कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महर बस्तीमा छाक टार्नै मुस्किल

तृप्ति शाही

(बैतडी) — दोगडाकेदार गाउँपालिकाको मुख्य बजार खोचलेकबाट ५ किमि टाढा वडा ४ मा खम्तोला बस्ती छ । सडकछेउमै रहेको त्यस बस्तीमा दलित समुदायका ८ परिवारको बसोबास छ । 

महर बस्तीमा छाक टार्नै मुस्किल

शनिबार अपराह्नतिर खम्तोलामा ८/९ बालबालिका जंगलबाट दौडेर आउँदै थिए । काँधमा कुटो, कोदालो बोकेका उनीहरू तरुल खनेर आएका थिए । खाद्यान्न उत्पादन गर्ने जमिन नहुँदा यहाँका बालबालिका बिदाको दिन खानेकुरा खोज्न जंगल पस्छन् । तरुललगायत जंगली फल (कन्दमूल) ल्याएर छाक टार्नुपर्ने उनीहरूको बाध्यता छ ।


‘खेती गर्ने जमिन नहुँदा विद्यालय बिदा भएको दिन बालबालिकाले पनि जंगलबाट खानेकुराहरू ल्याउँछन्,’ स्थानीय शेरेराम महरले भने, ‘अलि ठूलो हुनासाथ भारततर्फ मजदुरी गर्न हिँड्छन् ।’ कतिपय दिन त उनीहरू विद्यालयसमेत जान पाउँदैनन् ।


पानी पर्दा चुहिने र घाम पनि राम्रोसँग नछेक्ने उनीहरूका घरहरू छन् । तर कमाइ खाने जग्गा भने छैन । जमिन नभएका उनीहरू अरूकै काम गरेर जीवन निर्वाह गरिरहेका छन् । आरन, सिलाइ–कटाइ, फर्निचरको काम गरी ८ जनाको परिवार पाल्दै आएका ३९ वर्षीय रामिराम महरले बताए । उनले भने, ‘हाम्रो जग्गा जमिन छैन । डेरामा बसे जस्तै हो । घरबाहेक केही छैन । अरूकै काम गरेर खाने हो । सागसब्जी लगाउने जमिन पनि छैन ।’ बाजेहरू कहाँबाट आएर बसेका हुन् भन्नेसमेत थाहा नपाएको उनले बताए । पछि आफूहरूको आर्थिक अवस्थाले अन्त गएर जमिन किनेर बस्न नसकिने हुँदा गुजाराको जिन्दगी बिताइरहेको उनको दु:खेसो थियो । रमिराम भन्छन्, ‘अरूकै ज्याला मजदुरी गरी जीवन गुजारा चलाउने परिवार हौं । काम पाए पैसा आयो, नत्र भने छाक टार्नै मुस्किल हुन्छ ।’


हालसम्म जग्गा पाउने आशैआशमा वर्षौं बिताएको उनीहरूको भनाइ छ । स्थानीय सरकारले पनि आफूहरूका समस्यामा कुनै वास्ता नगरेकामा उनीहरूको दुखेसो छ । निर्वाचनका बेला मात्र आफ्नो टोलमा नेताहरू देख्न पाइने उनले बताए । ‘चुनावका बेला जमिन दिने, घर बनाइदिने नेताहरूले आश देखाउँछन्,’ रमिरामले भने, ‘जितिसकेपछि कसैले फर्केर हेर्दैनन् ।’


तरकारी लगाउने बारीसमेत नभएको दु:खेसो बिसाउँदै २४ वर्षीय हीरा महरले बालबच्चालाई पढाउनसमेत मुस्किल पर्छ । ‘श्रीमान् एक्लैले अरूको काम गरी परिवार पाल्नुपर्छ,’ उनले भनिन् ।


काम गरेको ज्याला खलो लिएर पनि आफूहरूको गुजारा चलेको मानमति महर बताउँछिन् । श्रीमानले फलामका कुटो, हँसिया बनाएबापत अन्य समुदायले खलो, पैसा दिने गरेको उनले सुनाइन् । पहिरोको जोखिममासमेत रहेको उक्त बस्तीको तलबाट भिरालो जमिन भएकाले बर्खामा त्रास हुन्छ । ठूलो वर्षा हुँदा बगाउँछ कि भन्ने पीर उनीहरूलाई छ । पानीको पाइप ठाउँठाउँमा टुटेकोले खानेपानी अभाव उस्तै छ ।

प्रकाशित : मंसिर ९, २०७६ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?