कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाल हेर्न खप्तड

वसन्तप्रताप सिंह

बझाङ — खप्तडको चर्चा सबैतिर छ । फराकिला फाँट भएको २२ पाटन ५३ ताल रहेको यो गन्तव्य मनमोहक हिमशृंखलाहरूको दृष्यावलोकनका लागि पनि उत्तिकै आकर्षक मानिन्छ । हिउँदमा हिमाल हेर्न खप्तड आउनेको संख्या पछिल्ला वर्ष बढेको छ । बर्खामा बादल र सुक्खामा तुवाँलोले छोपिने हिमालहरू असोजको मध्येदेखि फागुनसम्म छर्लङ खुल्ने गर्छन् । यतिबेला खप्तड पुग्नेहरू यहाँका अग्ला थुम्कामा गएर हिमाली दृष्यमा रमाइरहेका भेटिन्छन् । यहाँका झुत्तिहरूबाट हेर्दा हिमालहरू खप्तडभन्दा तल रहेको जस्तो भान पर्छ । पाटनहरूबाट हेर्दासँगै जोडिए जस्ता देखिन्छन् । 

हिमाल हेर्न खप्तड

विहानीमा घामको झुल्को पर्दा लालीमय हुने साइपाल हिमश्रृङखलाले क्षणक्षणमा फेर्ने स्वरुपको मजा लिनेहरू खप्तड घुम्नका लागि हिउँदयाम नै रोज्ने गर्छ । साइपालको श्रृङखलामा पर्ने सुनपानी, फिरानकोफ, मडुंग्रा, जलजला, राइढुंगी, राक्सियो, निलखट्टीलगायत दर्जनौ हिमाल नजिकैबाट देख्न पाउँदा पर्यटक पनि खुसी हुन्छन् । खप्तडका फराकिला पाटनमा हिउँदको पहारिलो घाम ताप्दै हिमाल हेर्नुको मजा शब्दमा व्याख्या गर्न नसकिने खालको रहेको बुटवलका विनोद पाण्डेले बताए । ‘घण्टौ हेर्दा पनि मन अघाएन,’ उनले भने, ‘निलो आकासमा बग्दै गरेको तित्राप्वाँखे बादल र क्षणक्षणमा छोपिने अनि छिनमै खुल्ने लजालु दुलही जस्ता हिमाल दृष्यले मोहनी नै लगायो ।’ पहिलोपटक एक्लै घुम्न आएका उनले खप्तडको दृष्य देखाउन अर्को पटक परिवारसहित आउने सोच बनाएको बताए ।


यहाँबाट देखिने हिमालको दृष्यले खप्तडको सुन्दरतामा सुगन्ध थपेको नेपालगन्जका सुरेश गौतमले बताए । ‘खप्तड आफैमा सुन्दर त छँदै छ । हिमालको दृष्यले झनै सुगन्ध थपेको छ । जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ रहेछ,’ उनले भने ।


सबै मौसममा घुम्नका लागि आउने गरेको भए पनि हिमाल प्रेमीहरूले भने हिउँदे याम नै रोज्ने गरेको खप्तडका होटल सञ्चालक बाजुराका लोक रावल बताउँछन् । ‘पर्यटक त बाह्रै महिना आउने गर्छन्, तर हिमाल हेर्न चाहनेहरू बढिजसो मंसिर पुसतिर आउँछन्,’ १३ वर्षदेखि खप्तडमा होटल सञ्चालन गर्दै आएका उनले भने, ‘हिमाल हेर्नकै लागि प्रत्येक वर्ष यही सिजनमा आउने पनि धेरै छन् ।’ उनले नियमित हिमाल हेर्न आउनेहरूमा जर्मनी, क्यानाडालगायतका देशबाट आउने विदेशी पर्यटक पनि रहेको बताए ।


यहाँको घोडादाउना पाटन, डाँफेकोट, सहश्रलिंग, गणेशस्थान पाटन, नागढुंगालगायत ठाउँबाट हिमाली दृष्यावलोकन गर्न सकिन्छ । डाँफेकोट र खप्तड दहको डाँडामा हिमाल हेर्न सजिलो होस् भनेर भ्यु टावरकोसमेत निर्माण गरिएको छ । तर हिमाली दृष्यको पुरै दृष्यावलोकन गर्न बझाङको लोखाडा भएर आउने बाटो उपयुक्त रहेको यहाँका स्थानीय बताउँछन् । २ सय २५ वर्ग मिटरमा खप्तड राष्ट्रिय निकुञ्ज फैलिएको छ । ती ठाउँका कारण पनि खप्तड नेपालकै सुन्दरतम् ठाँउ मध्ये एक मानिन्छ । रंगिविरंगी फुलले ढाकिएका ठुला पाटनहरूले फूल फुल्ने बेलाको छुट्टै आकर्षण दिन्छन् । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यहाँ २ सय २४ प्रकारका वनस्पति पाइन्छन् । १२ गुफा रहेको खप्तडमा २ सय २६ किसिमका पंक्षिहरू, बाघ, भालुलगायत २० भन्दा बढि प्रजातिका वन्यजन्तु पाइन्छन् ।


बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलमा रहेको खप्तड धार्मिक हिसाबले पनि महत्वपुर्ण मानिन्छ । पौराणिक कालमा मायावी शक्ति भएका देविदेवताहरूले गगनचरीको भेष धारणगरि खप्तडको आकासमा रमाउने गरेको, शिव आदि देवता र सिद्धहरूको क्रिडास्थलको रुपमा रहेको खप्तड क्रृषिमुनिहरूको पनि तपस्थली भएको आर्षपुराण लगायत विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।


प्रकाशित : मंसिर ३, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?