मासिँदै जडीबुटी

‘अन्धाधुन्ध संकलन गरिँदा केही वर्ष अघिसम्म प्रशस्त पाइने जटामसी, वनलसुन, सतुवाजस्ता जडीबुटी लोप हुने अवस्थामा पुगे’
वसन्तप्रताप सिंह

(बझाङ) — देशका विभिन्न ठाउँबाट सयौंको संख्यामा आएका संकलकहरूले बझाङका विभिन्न जंगल क्षेत्रमा अवैध रूपमा जडीबुटी संकलन गरिरहेका छन् । उनीहरूले ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी ५ औंलेलगायत कुटकी र सेतकचीनी संकलन गरिरहे पनि नियन्त्रणका लागि कसैले पहल गरेका छैनन् ।

अन्धाधुन्द संकलन भइरहेका कारण मूल्यवान् जडीबुटी नै लोप हुने खतरा बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । ‘डेढ हजारभन्दा बढी संकलहरू जंगल पसेका छन् । जंगलमा भएको जडीबुटी खनेर सिध्याउँदै छन्,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘कि त तपाईंका कर्मचारी परिचाल नगर्नुस्, हामी सहयोग गर्छौं । होइन भने अधिकार दिनुस्, हामी नियन्त्रण गर्छौ भनेर वन र जिल्ला प्रशासन कार्यालय धाएकोधायैं छौ । तर कसैले चासो दिएका छैनन् ।’

उनले साइपाल गाउँपालिकाभित्र पर्ने विभिन्न वनहरूमा १ हजार ८ सयभन्दा बढीले अवैध रुपमा जडीबुटी संकलन गरिरहेको बताए । त्यसरी मनपरी ढंगले संकलन गर्दा जडीबुटी नै लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । साइपाल गाउँपालिकाको चाल्नावन, राइढुंगी, माझा, फरालखेत, स्याङ्ग वन, औलागाड, दोतले, चिड्का, र सुर्मा गाउँपालिकाको जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, पार्थीलगायत क्षेत्रमा सयौंको संखयामा पुगेका मानिसले जडीबुटी संकलन गरिरहेका छन् । यस्तै बुंगल नगरपालिकाको बगर, खानीबगर, बमौर, लाउने, गोइचनमा पनि जडीबुटी संकलन भइरहेको छ । जिल्लाको दुर्गाथली, छविस पाथिभेरा, खप्तड छान्ना थलारा गाउँपालिका विभिन्न वनमा पनि स्थानीय र बाहिरी जिल्लाबाट आएका संकलकहरूले पाल टाँगेर, डेरै जमाएर जडीबुटी उत्खनन गरिरहेको स्थानीयले बताएका छन् ।

जडीबुटी संकलन गर्न रुकुम, रोल्पा, सल्यान, प्युठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेत, डोल्पा, दार्चुला, बाजुरालगायतका जिल्लाबाट आएका मानिसहरू बझाङका लेकाली भेकमा अस्थायी क्याम्प नै खडा गरी जडीबुटी संकलन गरिरहेको स्थानीय जडीबुटी व्यापारी पासाङ लामाले बताए ।

बझाङका प्राय: सबै वन क्षेत्रमा संकलन भइरहेको पाँचऔंले, कटुकी र सेतकचीनी संकलन गर्न लगाउने मुख्य व्यापारी जुम्लाका जंगवीर बोहरा र हुम्लाका टेकबहादुर तामाङ रहेको बुझिएको छ । यस्तै जाजरकोटको कुशे गाउँपालिकाका प्रेमबहादुर शाही, जुम्लाका कृष्णबहादुर राउत, भीमबहादुर राउत र बझाङको साइपाल गाउँपालिकाका ढाक्पा लामाले विभिन्न जिल्लाबाट आएका संकलकहरूलाई पेस्की रकम दिएर जडीबुटी संकलन गर्न लगाएको साइपाल गाउँपालिका २ का अध्यक्ष हरिलाल बोहराले बताए । ‘मुख्य व्यापारीहरूले ढाक्पालाई समातेका छन्,’ उनले भने, ‘बाहिर जिल्लाबाट आएकालाई आफै पेस्की दिएर ल्याएको र स्थानीयलाई ढाक्पामार्फत पेसकी वितरण गरी जडीबुटी खन्न लगाएको बुझिन आएको छ ।’ उनले अवैध जडीबुटी संकलन भइरहेको जानकारी पाएर गाउँपालिकाको टोलीलाई अनुगमनमा पठाउँदा जडीबुटी लुकाउने गरेको बताए । ‘हामीले टोली पठाउँदा संकलन गरेको सबै जडीबुटी लुकाए । सामान फेला परेन, मान्छे मात्र भेटिए । हजारौंको संख्यामा रहेका मानिसहरूलाई हामीले केहि गर्न सकेनौं,’ उनले भने ।

हिमाली क्षेत्रमा भदौ अन्तिम सातादेखि नै वन क्षेत्रमै डेरा गरेर बसेका संकलकहरूले डिभिजन वन कार्यालय र सामुदायिक वनको अनुमतिबेगर जडीबुटी संकलन गरिरहेका छन् । उनीहरूले ठूलो परिमाणमा जडीबुटी संकलन गरिसकेको र अझै संकलन गर्ने क्रममा रहेको दैनिक १ हजार ५ सय ज्याला दिने सर्तमा जडीबुटी संकलन गर्न गएका जयपृथ्वी नगरपालिकाका रामसिंहले बताए ।

‘एक जनाले एकै दिनमा ५० किलोसम्म कटुकी, २ किलोसम्म पाँचऔले र ५ क्विन्टलसम्म काँचो खिरौंला (सेतकचिनी) संकलन गर्न सक्छ,’ उनले भने, ‘एउटा वनमा १ सयदेखि ७/८ सयसम्म संकलक छन् ।’ उनले साइपाल क्षेत्रमा मात्र ८ सय क्विन्टलभन्दा बढी कटुकी, ५ क्विन्टलको हाराहारिमा पाँचऔंले र ५० हजार क्विन्टलभन्दा बढी सेतकचीनी संकलन भइसकेको बताए । साइपाल गाउँपालिकाको विभिन्न जंगलबाट संकलन गरेको जडीबुटी दोतले, इंगलद्वार, औलागाड, खहरे आदि भण्डारण गरिएको बताए । यस्तै बुंगल नगरपालिका र सुर्मा गाउँपालिकाका लेकाली क्षेत्रमा पनि ३ सय क्विन्टलभन्दा बढि कटुकी, २ क्विन्टलको हाराहारिमा पाँचऔले र ३० हजार क्विन्टलभन्दा बढि सेतकचीनी संकलन भएको स्थानीय लखन बोहराले बताए ।

जडीबुटी व्यापारीहरूले विभिन्न जिल्लाबाट संकलक कामदारहरू ल्याएर पाटनमा काँचो कटुकीको प्रतिकिलो ४ सय ५०, पाँचऔलेको प्रतिकिलो १२ हजार र सेतकचीनीको प्रतिकिलो ५० रुपैया दिने गरेको संकलनकर्ताहरू बताउँछन् । यस्तै सुकाएको कटुकी प्रतिकिलो १ हजार ४ सय, पाँचऔले १८ हजार र सुकाएर पकाएको सेतकचीनी प्रतिकिलो २ सय रुपैयाँ दिने गरेको हुम्लाकी संकलक काली फँडेराले बताइन् । कतिपय व्यापारीले दैनिक ज्याला दिएर पनि जडीबुटी संकलन गर्न लगाइरहेको उनको भनाई छ ।

वन नियमावली २०५१ मा सेतकचीनी र कटुकी कात्तिक र मंसिरमा मात्र संकलन गर्न पाउने प्रावधान छ । तर यहाँ भदौको अन्तिमदेखि नै संकलन सुरु भइसकेको स्थानीय बताउँछन् । यस्तै लोपोन्मुख जडीबुटी पाँचऔले संकलनमा सरकारले प्रतिबन्ध लगाएको छ । पाँच औलेलाई साइटिस र आइयुसिएनले दुर्लभ लोपोन्मुख तथा खतराउन्मुख जडीबुटीको सूचीमा राखेको छ ।

वन कार्यालय भन्छ, ‘जडीबुटी संकलन बन्द छ’
जिल्लाभर हजारौंको संख्यामा संकलकहरूले अन्धाधुन्द जडीबुटी संकलन गरिरहे पनि डिभिजन वन कार्यालयले भने जडीबुटी संकलन पूर्ण रुपमा बन्द रहेको बताएको छ । कुन जडीबुटी कति परिमाणमा संकलन गर्ने भनेर तयार गरिएको पञ्चवर्षीय वन व्यवस्थापन योजना २०७१ को म्याद गत आवमै सकिएको छ । त्यही कारण यहाँ कुनै पनि जडीबुटी संकलन गर्न नमिल्ने निमित्त डिभिजन प्रमुख कर्णबहादुर खातीले बताए ।

जिल्लाभरि पाइने वनस्रोतको वैज्ञानिक सर्वेक्षण (इन्भेन्ट्री) गरी कुन वन पैदावरको कुल मौज्दात कति छ र त्यसको वार्षिक वृद्धिदर कति छ ? भन्ने निर्क्योल गरिसकेपछि संकलन गर्न मिल्ने परिमाण निकालिन्छ । यसरी बनाइको पञ्चवर्षीय योजना वन विभागले स्विकृत गरिसकेपछि लागू हुन्छ । पुरानो पञ्चवर्षीय योजनाको म्याद समाप्त भइसकेको र नयाँ योजना निर्माणको प्रक्रियामा रहेकोले यस अवधिमा जडीबुटी संकलनको इजाजत दिन नमिल्ने भएकोले कसैलाई संकलन अनुमति नदिएको उनले बताए ।

कानुनी रुपमा संकलनमा बन्देज भए पनि ठूलो संख्यामा बाहिर जिल्लाबाट आएका संकलकहरूले जडीबुटी संकलन गरिरहेको डिभिजन वन कार्यालयलाई जानकारी आएपछि असोजतिर साइपाल गाउँपालिकाको क्षेत्रमा कर्मचारी पठाएर रोक्न लगाएको खातीको भनाइ छ । ‘ठूलो संख्यामा संकलकहरू गएका छन् भन्ने थाहा पाएर हामीले कर्मचारी खटायौं,’ उनले भने, ‘हाम्रा कर्मचारी त्यहाँ पुग्दासम्म उनीहरू भागिसकेछन् ।’ उनले अहिले पनि संकलन भइरहेको छ भन्ने विषयमा आफूलाई जानकारी नभएको र यस विषयमा बुझ्न र तत्काल रोक्न सब–डिभिजन कार्यालयलाई पत्र लेख्ने बताए । वनको टोली गएपछि संकलकहरूको भागाभाग भएपनि सयौंको संख्यामा रहेका संकलकहरूलाई पक्राउ गर्न नसकिएको अनुगमन टोलीमा सहभागी डिभिजन कार्यालयका वन रक्षकले बताए ।

तिब्बत र हुम्लातर्फ निकासी
व्यापारीहरूले साइपाल गाउँपालिकाको उरै भञ्ज्याङ नाका हुँदै धेरैजसो जडीबुटी तिब्बततर्फ ओसारिसकेको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।

उनले केहि जडीबुटी राइढंगी नाका हुँदै हुम्लाको रानीसहिनाबाट सिमिकोट पुर्‍याएको बताए । उनले भेडा च्याङग्रा, खच्चर, चौंरी र भरियाद्वारा बोकाएर ठुलो परिमाणमा जडीबुटी तिब्बत र हुम्लातर्फ पठाएको आफुले जानकारी पाए पनि कति परिमाण हो भन्ने थाहा नपाएको बताए ।

अहिले पनि पाटन क्षेत्रमा जडीबुटी संकलन भइरहेको छ । व्यापारीहरूले यसअघिसम्म संकलन भएको जडीबुटी सदरमुकाम चैनपुरतर्फ ओसार्न थालेको साइपालगाउँपालिका १ का वडाध्यक्ष गोपाल बोहोराले बताए । जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले प्रहरीलाई यस विषयमा कसैले पनि जानकारी नगराएको बताए । उनले भने, ‘अवैध जडीबुटी संकलन र भण्डारण भइरहेको बारे हामीलाई कसैले जानकारी गराएको छैन । डिभिजन वन कार्यालयले पनि केहि खबर गरेको छैन ।’ उनले यस विषयमा प्रहरीले अनुसन्धान गर्ने बताए ।

प्रकाशित : कार्तिक २८, २०७६ १०:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अस्पतालमा छैन पूर्वाधार

चाँदनी कठायत

(वीरेन्द्रनगर) — लेकबेंसी नगरपालिका १ का ५ वर्षीय सर्जक केसीलाई दुई वर्षअघि सर्पले टोकेपछि तत्काल अस्पताल पुर्‍याउन नसक्दा उनको मृत्यु भयो । लेकबेंसीबाट मेहेलकुना अस्पताल नजिक पर्ने भए पनि समयमै एम्बुलेन्स नपाउँदा उनको मृत्यु भएको हो । केही महिनाअघि भेरीगंगा ९ की चन्द्रकला सुनारलाई सुत्केरी व्यथाले च्यापेपछि शल्यक्रिया गरी बच्चा निकाल्नुपर्ने भयो । तर घरनजिक रहेको मेहेलकुना अस्पतालमा शल्यक्रिया कक्षमा चिकित्सक थिएनन् ।

‘जहरेबाट मेहेलकुना अस्पताल पुर्‍याउने एम्बुलेन्स नै पाइएन,’ सर्जनकी आमा पवित्राले भनिन्, ‘अहिलेसम्म पनि अस्पतालको आफ्नै एम्बुलेन्स छैन ।’ सुनारलाई पनि प्रसव पीडामै उनलाई प्रदेश अस्पताल वीरेन्द्रनगर पुर्‍याइयो । ‘धेरैजसो चेकजाँच यहीँ हुन्छ, तर केही सेवा भए पनि डाक्टर छैनन्,’ स्थानीय जगदीश कार्कीले भने, ‘कर्णाली प्रदेश सरकारले आफू मातहत ल्याए पनि सेवामा परिवर्तन आएको छैन ।’ १५ शय्याबाट सेवा दिइरहेको अस्पताललाई विस्तार गरेर हाल ५० शय्यामा पुर्‍याए पनि जनशक्ति अभावका कारण बिरामीले भनेजस्तो सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रमुखका लागि १०औं तहको मेडिकल अधिकृत आवश्यक पर्ने भए पनि आठौं तहका डेन्टल सर्जन मनीषकुमार मिश्रले निमित्त जिम्मेवारी सम्हालिरहेका छन् । ५३ जनाको दरबन्दी रहेको अस्पतालमा झन्डै आधा जनशक्ति अभाव छ । अस्पतालले बिरामीको चाप मध्यनजर गर्दै करारमा कर्मचारी राखेर सेवा दिइरहेको डा. मिश्रले जनाए ।

‘मेरो पनि प्रदेश २ मा समायोजन भइसकेको छ,’ उनले भने, ‘तर पनि अहिलेसम्म यहाँ काम गरिरहेको छु ।’ जनशक्ति अभावसँगै अन्य पूर्वाधार अभाव छ । गत आवमा प्रदेश सरकारले एम्बुलेन्स खरिदका लागि बजेट विनियोजन भए पनि फ्रिज भएको डा. मिश्रले जनाए । उनका अनुसार अस्पतालमा विशेषज्ञ डाक्टर र जनरल फिजिसियन १/१ र मेडिकल अधिकृत ४ जनाको आवश्यक छ । २ ल्याब टेक्निसियन, २ रेडियोग्राफर, ३ अनमी, ४/४ एचए र अहेब तथा प्रशासनमा एक नासु आवश्यक छ । त्यस्तै प्यारामेडिसिन र प्रसूति कक्षमा पनि कम्तिमा ३/३ स्वास्थ्यकर्मीको अभाव छ । ‘भएका स्वास्थ्यकर्मीहरूको पनि समायोजन अन्तै भइसकेको छ,’ उनले भने, ‘समायोजनपछि पदस्थापनमा ढिलाइ हुँदा हस्पिटलमा समायोजन भएका पनि आएका छैनन् ।’ उनले अभावबीच पनि अस्पतालबाट उत्कृष्ट सेवा दिने प्रयास भइरहेको उनको भनाइ छ । अस्पताल विकास समितिबाट केही समयका लागि करारमा कर्मचारी थप गरिए पनि बिरामी अनुकूल सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयले भने कर्मचारी पठाइरहेको जनाएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले स्थानीय तहलाई कर्मचारी व्यवस्थापनको जिम्मा दिइएको बताए । तर मेहेलकुना अस्पताल भने आफूहरूको अधिकार क्षेत्रभित्र नपर्ने गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुन बताउँछन् ।

प्रकाशित : कार्तिक २८, २०७६ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×