कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमाको बास, पारिकै आश

‘पुल बन्नुअघि त दोधारा–चाँदनीसँग हाम्रो सम्बन्धै थिएन, अहिले भने आउजाउ बढेको छ’ 
भवानी भट्ट

काठमाडौँ — पूर्वतिर जोगबुडा नदी । तीन तिरै भारतको जंगल क्षेत्र । २ सय परिवारको बसोबास रहेको सानो बस्ती । न बाटो घाटो छ । न कुनै स्वास्थ्य संस्था । अधिकांश कच्ची घर भएको यो बस्तीमा दलित र विपन्न समुदायको बसोबास छ । 

सीमाको बास, पारिकै आश

कञ्चनपुरको महाकाली नगरपालिका ३ मा पर्ने बडुवाल टोल दोधारा चाँदनी क्षेत्रको टापु हो । यो टापुका बासिन्दाको उठबस तथा किनमेल वारि नेपालभन्दा सीमावर्ती बजारतिरै बढी हुन्छ । यहाँका बासिन्दाले नुन तेलदेखि औषधि उपचार सबैका लागि सीमावर्ती बजार खटिमा पुग्नुपर्छ । ६६ वर्षीय महावीर क्षत्री जाजरकोटको नायकबडा गाविसबाट २०२३ सालमा १३ वर्षकै उमेरमा बुबा मानसिंहसंँगै बडुवाल टोलमा आएका हुन् । महाकाली पारिको दोधारा–चाँदनी जान पनि धेरैले रुचाउँदैनथे । भर्खर आवादी सुरु भएकाले बडुवाल टोलमा उनकै टोल छिमेकका धेरैजना आएकाले मानसिंह पनि यहाँ पुगेका हुन् । गाउँमै किराना पसल चलाएर बसिरहेका महावीर घरमा चाहिने र पसलको सामान सबै भारतबाटै ल्याउँछन् । सामान मात्रै होइन बडुवाल टोलमा कारोबार पनि भारुमै हुन्छ ।


टोलनजिकै एसएसबीको क्याम्प छ । सीमावर्ती बजारतर्फ आउजाउ गर्दा कहिले–काहीं क्याम्पका सुरक्षाकर्मीले दु:ख दिन्छन् । तर कहिले भने निकै सहयोग पनि गर्छ । सीमा क्षेत्रमा खेतीपाती गर्दा कुनै बेला एसएसबीले दशगजा भन्दै रोक्ने गरेको महावीर बताउछन् । नेपाली बस्तीसँगै जोडिएको भारतको ठुलो राष्ट्रिय वन छ । उक्त वन क्षेत्रबाट बर्सेनि हात्तीको झुन्ड बस्तीतिर आउने गरेको छ । जसका कारण बडुवाल टोल र कञ्चनभोजमा ठूलो क्षति हुने गरेको छ । कतिपयले धान गहुँ कहिल्यै भित्र्याउन पाउँदैनन् ।


महाकाली पारिका ४ वडाको बस्ती अर्को जोगुबडा नदीपारि छन् । स–साना टापु जस्तै रहेका यी बस्तीको सबै कारोबार भारतसँगै हुने गर्छ । सामान्य बिरामी हुँदा पनि सीमावर्ती बजारतर्फ जानुपर्ने अवस्था छ ।


महाकाली नगरपालिका ७ को कञ्चनभोज, वडा ८ को सुन्दरनगर र वडा १० को कुतियाकभर बस्ती टापुभित्रका पनि टापु हुन् । अलग–अलग ठाउँमा रहेका यी बस्तीलाई बिच बिचमा भारतीय भूभागले छुट्याएको छ । केही वर्षअघि सम्म जोगबुडा तर्न पनि यहाँका बासिन्दाले डुंगाको सहारा लिनुपर्थ्यो । पछिल्लो समय ४ वटै बस्तीलाई बाँकी दोधारा चांदनीसँग जोड्न नदीमा झोलुंगे पुल बनेपछि आउजाउमा सहज भएको छ । पछिल्लो ५ वर्षको अवधिमा जोगबुडा नदीमा बडुवाल टोल, कञ्चनभोज, सुन्दरनगर र कुतियाकभरमा छुट्टा छुट्टै झोलुंगे पुल निर्माण भएका छन् । जसका कारण टापुका रुपमा रहेका बस्ती जोडिएका छन् ।


‘पुल बन्नुअघि त दोधारा चाँदनीसँग हाम्रो सम्बन्ध नै थिएन,’ महाकाली नगरपालिका ७ कञ्चनभोजका ७० वर्षीय किसन गुरुङले भने, ‘अहिले झोलुंगे पुल बनेपछि आउजाउ बढेको छ ।’ सुन्दरनगरमा करिब डेढ सय परिवारको बसोबास छ । यसैगरी कुतियाकभरमा ३५ परिवारको बसोबास छ । यी दुवै बस्तीका बासिन्दा पनि भारततर्फै निर्भर छन् । बर्खामा सधैं जोगबुडा नदीको त्रास रहन्छ । बाढी र कटानको समस्या रहेका ती बस्तीका बासिन्दा बर्खामा सुरक्षित ठाउँ खोज्दै भारत पस्ने गरेका छन् । महाकालीको बाढीले जोगबुडालाई रोक्दा सुन्दरनगर र कुतियाकभरका बासिन्दा बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका छन् ।


स्थानीय तह चुनावपछि ग्रामीण भेकमा सडक निर्माणको होडबाजी चलेको छ । तर सीमा क्षेत्रका यी बस्तीमा अहिले पनि राम्रो सडक निर्माण हुन सकेको छैन ।


सुरक्षाको अनुभूति छैन

सुन्दरनगर र कुतियाभरमा पनि भारतीय सीमा सुरक्षा बलले बेला–बेला स्थानीयलाई दु:ख दिने गरेको छ । सुन्दरनगरमा त एसएसबीले २ वर्षअघि दशगजामा पर्ने भन्दै खेत जोत्न रोक लगाएको थियो । अहिले पनि बेला–बेलामा एसएसबीले धम्काउने गरेको स्थानीय बताउँछन् । कुतियाकभरमा पनि घर आँगन भारतसँगै जोडिएको छ । गत वर्ष एसएसबीले नेपाली भूमिमै गोली चलाएको थियो । यसअघि बंगालीहरू नेपाली बस्तीमै पसेर स्थानीयलाई समेत कुटपिट गरेका थिए ।


महाकाली नगरपालिकामा इलाका प्रहरी कार्यालयसँगै सशस्त्र प्रहरीको सीमा सुरक्षा बेस क्याम्प पनि छ । दुवै सुरक्षा निकाय नगरको बिच भागमा छन् । सुरक्षाकर्मीलाइ भारतसँग सीमा जोडिएका बस्तीमा पुग्न आधादेखि एक घण्टा लाग्छ । कुतियाकभर र सुन्दरनगरको बस्ती अझै टाढा छ । ‘प्रहरी यहाँ पुग्दा भारतीय गुन्डाहरू भागिहाल्छन्,’ कुतियाकभरका स्थानीय खड्के बुढाले भने, ‘२ वर्षअघि हाम्रो बस्तीमा महिलामाथि हातपात गर्ने भारतीयलाई पक्राउ गरेपछि गुन्डाहरूको समूह आएर धेरैमाथि कुटपिट गर्‍यो, प्रहरी पुग्दा उनीहरू भारततिर भागे ।’ गत वर्षपछि एसएसबीका जवानले फायरिङ गरेको आधा घण्टापछि मात्रै सुरक्षाकर्मीहरू पुगेको उनले बताए ।


कृषि उत्पादन पनि भारततिरै

सीमा क्षेत्रका यी बस्तीका स्थानीयको मुख्य पेसा व्यवसाय कृषि र पशुपालन हो । यहाँ उत्पादन भएको धान, गहुँ, मकै र तरकारी सबै भारततिरै बिक्री हुने गरेको स्थानीय बताउँछन् । बीचमा जोगबुडा नदी भएका कारण पनि कृषि उत्पादन वारि ल्याएर बिक्री गर्न समस्या हुने गरेको छ । पछिल्लो समय झोलुंगे पुलहरू बने पनि ढुवानीमा अझै समस्या छ । ‘यहाँको अन्नदेखि दूधसम्म सबै भारततिरै बिक्री हुन्छ,’ महाकाली नगरपालिका ७ कञ्चनभोजका ललितसिंह ठकुरीले भने, ‘यताको भन्दा उता भाउ राम्रो पाइन्छ, लैजान पनि सजिलो हुन्छ ।’ उनका अनुसार भारतीय व्यापारीहरू किनमेलका लागि गाउँमै आउने गर्छन् । ढुवानीको समस्या पनि हुँदैन । कतिपयले नुनतेल, मलखाद र बीउ ल्याएको रकम अन्न बिक्री गरेर तिर्ने गरेका छन् । सोहीबापत धान गहुँ त्यही व्यापारीलाई दिने गरेको ठकुरीले बताए ।


प्रकाशित : मंसिर २१, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?