कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यासमा छैन सुरक्षा पोस्ट

‘साताअघि नै व्यासको छांगरुमा रहेका सीतापुल प्रहरी चौकी व्यास गाउँपालिका २, दुम्लिङ झरेपछि व्यास क्षेत्र सुरक्षाविहीन भएको हो’
मनोज बडू

(दार्चुला) — देशकै सर्वाधिक चर्चाको विषय बनिरहेको कालापानी र यहाँको व्यास क्षेत्र सुरक्षाविहीन अवस्थामा छ । सरकारले यस क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट राख्न तत्काल पहल गर्ने भने पनि सुरक्षा पोस्ट हालसम्म पनि स्थापना हुन सकेको छैन । व्यासमा रहेका नेपाल प्रहरीका दुई चौकीमा तैनाथ प्रहरीहरू चिसोमा बस्न नसक्ने भन्दै बेंसी झरेपछि व्यास क्षेत्र सुरक्षाविहीन हुन पुगेको हो । 

व्यासमा छैन सुरक्षा पोस्ट

एक साताअघि नै व्यासको छांगरुमा रहेका सीतापुल प्रहरी चौकी व्यास गाउँपालिका २, दुम्लिङ झरेपछि व्यास क्षेत्र सुरक्षाविहीन भएको हो । भौगोलिक रुपले विकट मानिएको व्यास क्षेत्रका स्थानीय चिसो छल्न वेसी पुगेपछि उक्त क्षेत्र अहिले मानवविहीन अवस्थामा रहेको स्थानीय बताउछन् । सीतापुल प्रहरी चौकी व्यास छोडेर ६५ किमि वरै दुम्लिङ्मा बसेको छ । विगतमा पनि व्यासको प्रहरी चौकी हिउँदको समयमा दुम्लिङ्मै आएर बस्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव निरीक्षकको कमाण्डमा अस्थाई प्रहरी चौकी दुम्लिङ्बाट एक दिनमा जतिसम्म जान सकिन्छ । त्यहीसम्मको भूभागको निगरानी गरिने प्रहरीको भनाई छ । दुम्लिङबाट साविकको व्यासमा पुग्न दुई दिन लाग्छ ।


सामरिक महत्वको क्षेत्रमा राज्यले अहिलेसम्म बलियो सुरक्षा उपस्थित गराउने सोचसम्म बनाउन सकेन् । ‘व्यास क्षेत्रमै रहेका बेला सितापुल र तिंकर प्रहरीले व्यास क्षेत्रको सुरक्षा निगरानी गर्न सक्दैन्थे । तर, दुम्लिङबाट व्यास क्षेत्रमा पुग्नै सक्दैन’ व्यास गाउँपालिका २ का रामसिंह धामीले भने, ‘व्यासको सुरक्षामा राज्यले नै ध्यान पुर्‍याउन चाहेको देखिदैन ।’ यसपाली पनि न्यानोको समयमा व्यास क्षेत्रमा खटिने सितापुल चौकीका प्रहरी भारतीय भूभाग प्रयोग गरी दुम्लिङ् झर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । जनतासंग सधै निकट रहने नेपाल प्रहरी छ महिना तिंकरको छायालेक र छाङ्गरुको सीतापूल बस्ने गर्छ ।


प्रहरीको काम नियमित सञ्चार सम्पर्कमा बस्नुपर्ने हो । त्यहाँ भएको गतिविधिबारे जानकारी गराउने हो । तर यो क्षेत्र (तिंकर छायालेकमा) बस्ने प्रहरीको सञ्चार सम्पर्क हुँदैन् । कहिलेकाहि हप्तौ दिनसम्म सम्पर्क हुन सक्दैन् ।


१० महिना अघि जिल्ला सुरक्षा समितिले त्रिदेशीय सीमा क्षेत्र सीतापूलमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (विओपी) राख्न जिल्लाबाट सिफारिस गरेको थियो ।


गत चैतमा सार्वजनिक जग्गामा सशस्त्रलाइ पोस्ट राख्न दिने प्रकृया सुरु भएको हो । तर हालसम्म सशस्त्र प्रहरीकको पोस्ट राख्ने विषयमा मन्त्रालयबाट निर्णय भएको छैन् । सीमा क्षेत्र नजिक छाङ्गरुको गागास्थित सार्वजनिक जमिन सुरक्षा पोस्टका लागि उपलब्ध गराउनेबारे सरकारीस्तरबाटै ढिलाइ भएको स्थानीय बताउछन् । गत चैत ४ र ५ गतेको जिल्ला सुरक्षा समिति बैठकले जग्गा व्यवस्थापन गर्न सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताए । जिल्लाबाट सबै प्रक्रिया पुर्‍याएर जग्गा प्राप्तिका लागि यो वर्षको सुरुमै हेड क्वाटरमा लेखापढी गरेर फाइल पठाएको सशस्त्र प्रहरी गुल्म दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले बताए ।


उक्त फाइल गृह मन्त्रालय हुँदै वन मन्त्रालयमा पुगेको बुझिएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी सुरज श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको सुरुमै गृह मन्त्रालय हुँदै जग्गा प्राप्तिका लागि दार्चुलाबाट आएको फाइल वन मन्त्रालयमा पुगेको छ । व्यासमा सीमा सुरक्षा पोस्ट स्थापनाका लागि जग्गा प्राप्ति भएको छैन । बरु मन्त्रालयबाट एक करोड बजेट आएको छ । जग्गा प्राप्ति भएको भए अहिले अस्थायी रुपमा छाप्रो राखेर भएपनि छांगरुमा सशस्त्र प्रहरी राख्न सकिने डिआइजी श्रेष्ठले बताए ।


जग्गा पाएपछि उक्त क्षेत्रमा पहिलो पटक सशस्त्र प्रहरी राख्ने तयारी भएपछि स्थानीय समेत खुशी थिए । ‘व्यासको सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति अनिवार्य हुनु पर्ने हो’ व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले भने, ‘भारतले नेपालतिरको प्राकृतिक स्रोत दोहन गरिरहेको छ, त्यसको संरक्षणका लागि पनि सुरक्षाकर्मी आवश्यक छ ।’

प्रकाशित : मंसिर २६, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?