कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लैंगिक हिंसाविरुद्ध एकजुट

वसन्तप्रताप सिंह

(बझाङ) — छिमेकीका घरमा पतिले पत्नी कुटपिट गरिरहँदा पनि अर्काको झगडामा बोल्न हुँदैन भनेर चुप लागेर बस्ने ग्रामीण भेकका महिलाहरू हिंसाविरुद्ध एकजुट हुन थालेका छन् । अधिकारबारे सचेत हुन थालेपछि आफू पनि हिंसा नसहने र अरु माथि भएको हिंसाविरुद्ध पनि आवाज उठाउन थालेका छन् ।

तल्कोट गाउँपालिका १, सुनिकोट गाउँका महिलाहरू हिंसाविरुद्ध अरु भन्दा अगाडी देखिएका छन् । महिलाहरू एकजुट हुन थालेपछि गाउँमा लैंगिक हिंसाका घटनाहरू पनि कम हुँदै गएको यहाँका महिलाको अनुभव छ । ‘कसैले महिलामाथि हिंसा गरेको थाहा पाउनेबित्तिकै हामी सबै पुगेर सम्झाउने गरेका छौं,’ स्थानिय सुन्दरी कुँवरले भनिन्, ‘महिला एकजुट भएकाले होला । हत्तपत्त कसैले पनि यस्तो गर्ने आँट गर्दैनन् ।’ उनले कसैले हिंसा गर्न लागेको थाहा पाए गाउँका महिला गएर सम्झाउने र चोटपटक लाग्ने गरी कुटपिट गरेको रहेछ भने पहिलो पटकलाई पीडितसँग माफी मगाउने, पटक–पटक त्यस्तै हर्कत दोहोर्‍याउनेलाई कारबाहीका लागि प्रहरी प्रशासनसम्म पुग्ने गरेको बताइन् ।


उसो त महिनावारी भएका महिलालाई घरभित्रै राख्ने र खानामा विभेद नगर्ने गाउँको रुपमा पनि सुनिकोटले जिल्ला भरी आफ्नो परिचय बनाएको छ । महिनावारी हुँदा गाउँभन्दा ५/६ सय मिटर टाढा बनाइएका साँघुरो गोठमा बस्दै आएका उनीहरू छाउ भएको समयमा घरभित्रै बस्न थालेको २ वर्ष भन्दा बढी भैसकेको छ ।


विभिन्न संघ संस्था, गाउँपालिका र वडा पालिकाको निरन्तरको प्रयास पछि यहाँका महिलाहरू सदियौंदेखिको अन्धविश्वास तोड्न सफल भएका हुन् । स्थानीय प्यारीदेवी बम्मले पहिला महिनावारी हुँदा घरको आँगन भन्दा ३ सय मिटर टाढा बस्नु पर्ने, पानीका धारा छुन नदिनेलगायत धेरै समस्या झेले पनि अहिले आफ्नी बुहारी र छोरीलाई घरभित्रै बसाल्ने गरेको बताइन् । उनले जीवनका ३५ वर्षसम्म हरेक महिनाको ७ दिन छाउगोठमै बसेर यातना पाएको बताउँदै छोरी–बुहारीलाई त्यसबाट बचाउन सकेकोमा खुसी व्यक्त गरिन् । ‘गाई–भैंसीको दूध खान त परै जाओस् छुन पनि पाइदैनथ्यो,’ उनले भनिन, ‘अहिले यहाँका सबै महिला महिनावारी भएका बेला गोरस खान्छन्, घर

भित्रै बस्छन् ।’


झन्डै ५ वर्ष अघिदेखि साबिक सुनिकोट गाविस, हाल वडापालिका र अन्य संघ–संस्थाको सहयोगमा विभिन्न खालका चेतनामूलक कार्यक्रम गरेपछि नतिजा देखिन थालेको सुनिकोटका वडाध्यक्ष गोपाल धामीले बताए । ‘हामीलाई छाउपडी मुक्त, हिंसा मुक्त वडाका बासिन्दा हौ भनेरभन्दा अहिले पनि धेरैले पत्याउँदैनन्,’ उनले भने, ‘जब यहाँ आएर आफ्नै आँखाले देख्छन् । सबैले धन्यवाद दिएर जाने गरेका छन् ।’ उनले यहाँका महिला मात्र नभएर पुरुष पनि सचेत र सहयोगी भएका कारणले लैंगिक विभेद हटाउन सकिएको बताए ।


प्रकाशित : मंसिर १८, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?