खेत बगेपछि छुट्यो थातथलो

०६५ मा ठुलीगार्डमा आएको बाढीले खेत लगेपछि कैलाली मोन्याल मुलेपौवाका दलित बस्तीको उठिबास 
मोहन बुढाऐर

मोहन्याल, कैलाली — चुरेडाँडापारिको ठुलीगाडले खेत बगाएपछि कैलालीको मोहन्याल गाउँपालिका– ४ मुलेपौवामा रहेको दलितबस्तीको उठिबास भएको छ । खेतहरू बगरमा परिणत भएका छन् । मुलपौवाको पाखो जमिन बाँझो छ । 


०६५ मा स्थानीय ठुलीगाडमा आएको बाढीले मुलेपौंवाबासीको कमाई खाने टुप्पा र नवलपानीको खेत बगाएको थियो । ‘खेत नै नरहेपछि पाखो जमिनको उब्जनीले खान नपुग्ने भयो,’ स्थानीय खडकसिंह मिचलाले भने, ‘भोकमरीको सामना गर्न नसकेर २५ घर परिवारको उठिबास भयो ।’ उनका अनुसार यहाँबाट बसाइ सरेका परिवारको तराईमा पनि बेहाल छ ।

केहि परिवार रामसिखरझाला, पहलमानपुर, चौमालाको ऐलानी जग्गामा छाप्रो बनाएर बसेका छन् । केहि अन्य ठाउँमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । कुनै बेला यहाँका दलित परिवार नुन र खुर्सानीसँग चामल साट्थे ।

हिमालबाट तराई घाम ताप्न झर्ने भोटे समुदायलाई उनीहरूले नुनसँग चामल साटने गरेको स्थानीय हर्कबहादुर ताडीले सम्झिए । उनका अनुसार उनीहरूको टुप्पा र नवलपानीको एक रोपनी खेतमा ४ क्विन्टलसम्म धान फल्थ्यो । करिव ४०/४५ हेक्टर जग्गामा फलेका धान असोजमा आएको बाढीले हेर्दाहेर्दै बगाएको थियो ।

‘उनीहरूको पुर्खौली थलो मुलपौवाको पाखो जमिनमा पनि सुन्तला, मौसम, आलु र गेडागुडी राम्रो फल्थ्यो,’ ताडीले भने, ‘खान लगाउन पुगेकाले उनीहरूको जीवन सुखी देखिन्थ्यो । पशुपालनका लागि माथि लेक थियो । पानीको अभाव हुन्थेन ।’ उनले अनाज फलाउने खेत बाढीले नबगाएको भए, आज उनीहरूको उठिबास हुन्थेन भन्ने अनुमान ताडीको छ ।‘पाखो जमिन र खेत भएका परिवारको अहिले उठिबास भएको देख्दा पीडाबोध हुन्छ,’ स्थानीय अगुवा वीरेन्द्र बममे भने, ‘सरकारले उनीहरूको पुनःर्स्थापनाको ब्यवस्था गरेन । कुनै प्रकारको राहत पनिउपलब्ध गराएन ।’

बमका अनुसार देशैभरि ०६५ मा बाढी र पहिरोले ठुलो नोक्सानी भएको थियो । सबैठाउँमा भएको क्षतिको विवरण सरकारले संकलन गरेर कतिपयलाई राहत, क्षतिपुर्ति र पुनःस्थापना गरे पनि यहाँको दलित बस्ती बेखबर रहेको उनी बताउँछन् । ‘यहाँको दलित बस्तीप्रति स्थानीय राजनीतिक दलले राजनीतिक रुपमा अन्याय गरे,’ उनले भने, ‘कुनै पार्टीको भोट बैंकको रुपमा दलित भएन । त्यसैले उनीहरूको राहत सहयोगका लागि कुनै पार्टीले पहल गरेनन् ।’

निरन्तर कटान
पटरेनी चुरेको कठउर, सिम, पन्डौनलगायत बस्तीको खेत हो । करिव ३/४ सय हेक्टर कुलो लाग्ने खेत थियो । ‘आधाजति ०६५ को बाढीले बगायो । बचेको जग्गा त्यसपछिको निरन्तर कटानले क्षति भयो । ,’ शिक्षक चन्दले भने, ‘उब्जनी हुने औलको खेत बगेपछि यहाँका परिवारमा खाद्य संकट हुँदै आएको छ ।’ उनले बाढीले बर्षेनी पुर्‍याउने क्षतिमा सरकारको ध्यान नपुगेको बताए । चुरेको बस्तीलाई खाद्य संकटमूक्त बनाउन यहाँको खेतको संरक्षण गर्नुपर्ने उनले औल्याए । तटबन्धको योजना दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : मंसिर १, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालअधिकार

कान्तिपुर संवाददाता

गल्लीगल्ली डुली बित्छहाम्रो हरेक दिन,अरूजस्तै स्कुल जानपाएनौँ हामीले किन ?

दोष हाम्रो के थियो र
सडकमा पुर्‍याइदियौ ?
अलपत्र भो हाम्रो जीवन
किन यस्तो निर्णय लियौ ?

हामीलाई पनि इच्छा थियो
अरूजस्तै स्कुल जान,
रुचि थियो राम्रो लाउन
अनि मीठोमीठो खान ।

हामी पनि बन्न सक्थ्यौँ
देश निर्माणको आधार,
खै त कहाँ गयो आज
हाम्रो बालअधिकार ?

किस्मत वाग्ले, कक्षा–६
सैनिक आवासीय महाविद्यालय, पोखरा

प्रकाशित : मंसिर १, २०७६ ११:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×