स्वास्थ्यप्रति सजग बन्दै किशोरी

तृप्ति शाही

बैतडी — जिल्लाका विभिन्न विद्यालयमा पढिरहेका किशोरीहरू आफ्नो स्वास्थ्यप्रति ध्यान दिन थालेका छन् । उनीहरू शारिरीकसंँगै प्रजनन अंगहरूको सरसफाइमा पनि ध्यान दिइरहेका छन् । केहि समय पहिलेसम्म सरसफाइबारे जानकार नभएका उनीहरू विद्यालयमा गरिने स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालनमा आएपछि यसबारे सजग हुन थालेका हुन् ।

अहिले किशोरीहरू महिनावारी भएको बेला सरसफाइमा विशेष ख्याल गर्ने गरेका छन् । उनीहरूले आफैं प्याड बनाएर प्रयोग गर्न पनि सिकेका छन् ।

पाटन नगरपालिका ४ बस्तीकी प्रियंका बोहरा १६ वर्ष पुगिन् । भूमेश्वर माविमा कक्षा ११ मा अध्ययनरत उनलाई केहि वर्ष अघीसम्म आफ्नो सरसफाइबारे थाहै थिएन् । प्रजनन् अंगहरू सफा राख्न पर्छ भन्ने उनलाइ जानकारी पनि थिएन । कसैले भनेका पनि थिएनन् । तर अहिले उनको यो अवस्था छैन । ३ वर्ष जती भयो उनी आफ्नो शारिरीक सरसफाइमा सचेत रहेकी छिन् ।

नियमित रुपमा प्रजनन् अंगहरू सफा गर्नुपर्छ भन्ने ज्ञान पनि उनलाइ भएको छ । उनले भनिन् , ‘८/९ कक्षा पढ्ने बेला कक्षामा यसबारे सिकाउन आउनुभएको थियो र बल्ल त्यहि बाट अलि सिके विस्तारै थाहा हुँदै जाँदा अहिले त सबै थाहा भयो । हामीले सरसफाइमा विषेश ध्यान दिन पर्छ भनेर ।’ सिकेपछि महिनावारी भएको बेला धेरै सजिलो लागेको अनुभव उनले सुनाइन ।

महिनावारी भएको बेला अघिपछिको भन्दा बढीनै सरसफाइ चाहिने भए पनि केहि वर्ष अघि सम्म किशोरीहरूलाई जानकारी थिएन् । घरमा उपलव्ध फोहोर भएपनि कपडाको टालोको प्याड बनाएर दिनहरू बिताउन बाध्य थिए । तर अहिले भने उनीहरू नियमीत सरसफाइ गर्नुका साथै प्याड बनाएर प्रयोग गर्न थालेका छन् । विभिन्न संघसंस्थाहरू बाट तालिम पाएका उनीहरूले सफा कपडाको प्याड बनाउदै प्रयोग गर्छन् ।

पाटन नगरपालिकाकै रेखा विक अहिले १६ वर्षकी पुगिन् । उनले पनि २/३ वर्ष अघि बाट मात्र महिलाहरूले आफ्नो प्रजनन् अंगहरूको नियमित सरसफाइ गर्न पर्छ भनेर सिकेकी हुन् । महिनावारीको समयमा अझै बढी स्वास्थ्यको ख्याल गर्न पर्छ भनेर उनले थाहा पाइन् । कक्षामा स्वास्थ्य पढाउने शिक्षकहरू र विद्यालयमा हुने स्वास्थ्यका कार्यक्रमहररु बाट आफु चनाखो बनेको उनको भनाइ थियो ।

पहिले घरमै पाइने जस्तोसुकै कपडालाइ प्याडको रुपमा प्रयोग गर्ने उनीहरू सफा कपडाको प्याड बनाएरै लगाउन थालेका छन् । फोहोर कपडाले रोगहरूको संक्रमण हुन सक्ने कुरा थाहा पाइसकेपछि उनीहरू आफैं प्याड बनाउन थालेका हुन् । प्याड नबनाएर टालै प्रयोग गर्न परेपनि उनीहरू सफा टालो लगाउन थालेको बताउँछन् ।

पाटन नगरपालिका ६ कि रीतु विष्ट आजभोली आफ् ैप्याड बनाउछिन् । सफा कपडाको प्याड बनाउदै प्रयोग गर्न थालेको उनले सुनाइन् । १२ कक्षामा पढ्ने उनी १० कक्षा पढ्ने बेला प्याड बनाउने तालिममा सिकेको बताउछिन् । त्यस्तै घरायसी जस्तो पायो त्यस्तै टालाहरूले महिनावारीको समयमा टारेको बताउदै उनले भनिन्, ‘ सिकेपछि त सफा कपडाको बनाएर लगाउछु । सजिलो भएको छ । ’

घरायसी प्याड बनाउन सिकेपछि राहत मिलेको उनीहरूको धारणा छ । यो व्यवस्थित, सफा हुने र पैसाको पनि बचत हुने गरेको उनीहरू बताउँछन् । साथै फोहर कपडाहरूको प्रयोग गर्नुपर्ने दिनहरू गएकोमा उनीहरू खुसी छन् ।
पाटन ४ कि विनीता भट्टले करिब ३ वर्ष बाट आफैले बनाएको प्याड लगाउने गरेको सुनाइन् । उनले भनिन्, ‘नगरपालिकाले दिएको तालिम बाट सिकेकी हु । अहिले एकदम सजिलो भएको छ । सफा गरेर राख्ने हो भने धेरै पटक प्रयोग गर्न सकिन्छ ।’ प्याडका रुपमा प्रयोग गरेका कपडाहरू सफा गर्ने, घाममा राम्रोसंँग सुकाउँने लगायतका कुराहरू बारे पनि यस्तै स्वास्थ्य सम्बन्धिका कार्यक्रमहरू बाट जानकार भएको उनले बताइन् ।


प्रकाशित : मंसिर ६, २०७६ १२:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षालाई स्थानीय तहको बेवास्ता

भौतिक पूर्वाधारका योजनामा जनप्रतिनिधिको ध्यान, शिक्षामा थोरै बजेट विनियोजन
अर्जुन राजवंशी

(बिर्तामोड) — शिवसताक्षी नगरपालिकामा पर्ने झरना प्राथमिक विद्यालय दुई वर्षयता बन्द छ । विद्यालय बन्द हुनुको एकमात्र कारण हो, विद्यार्थी अभाव । गाउँमा बालबालिका नभएरै विद्यार्थी अभाव भएको भने होइन । शैक्षिक गुणस्तरमा सुधार नआएपछि क्रमशः विद्यार्थी घट्दै अन्ततः विद्यालय नै बन्द गर्नुपरेको हो । 

बर्सेनि विद्यार्थी घटेको शिवसताक्षीकै सतासी प्रावि पनि बन्दको संघारमा छ । नगरका कन्काई, श्रीजंगा र अरुणोदय प्राविमा पनि पर्याप्त विद्यार्थी संख्या छैन । दीपेन्द्र आधारभूत, भीमनारायण, शान्ति, बालकल्याण र भगवती आधारभूत विद्यालयमा शिक्षकको आवश्यक दरबन्दी छैन । प्रावि शिक्षकले नै आधारभूत तहका विद्यार्थीलाई पठनपाठन गराइरहेका छन् । शुक्र माविमा मावि दरबन्दी नरहेको शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहालले बताए ।

शिवसताक्षीका अधिकांश सामुदायिक विद्यालयका शौचालय कामचलाउ मात्रका छन् । सफा खानेपानीको व्यवस्था छैन । भगवती मावि, अरुणोदय प्रावि, झिलझिले मावि, सरस्वती प्राविमा विद्यालय भवनको अभाव छ । नगरको शिक्षा जेनतेन चलेको छ । शैक्षिक गुणस्तर सुधारका लागि नगरका जनप्रतिनिधिसँग ठोस योजना छैन । शिक्षामा उपलब्धि हासिल गर्नेगरी जनप्रतिनिधिहरू निर्वाचित भएर आएको तेस्रो वर्षमा पनि कुनै कार्यक्रम अघि बढ्न सकेको छैन । उनीहरूको सधैं एउटै गुनासो छ ‘हामीसँग आन्तरिक स्रोत पर्याप्त छैन ।’

जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व सम्हालेको यो तेस्रो वर्ष हो । स्थानीय तहको प्राथमिकतामा लगातार भौतिक विकासका योजना छन् । जिल्लाका सामुदायिक विद्यालयहरू अभावमा चलिरहेका छन् । विद्यालयलाई जनशक्ति र योजना दिने विषय प्राथमकितामा परेको छैन । शिवसताक्षीमा ३५ सामुदायिक र २६ निजी विद्यालय छन् । १२ मावि, ९ आधारभूत र १४ प्रावि छन् । ती विद्यालयमा ९ हजार ७ सय विद्यार्थी छन् । एउटा संस्कृत विद्यालय पनि छ । यी सबै विद्यालयको समग्र विकासका लागि नगरले एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

मेचीनगर नगरपालिकामा ४१ वटा सामुदायिक विद्यालय छन् । १५ मावि, १२ आधारभूत र १४ प्राविमा १२ हजार ९ सय ५६ विद्यार्थी छन् । नगरपालिकाले चालु वर्ष नगरको शिक्षा विकासका लागि ५९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको शिक्षा शाखाका लोकबहादुर दाहालले बताए ।

भद्रपुर नगरमा ३१ वटा सामुदायिक विद्यालय छन् । ८ मावि, १२ आधारभूत र ११ वटा प्राथमिक विद्यालय छन् । तिनमा ८ हजार ३४२ जना विद्यार्थी छन् । नगरभित्र दुई संस्कृत शिक्षालय र एउटा मदरसा पनि छन् ।

नगरपालिकाले शिक्षाको विकासका लागि चालु वर्ष ५४ लाख ९५ हजार विनियोजन गरेको छ । गौरादह नगरमा ३२ सामुदायिक विद्यालयमा १० मावि, चार आधारभूत र १९ प्रावि छन् । दुई/दुईवटा मदरसा र संस्कृत विद्यालय छन् । नगरपालिकाले चालु वर्ष शिक्षामा एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

अर्जुनधारा नगरका २८ वटा सामुदायिक विद्यालयमा नौवटा मावि, ६ आधारभूत र १३ वटा प्राथमिक स्तरका छन् । यिनमा विद्यार्थी संख्या ७ हजार १ सय ४० छ । पाँचवटा संस्कृत शिक्षालय छन् । नगरपालिकाले शिक्षाका लागि चालु वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ । गौरीगन्ज गाउँपालिकामा २६ वटा सामुदायिक विद्यालय छन् ।

४ मावि, ३ आधारभूत र १९ प्राविमा गरी ५ हजार २ सय ५१ विद्यार्थी छन् । गाउँपालिकाले शिक्षामा ७५ लाख विनियोजन गरेको छ । झापा गाउँपालिकामा २१ सामुदायिक विद्यालय छन् । ४ मावि, ४ आधारभूत र १३ प्राविमा गरी ५ हजार ७१ जना विद्यार्थी छन् । गाउँपालिकाले चालु वर्ष शिक्षातर्फ ७२ लाख २८ हजार विनियोजन गरेको छ ।

चालु वर्ष शिक्षातर्फ दमक नगरपालिकाले ७३ लाख ५५ हजार, बिर्तामोड नगरपालिकाले ३ करोड, हल्दिबारी गाउँपालिकाले ३ करोड ७० लाख ७७ हजार, कमल गाउँपालिकाले २ करोड २ लाख ८७ हजार, बाह्रदशी गाउँपालिकाले एक करोड २१ लाख ४५ हजार, कन्काई नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । स्थानीय तहले पूर्वाधार विकासका योजनाका तुलनामा निकै थोरै बजेट शिक्षाका लागिछुट्याएका छन् ।

गतिला कक्षाकोठा न शौचालय
२००२ सालमा स्थापना भएको भद्रपुर मावि जिल्लाकै जेठो शिक्षालय हो । यहाँ पर्याप्त कक्षाकोठा छैनन् । भएको भवन पनि पुरानो र धराप छ । जोखिम मोलेर ६, ७ र ८ का तीनवटा कक्षा सञ्चालन गर्नुपरेको शिक्षक काजीमान लिम्बूले बताए । विद्यालय परिसरमा घेराबारा छैन । खुला क्षेत्र भएकाले परिसरमा पशुचौपाया जथाभावी छिर्छन् । भन्सार छली गर्ने तस्करहरूले राति लुक्ने ठाउँ बनाउँदै आएका छन् ।

नगरकै आदर्श प्रावि, सरस्वती विद्या मन्दिर प्रावि, महेशपुर आधारभूत, सिंहदेवी प्राविले घेराबारा, कक्षाकोठाको अभाव, छाना चुहिने, जग्गासम्बन्धी समस्या झेलिरहेका छन् । ११ मध्ये सातवटा प्राविमा सय जनाभन्दा कम विद्यार्थी रहेको शिक्षा शाखाका योगेन्द्र पौडेलले बताए । सामुदायिक विद्यालयको अवस्था, नगरको समग्र शिक्षाको विकास र गुणस्तर सुधारका लागि जनप्रतिनिधिले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

गौरादहको कञ्चनजंघा, दुर्गादेवी, लालजनकल्याण र बलभद्र प्राविमा शिक्षक दरबन्दी कम छ । जनज्योति र मोति माविमा माविस्तरको शिक्षक दरबन्दी नै छैन । नगरपालिकामा नगर शिक्षा समिति गठन हुन सकेको छैन । मेयर रोहित साह कांग्रेस तथा उपमेयर गीता भेटवाल नेकपाबाट निर्वाचित भएकाले राजनीतिक खिचातानीले शिक्षा समिति गठन हुन नसक्दा नगरपालिकाले शिक्षाका योजनामा ध्यान दिन सकेको छैन ।

अर्जुनधाराको शनिश्चरे, भानु, महारानीगन्ज र अर्जुनधारा माविमा पनि भौतिक पूर्वाधारको अभाव छ । श्रीप्रावि, बालज्योति, भीमले आधारभूत, नवज्योति प्रावि र समाजसेवी प्राविले चरम विद्यार्थी अभाव झेलिरहेका छन् । स्वच्छ खानेपानी, छात्रामैत्री शौचालय छैन । गौरीगन्जकाअधिकांश विद्यालयमा घेराबारा छैन । घेराबारा नहुँदा स्कुल समयमै स्थानीयले गाईबस्तु बाँधिदिँदा पठनपाठनमाअसर पर्ने गरेको छ । अधिकांश विद्यालयमा दरबन्दी छैन । दरबन्दी भए पनि शिक्षक छैनन् । खानेपानीमा ट्युवेलबाहेक विद्यार्थीसँग विकल्प छैन । बगुवा प्राविमा ट्युवेलसमेत छैन । विद्यार्थी स्थानीय गाउँलेको घरमा गएर प्यास मेटाउँछन् ।

झापा गाउँपालिकाको महेन्द्र आधारभूतका विद्यार्थी छाना चुहिने पुरानो टहरामा पठनपाठन गर्न बाध्य छन् । पुग्दो कक्षाकोठा छैन । आवश्यक फर्निचर छैन । आधारभूत तहका लागि दरबन्दीसमेत छैन । सिमलबारी आधारभूत विद्यालयमा २६५ विद्यार्थी अध्ययनरत छन् । तर उनीहरूका लागि दुई कोठाको मात्र शौचालय छ । एउटा छात्र र एउटा छात्राका लागि भएकाले विद्यार्थी लामो लाइनमा बसेपछि मात्र शौच गर्न पाउँछन् । भृकुटी आधारभूत र अमरसिंह प्राविमा भौतिक संरक्षणको अभाव रहेको शिक्षा शाखा प्रमुख खड्गप्रसाद खरेलले बताए ।

प्राथमिकता भौतिक विकासमा
दमकमा २१ वटा सामुदायिक विद्यालय छन् । नगरको शिक्षामा ७३ लाखमात्र विनियोजन गरेका जनप्रतिनिधिले भौतिक विकासका योजनामा भने करोडौं छुट्याएका छन् । नगरपालिकाको चालु वर्षको पुँजीगततर्फ सबैभन्दा बढी सडक तथा पुल निर्माणमा ५२ करोड १८ लाख ९३ हजार अर्थात कुल बजेटको ३१.५५ प्रतिशत विनियोजित छ । नगरपालिकाको यो वर्षको बजेट एक अर्ब ६५ करोड छ । यो जिल्लाका सबै पालिकाहरूको भन्दा बढी हो ।

जिल्लाको दोस्रो ठूलो बजेट भएको नगरपालिका हो, मेचीनगर । चालु वर्ष एक अर्ब ४२ करोड ८८ लाख ६० हजार बजेट पारित गरेको नगरपालिकाले शिक्षातर्फ ५९ लाखमात्र छुट्याएको छ । भद्रपुर नगरपालिकाका जनप्रतिनिधिले ससर्त अनुदानबाहेक पूर्वाधार विकास शीर्षकमा २७ करोड ८७ लाख६३ हजार रुपैयाँ छुट्याएका छन् । नगरको कुल बजेट ७१ करोड ४१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिले पूर्वाधार विकास शीर्षकमा १७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेका छन् । शिवसताक्षीको चालु वर्षको कुल बजेट ८७ करोड ५४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

जनप्रतिनिधिले बुझेनन् शिक्षाको महत्त्व
जनप्रतिनिधिले महत्त्व नबुझ्दा शिक्षाको विकासमा बजेट दिन कञ्जुस्याइँ भएको अर्जुनधारा नगरपालिकाका पूर्वशिक्षक भैरवप्रसाद पौडेलले बताए । ‘सबैको ध्यान भौतिक विकासका योजनामा छ,’ उनले भने, ‘शिक्षाको महत्त्व बुझेर यसतर्फ लगानी पुग्यो/पुगेन भनेर सोच्ने कोही भएनन् ।’ विद्यालयको गुणस्तर सुधार, शिक्षामा लगानी वृद्धि गराउनेतर्फ अभिभावक र सरोकारवालाको पनि दबाब नपुगेको उनले बताए । जनप्रतिनिधिहरूका लागि विकास भनेकै सडक, ढुंगा, गिट्टी मात्र हो भन्ने बुझाइले समस्या रहेको शिक्षाका उपसचिव उद्धव विष्टले बताए ।

‘उहाँहरू एकोहोरो भएर भौतिक विकासतर्फ लाग्नुभएको छ,’ उनले भने, ‘शिक्षामा हुने लगानीको प्रतिफल दूरगामी हुन्छ ।’ भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले शिक्षालाई प्राथमिकता दिइएको दाबी गरे । ‘तीन वर्ष भौतिक विकासमा तथा बाँकी दुई वर्ष सामाजिक विकासमा खर्च गर्ने तालिका बनाएका छौं । त्यहीअनुसार अघि बढिरहेका छौं,’ उनले भने, ‘अर्को वर्षदेखि हामी भौतिकभन्दा बढी सामाजिक विकासमा बजेट विनियोजन गरेर अघि बढ्नेछौं ।’

प्रकाशित : मंसिर ६, २०७६ ११:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×