा बझाङले ठूलो योगदान गर्ने छ’ कालंगा हाइड्रोका संस्थापक वीरेन्द्र मल्ल भन्छन्, ‘ठूला आयोजना निर्माण भए पछि यहाँ औद्योगिक क्षेत्रमा पनि नसोचेकै परिर्वतन हुनेवाला छ ।’


१ सय ३२ केभी प्रसारण लाइन आवश्यक

नेपाल विद्युत् प्राधिरणले अहिले राष्ट्रिय प्रसारण लाइन बझाङमा पुर्‍याउनका लागि ३३ केभीको प्रसारण लाइन निर्माण र सब स्टेसन निर्माण सम्पन्न भैसकेको छ । जिल्लामा नयाँ बन्दै गरेका ठूला क्षमताका आयोजनाहरू छिट्टै सञ्चालनमा आउने भएकाले ३३ केभी प्रसारण लाइन अपुग हुने निर्माण कम्पनीहरूले बताएका छन ।


अर्को वर्षबाट ८५ मेगावाट

कालंगागाड जलविद्युत् आयोजनाको (८५ मेगावाट) को निर्माणको काम पनि अन्तिम चरणमा पुग्न लागेकाले २०७७ भित्रै बझाङमा उत्पादित ८५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने अपेक्षा गरिएको छ । सन् २०१६ मा निर्माण सुरु भएर २०२० सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको यस आयोजनाको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ ।


सुरुवाती अनुमान ६५ मेगावाट रहेको यस आयोजनाबाट ८५ मेगावाट विद्युत् उत्पादन हुने निर्माणकर्ताको दाबी छ । नीजि क्षेत्रको लगानीमा निर्माण थालिएको यो देश भरीकै पहिलो ठूलो आयोजना हो । ३ अलग खोलामा विद्युत् उत्पादन गरेर एकै ठाउँबाट वितरण गर्ने गरि निर्माण थालिएको यस आयोजनाको कालंगागाडको काम अन्तिम चरणमा पुग्न लागेको हो । कुल ३ किमिको सुरुङ मार्ग निर्माण गर्नु पर्ने कालंगामा २ किमि बढी सुरुङको काम सकिएको, ड्याम साइट र बक्स कर्ल्भटको काम पनि सकिसकेको आयोजना प्रमुख बखतबहादुर शाहीले बताए ।

प्रकाशित : मंसिर २७, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?