कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाँत माझ्दैनन् विद्यार्थी

डोटी — टेक बलायर सिद्धेश्वर मावि बानेडुंग्रीसैनमा कक्षा ३ मा पढ्छन् । ९ वर्षका भइसके पनि अहिलेसम्म उनले दाँत माझेका छैनन् । उनकै सहपाठी दिनेश ताम्राकार र सुवास बलायर पनि दाँत माझ्ने गर्दैनन् । 

दाँत माझ्दैनन् विद्यार्थी

‘हामीलाई दाँत माझ्नु पर्छ भन्ने कुरा न घरमा सिकाइयो, न विद्यालयमा’, विद्यार्थी टेक बलायरले भने, ‘अहिलेसम्म ब्रस छोएको पनि छैन, किरा लागेर दाँत दुख्ने गरेपनि दाँत नमाझ्नाले हो भन्ने मलाई थाहै भएन ।’ दिनेश ताम्राकार भने दाँत पहेलो हुनु, मुख गन्हाउनु आफुहरूलाई सामान्य भएको बताउँछन् । ‘मेरोमात्र त्यस्तो कहाँ छ र ? अरु साथीको पनि यस्तै हो’, उनले निर्धक्कसँग भने, ‘दाँत माझ्ने चलन हाम्रातिर छँदै छैन ।’


यस्ता अनुभव र बुझाई सुदूरपश्चिमका सामुदायिक विद्यालयका विद्यार्थीका लागि सामान्य हुन् । अधिकांस बिद्यार्थीमा अझै दाँत माझ्ने बानीको विकास भएको छैन । शुक्रबार सिद्धेश्वर माविमा सञ्चालन गरिएको स्वास्थ्य परिक्षण शिविरमा अधिकांश विद्यार्थीको दाँत किराले खाएको भेटिएको थियो ।


‘सानै बच्चाका दाँत किराले खाएकाले उखेल्नु पर्ने भयो’, स्वास्थ्य परिक्षण शिबिरमा खटिएका जिल्ला स्वास्थ्यका सुपरभाइजर सुर्य बिष्टले भने, ‘शिविर सञ्चालनका क्रममा अझै पनि सामुदायिक बिद्यालयका अधिकांस विद्यार्थीले दाँत नै नमाझ्ने गरेको पाइएको छ ।’ विद्यालयका प्रधानाध्यापक महेश भट्टले पनि विद्यार्थीको दाँत स्वस्थ राख्न विद्यालयले खेल्नुपर्ने भुमिकाबारे ध्यान नदिएको स्विकारे ।


‘विद्यालयमा सञ्चालन गरिएको शिविरले हामीलाई गतिलो पाठ सिकाएको छ’, उनले भने, ‘अब अभिभावक र बिद्यार्थी लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछौं ।’ ढिलो उमेरसम्म दाँत माझ्ने बानीको बिकास नहुँदा बिकराल समस्या देखिने दाँत विशेषज्ञ डा. रमेश राम भण्डारी बताउँछन् । ‘बिद्यार्थीले मात्र होइन, तीनका अभिभावकमा पनि दाँत नमाझ्ने प्रवृति देखियो’, डा. भण्डारीले भने, ‘यदि वयस्क हुँदासम्म दाँत नमाझ्ने हो भने दाँत, गिजा, पेट र मुटुमा समस्या देखिन सक्छ ।


समयमै यसबारे डोटीमा ब्यापक जनचेतना जगाउन जरुरी छ ।’ उनले पहाडको पानीमा क्लोरिनको मात्रा राम्रो भएकाले दाँतमा अझै धेरै असर नपारेको अनुभव सुनाए । ‘पानी राम्रो भएकाले उनीहरूका दाँत बचेका छन् । नत्र सबैका खराब हुनुपर्ने हो’, डा. भण्डारीले सुनाए । गुलियो बढी खाने, खाना खाएर मुख सफा नगर्ने गर्दा फोहोर दाँत र गिजामा टाँसिन्छ । बिस्तारै दाँतमा किरा लाग्ने, मुख गन्हाउने र दाँत पहेलो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय डोटीले तीन सामुदायिक बिद्यालयका ८ सय ८३ विद्यार्थीको दाँत परिक्षण गर्दा ४ सय १ जनाको दाँतमा खराब देखा परेको थियो । ‘परिक्षण गरिएका मध्ये ४८ प्रतिशत विद्यार्थीको दाँत खराब देखियो’, डा. भण्डारीले भने ।


डोटीकै पूर्वीचौकी गाउँपालिकाको सरस्वती माबिमा १ सय ८० मध्ये १ सय १५, दिपायल सिलगढी नगरपालिकाको सुनादेवी माबिमा ३ सय ३२ मध्ये १ सय २५ र शिखर नगरपालिकाको ३ सय ७१ मध्ये १ सय ६१ विद्यार्थीको दाँत खराब देखिएको छ । दाँतमा किरा लागेको, गिजा पाकेको, जिव्रोको टुप्पाको रेसा पाकेको, मुख गन्हाउने जस्ता लक्षण उनीहरूमा देखिएको डा. भण्डारी बताउँछन् ।


गत वर्ष केआईसिंह गाउँपालिकाले सामुदायिकका बिद्यार्थीको स्वास्थ्य परिक्षण गर्दा ५१ प्रतिशतका दाँत खराब भेटिएका थिए । केआईसिंह गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले सानै उमेर देखि बालबालिकाको स्याहारसुसार र सरसफाइमा ध्यान नदिँदा पछि गएर धोका पाउने उनले बताए ।

प्रकाशित : मंसिर १, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?