कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुल्न थाले किशोरी

यौनबारे जिज्ञासु
मेनुका ढुंगाना

अछाम — यौन तथा स्वास्थ्य प्रजननबारे कुरा गर्ने र यौन समस्या भन्न लाज मान्ने अछामको ग्रामीण भेकका महिलाहरू अहिले यसबारे खुलेर बोल्न थालेका छन् ।
तुर्माखाँद गाउँपालिका ४ कि मना बुढा ३२ वर्षकी भइन् । बिहे भएको १६ वर्ष भयो । उनका ३ छोरी र १ छोरा छन् । पहिलो छोरा जन्मेपछि लगातार उनका छोरी जन्मिन् ।

खुल्न थाले किशोरी

स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि बच्चा जन्माउन नसक्ने कुरा श्रीमान्लाई सुनाउदा अर्को छोरा चाहिन्छ भन्ने अडान राखेको उनी सुनाउँछिन् । ‘गाउँमा हुने कार्यक्रममा स्थायी र अस्थायी बन्ध्याकरण हुन्छ र परिवार नियोजनका साधनबारे जानकारी पाएकी थिएँ । श्रीमान्लाई सम्झाइ बुझाइ गरेँ,’ उनले भनिन्, ‘मंगलसेन जाने मौकामा आफैं स्थायी बन्ध्याकरण गरेकी छु ।’


ढकारी ३ कि रत्ना ३२ वर्षकी भइन् । २ छोराछोरी पाइसकेपछि श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न सुझाव दिइन् । तर नमानेपछि आफैं बन्ध्याकरण गरेको उनको भनाइ छ । ‘पुरुषले बन्ध्याकरण गर्दर्नै भनेपछि जबरजस्ती गर्न सकिदैन थियो । अहिले गाउँगाउँमा यौन शिक्षा पुग्यो । हामी पनि जान्ने भयौं ।’ उनका अनुसार गाउँमा थुप्रै महिलाहरू यौन तथा प्रजननका बारेमा बोल्न सक्ने भएका छन् ।


‘महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य कार्यक्रम र महिला आफैं पनि प्रजनन स्वास्थ्य बुझ्न थालेका छन्,’ ढकारी कै संगिता साउँदले भनिन्, ‘यौन र प्रजनन्का बारेमा कुरा गर्दा पनि टाउको लुकाउने महिलाहरू बन्ध्याकरण पनि आफैं गर्छु भनेर स्वास्थ्य संस्थामा जानु नै ठुलो कुरा हो ।’


किशोरावस्थामा पुगेपछि हुने शारिरिक परिवर्तन, पहिलो पटक महिनावारी हुँदा र यौन शिक्षाबारे खुलेर कुरा गर्न नसक्ने किशोरीहरू समेत अहिले आफ्ना समस्या अभिभावक, स्वास्थ्यकर्मी र शिक्षकसँग राख्न सक्ने भएको हिच्माकी कालिका शाही बताउँछिन् । ‘महिनावारी भएको बेलामा आफूमा देखिने समस्या बारे कसैलाई भन्न पनि लाज लाग्ने गर्दथ्यो कसैले केही भन्ने हो की भन्ने डर लाग्थ्यो,’ कालिका भन्छि,् ‘यौन शिक्षाका बारेमा थाहा पाएपछि गाउँमा परिवार नियोजनका साधन बाड्ने, यौन र प्रजनन स्वास्थ्यका बारेमा बताउने गर्दछु ।’ कक्षामा शिक्षक शिक्षिकाले यौन तथा प्रजननका

बारेमा पढाउन लाजले तल टाउको गर्ने किशारीहरू अहिले पुरुषलाई अस्थायी साधन वितरण गर्ने, प्रयोगको तरिकासमेत बताउने गरेको कालिका बताउँछिन् ।


‘यौनका बारेमा धेरै मान्छे जानकार नहुँदा यौनसम्बन्धी रोग लुकाएर बस्ने बानी छ, त्यसैले हामीले यस सम्बन्धि जानकारी गराउँदा धेरै मान्छे खुलेर आफ्ना समस्या भन्ने भएका छन्’ अर्कि किशोरी स्मृति शाही भन्छिन् ‘असुरक्षित यौन सम्पर्कले विभिन्न रोग लाग्न सक्ने भएकाले सुरक्षित यौन सम्पर्कका लागि पुरुषले प्रयोग गर्ने अस्थायी साधन वितरण समेत गरेका छौ ।’ अछामका विभिन्न ग्रामीण भेकमा निजी क्लिनिकसँगको साझेदारीमा परिवार नियोजन, यौन तथा प्रजनन् स्वास्थ्य र शिक्षाकेै बारेमा जानकारी दिने अभियान थालेको गेरुवा ग्रामिण जागरण संघका प्रमुख दिलबहादुर शाहीले बताए । उनका अनुसार यौनका कुरा गर्ने डर र लाज मान्ने हिजोका किशोर/किशोरी अहिले यौन र प्रजनन स्वास्थ्यका बारेमा जानकारी गराउन विद्यालयमा अन्तरक्रिया कार्यक्रम, सडक नाटक र समुदायका युवासगं अन्तरक्रिया गर्ने गरेका छन् ।


शाही भन्छन् ‘समाजमा अहिले महिला तथा किशोरीहरूले परिवार नियोजनका साधनका बारेमा खुलेर बताउने गरेका छन् ।’ किशोर/किशोरीहरूले एचआईभी संक्रमण रोकथाम, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, परिवार नियोजनका साधन र यौन स्वास्थ्यबारे गाउँगाउँमा पुगेर चेतना जगाउने काम गरेको उनले बताए ।

प्रकाशित : मंसिर २, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?